२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्ट६ गोल्डमेडल पाउने डा. आशिर्वाद, जो नर्सरीदेखि एमबीबीएससम्म सधैं प्रथम भए

६ गोल्डमेडल पाउने डा. आशिर्वाद, जो नर्सरीदेखि एमबीबीएससम्म सधैं प्रथम भए

लोकसेवामा पनि पहिलो नम्बरमै नाम निकाले


त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) एमबीबीएसको वि.सं. २०७६ को ब्याच । त्यही ब्याचमा सर्वोत्कृष्ट नम्बर ल्याएर टप गर्न सफल भए—डा. आशिर्वाद आचार्य । उनले ३३०० पूर्णांकमा २५८३ अंकसहित एमबीबीएस मात्रै टप गरेनन्, अन्य विषयमा पनि सर्वोत्कृष्ट भएर थप ५ वटा गोल्डमेडल पाए । १२०० अंकको फाइनल इयरमात्रै उनले ९२८ अंक ल्याएका छन् । एमबीबीएस टपसहित ६ वटा गोल्डमेडल भिर्ने उनी नर्सरीदेखि एमबीबीएसम्म सधैं फष्ट भएका छन् ।

स्कुलदेखि एमबीबीएसम्म कहिल्यै दोस्रो नभएका डा. आशिर्वादले गाह्रो मानिने लोकसेवाको परीक्षा पनि पहिलो प्रयासमै पहिलो नम्बरमा नाम निकाले । अहिले उनी नेपाल सरकारको आठौ तहको मेडिकल अधिकृतका रुपमा सुन्दरबजार अस्पताल लमजुङमा बिरामी सेवामा तल्लीन छन् । सानैदेखि फष्ट हुने बानी परेका डा. आशिर्वादलाई एमबीबीएस पढ्दा पनि मनमा टप गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । ‘पढ्दा भने टप गर्नेभन्दा पनि केही सिक्ने उद्देश्यका साथ पढिरहेको हुन्थे,’ हालैको एक साँझ हेल्थआवाजसँग उनले भने ।

सफलताको सेक्रेट कसैसँग नहुने बताउने डा. आशिर्वादका लागि एमबीबीएस टप गर्न कसरी सम्भव भयो ? ‘पढेका कुरा पछि बिरामीमा अप्लाई गर्नु सकू भन्ने दिमागमा राखेर नै पढेको हुँ । परीक्षाको एकदिन अगाडि पढेर गोल्डमेडल आउँदैन्,’ उनी भन्छन्, ‘दिनदिनैको मेहनत आवश्यक पर्छ । एकदिन १० घण्टा पढ्नुभन्दा दिनदिनैको पढाइले नै म टप गर्न सकेको हुँ जस्तो लाग्छ ।’

एमबीबीएस पढ्दा डा. आशिर्वादले कहिल्यै गाइड, गेसपेपर फ्लो गरेनन् । बरु, विदेशी लेखकहरुका ठूला—ठूला किताब दिनदिनै सकेजति पढ्थे । ‘हरेक विषयलाई सुक्ष्म तरिकाले भित्रैबाट अध्ययन गर्दै जानुपर्छ । दिनदिनै मेहनत गर्दै जानुपर्छ,’ उनी सुनाउँछन्, ‘म दिनको २—४ घण्टा पढ्थे । सधैं अलिअलि गर्दै पढेर आफ्नो कन्सेप्ट डेभलप गर्न सकियो भने टप गर्न सकिन्छजस्तो लाग्छ ।’

नर्सरीदेखि एमबीबीएससम्म सधैं फष्ट भएका डा. आशिर्वाद १२ जेठ २०५३ मा काठमाडौंमा जन्मिएका हुन् । उनको पुख्र्यौली घर भने पाल्पा हो । बुवा कमलमणि आचार्य र आमा चम्पा आचार्यका तीन भाइमध्ये उनी कान्छा हुन् । उनका बुवा सरकारी जागिरे हुन् । सरकारी जागिरे बुवा भएकाले उनले सन्तानको शिक्षादीक्षामा विशेष ध्यान पु¥याएका थिए ।

पेप्सीकोलामा बस्दैं आएका डा. आशिर्वादको प्रारम्भिक शिक्षा पुष्प बाटिका स्कुलबाट अगाडि बढेको हो । भनिन्छ, हुने विरुवाको चिल्लो पात । सानैदेखि पढाइमा अब्बल उनी स्कुलमा सधैं फष्ट हुन्थे । ‘म नर्सरीमा फष्ट भएपछि गाडी पुरस्कार पाएको थिए । फष्ट हुँदा पुरस्कार पाइने भएपछि मलाई सधैं फष्ट हुन मन लाग्न थाल्यो,’ उनले भने, ‘सधैं फष्ट हुन थालेपछि हरेक वर्ष पुरस्कार पाउँथे । नर्सरीमा पुरस्कार पाएको गाडी अहिले पनि मैले सुरक्षित राखेको छु ।’ उनलाई फष्ट हुँदा पाइने पुरस्कारहरुले पढाइप्रतिको अनुराग बढाउँदैं गयो ।

पिताको पढाइप्रतिको निरन्तरको मोटिभेसनले पनि डा. आशिर्वाद मात्रै होइन् । उनका दुई दाजुहरु पनि पढाइमा अब्बल भए । ‘दाइ पनि फष्ट हुने, म पनि फष्ट हुने । सबै फष्ट भएर स्कुलमा पैसा नै तिर्नुपर्दैन्थ्यो,’ डा. आशिर्वाद सम्झन्छन् । ४ कक्षासम्मको अध्ययन पुष्प बाटिकाबाट पूरा गरेपछि उनी थप शिक्षाका लागि मीनभवनस्थित भिएस निकेतन आए । उनलाई स्कुल जीवनमा गणित र विज्ञान विषय बढी मन पथ्र्यो । क्रिकेट पनि उनलाई निकै मन पर्ने खेल थियो ।

मीनभवनस्थित भीएस निकेतनबाट उनले वि.सं. २०६८ सालमा ९१.५ प्रतिशत ल्याएर एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनी थप उच्च शिक्षाका लागि माइतीघरस्थित सेन्ट जेभियर्स कलेज गए । के पढ्ने भन्ने कन्फ्युजन उनमा पनि थियो । त्यही कारण बायोलोजी पढेपछि जता पनि जान सकिने भएकाले उनले त्यही रोजे ।

उनका कान्छा दाजु भने सानैदेखि डाक्टर बन्छु भनेर डाक्टर नै बने । तर, आशिर्वादलाई यही नै बन्छु भन्ने थिएन । कक्षा १२ मा पढ्दा उनको रुचि एस्ट्रोनोमी, फिजिक्सतिर पनि थियो । कारण नै मान्नुपर्छ, उनले नेपालको पहिलो एस्ट्रोनोमी ओलम्पियाडमा जिते । यतिमात्र होइन्, नेपालको विज्ञान तथा गणित ओलम्पियाडका पनि उनी विजेता हुन् । वि.सं. २०७० सालमा सेन्ट जेभियर्सबाट उनले प्लस टु उत्तीर्ण गरे ।

त्यसपछि दोधारकाबीच उनले एमबीबीएसको इन्ट्रान्स दिए । शिक्षा मन्त्रालयको सरकारी छात्रवृत्तिमा नाम निस्किएपछि उनी डाक्टरी पढ्नका लागि ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा गए । किष्टबाट उनले वि.सं. २०७६ सालमा एमबीबीएस उत्तीर्ण गरेका हुन् । एमबीबीएस टप गरेर गोल्डमेडलिष्ट बनेका डा. आशिर्वादले त्यसबाहेक अन्य ५ वटा गोल्डमेडल पनि जितेका छन् । दिमागमा पढेको कुरा समराइज गर्ने उनको शैली छ । ‘म एक पेज पढे भने त्यसको महत्वपूर्ण तीन—चार लाइन कष्ठ गर्थे,’ उनले भने, ‘म आफूले पढेको कुरा अरुलाई पढाएर वा बुझाएर पनि याद गर्न कोशिश गर्छु ।’

यी टपर डाक्टर भविष्यमा रेडियोलोजी वा प्याथालोजीमा विशोषज्ञता हासिल गर्न चाहन्छन् । ‘मेडिसिनलाई रोग पत्ता लगाउन र सर्जनलाई भित्र के भएको छ भनेर थाहा पाउन रेडियोलोजिष्ट चाहिन्छ । एमआरआई, युएसजी गरेर यो रोग हो भन्दिनु हुन्छ,’ उनी कारण खोल्छन्, ‘अझ प्याथालोजिष्टले त स्याम्पल निकालेर यो रोग कति खतरानाक हो भन्ने पत्ता लगाउन सक्नुहुन्छ । मुख्य डाइग्नोसिस दिने यी दुई ब्रान्च हुन् ।’ त्यही कारण उनलाई यी दुई ब्रान्चमा स्पेसलाइज्ड गर्ने चाहना छ ।

छात्रवृत्तिमा एमबीबीएस गरेकाले उनले ६ महिना काभ्रेको मेथिकोटमा बिरामीको सेवा गरे । त्यसपछि गण्डकी प्रदेशको लोकसेवाको परीक्षा भयो । त्यसमा उनले पहिलो प्रयासमै पहिलो नम्बरमै मेडिकल अधिकृतमा नाम निकाले । अहिले डा. आशिर्वाद नेपाल सरकारको मेडिकल अधिकृतका रुपमा सुन्दरबजार अस्पताल लमजुङमा बिरामीको सेवामा तल्लीन छन् । डा. आशिर्वाद को सफलताको प्रमुख कारण बुवाआमाले घरमा पढ्नका लागि बनाइदिएको उत्कृष्ट वातावरण, दाजुहरुको सहयोग, निरन्तर पढाइ हो ।




क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #चिकित्साशास्त्र अध्ययन संस्थान, #टपर, #डा. आर्शिवाद आचार्य, #त्रिभुवन विश्वविद्यालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ