भक्तपुर—वायु प्रदूषणलाई मध्यनजर गर्दै क्लिनिक वानको प्राङ्गणमा संचालित स्वास्थ्य शिविरमा भक्तपुरका ४३ जना ट्राफिक प्रहरीहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । शनिबार भक्तपुरमा कार्यरत ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेलले जानकारी दिए ।
वरिष्ठ पुल्मनोलोजिस्ट डा. राजेशकिशोर यादव, कान, नाक तथा घाँटी रोग विशेषज्ञ डा. रुपक खड्का र आँखा रोग विशेषज्ञ डा. टिना श्रेष्ठ तथा क्लिनिक वान भक्तपुरका कर्मचारीहरुद्वारा ट्राफिकहरुको रक्तचाप, मधुमेह, आँखा, कान, नाक, घाँटी तथा छातीको परिक्षण गरिएको हो । त्यस्तै, ट्राफिक प्रहरीको फोक्सोको क्षमताको पनि परिक्षण गरिएको थियो ।
स्वास्थ्य शिविरमा सहभागी भएका धेरै ट्राफिक प्रहरीहरुमा श्वासप्रश्वासको समस्या देखिएको छ । त्यस्तै, ट्राफिक प्रहरीहरुमा आँखाको समस्या देखिएको छ ।
‘सडकमा बढ्दो सवारी तथा वायु प्रदुषणका कारण ट्राफिक प्रहरीहरुको स्वास्थ्य जोखिममा छ । हामीले ट्राफिक प्रहरीहरुलाई ड्युटीमा हुँदा माक्स अनिवार्य रुपमा लगाउन सल्लाह दिएका छौं,’ डा.रुपक खड्काले भने ।
लायन्स क्लब भक्तपुर दरबार स्क्वायर, क्लिनिक वान भक्तपुर, धनञ्जय बचत तथा ऋण सहकारी संस्था लि. तथा उज्यालो बचत तथा ऋण सहकारी संस्था लि.द्वारा संयुक्त रुपमा स्वास्थ्य शिविर संचालन गरिएको हो । आगामी दिनहरुमा पनि यस्तै विभिन्न संस्थाहरुसगँको साझेदारीमा यस्तै कार्यक्रम गर्ने प्रतिवद्धता क्लिनिक वानका प्रबन्ध निर्देशक पौडेल जानकारी दिए ।