२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्ट१०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल

१०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल


काठमाडौं—गैरआवासीय नेपाली डा. उपेन्द्र महतोको नेपाल मेडिसिटी अस्पतालले वीरगन्जस्थित १ सय शैय्याको ‘नारायणी बयोधा अस्पताल’को स्वामित्व पूर्ण रुपमा किनेको छ । नेपाल मेडिसिटीले नारायणी बयोधाको स्वामित्व पूर्ण रुपमा लिएसँगै ‘मेडिसिटी बयोधा’ अस्पतालका रुपमा सञ्चालनमा आइसकेको छ ।

मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले वीगरगन्जमै प्रमुख अस्पतालमध्येमा पर्ने नारायणी बयोधाको १०० प्रतिशत स्वामित्व नै नेपाल मेडिसिटी अस्पतालले टेकओभर गरेको जानकारी दिए । ‘हामीले एक महिनाअघिबाट अस्पतालको सतप्रतिशत स्वामित्व नै टेकओभर ग¥यौं,’ उनले भने, ‘अहिले यसलाई ‘मेडिसिटी बयोधा’का नाममा ब्राण्डिङ गर्दैछौं ।’ उनले केही कानुनी प्रक्रिया मात्रै बाँकी रहेको बताए ।

यसअघि भारतीय नागरिक डा. रन्जितसहितको भारतीय समूहले नारायणी बयोधा अस्पताल सञ्चालन गरिरहेको थियो । २ विगाहा जमिनसहितको आफ्नै पूर्वाधार रहेको अस्पतालको स्वामित्व पूर्ण रुपमा लिएसँगै नेपाल मेडिसिटी अस्पतालले थप सेवाहरु विस्तार गर्ने तयारी पनि थालेको छ ।

स्रोतकाअनुसार डा. महतोले झण्डै १०० करोडमा नारायणी बयोधा किनेका हुन् । ‘बयोधा नारायणी अस्पताल झण्डै १ सय करोडमा किनेबेच भएको छ,’ अस्पताल निकट स्रोतले भन्यो । तर, मेडिसिटी बयोधा अस्पतालका प्रमुख रिमालले भने लगानीका विषयमा केही बताउन चाहेनन् ।

सुपर स्पेसियालिटी हस्पिटलका रुपमा सञ्चालित बयोधा नारायणीमा यसअघि न्यूरो सर्जरी, अर्थोपेडिक ट्रमा, इमर्जेन्सी एण्ड क्रिटिकल केयर, गाइनोकोलोजी, पेडियाट्रिक, जनरल एण्ड ल्याप्रोस्कोपीइन्टरनल मेडिसिन, गाइनोकोलोजी, अर्थोप्लास्टीलगायतका सेवाहरु सञ्चालनमा थिए । ‘अब मेडिसिटी बयोधा मल्टीसुपरस्पेसियालिटी हस्पिटल नै हुन्छ । ट्रमाका कप्लेक्स केसहरुको उपचार पनि हामी यही गर्छौ,’ रिमालले भने, ‘मुटु रोगको सम्पूर्ण उपचार गर्ने गरी क्याथ ल्याबसहित इन्टरभेन्सन सेवाहरु दिने तयारी गरिरहेका छौं ।’ उनले नेफ्रोलोजी, युरोलोजी, ग्यास्ट्रोलोजीलगायत मेडिकल साइन्सका सम्पूर्ण सेवाहरु वीरगन्जमै उपलब्ध गराउने बताए ।

मेडिसिटी बयोधा अस्पतालले १०० शैय्याको स्वीकृत पाएको भएपनि १ सय ५० शैय्या सञ्चालनको क्षमता रहेको उनको भनाइ थियो । अस्पतालमा हाल १०० भन्दा बढी कर्मचारी कार्यरत छन् ।

नेपाल मेडिसिटीको माउ संस्था भने प्रस्तावित आश्विनी मेडिकल कलेज हो । पछिल्ला वर्षहरुमा स्वास्थ्य सेवामा आक्रामक लगानी बढाइरहेका डा. महतोको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा २५ प्रतिशत शेयर छ । यसबाहेक उनको लगानी चाबहिलस्थित नेपाल मेडिकेयर अस्पतालमा पनि छ । डा. महतोले नारायणी बयोधा अस्पताल लिएसँगै उनी नेपालका सबैभन्दा ठूला स्वास्थ्य व्यवसायी दरिन पुगेका छन् ।


क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #आश्विनी मेडिकल कलेज, #डा. उपेन्द्र महतो, #नारायणी बयोधा अस्पताल, #नेपाल मेडिसिटी, #मेडिसिटी बयोधा, #विजय रिमाल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ