२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टसित्तैमा सिटामोल बाँडेका अबुलले कोभिड महामारीमा १५८% नाफा खाएर रेम्डेसिभीर बेचेको खुलासा

सित्तैमा सिटामोल बाँडेका अबुलले कोभिड महामारीमा १५८% नाफा खाएर रेम्डेसिभीर बेचेको खुलासा

७ करोड ८७ लाखको रेम्डेसिभिर खरिद गरेर १९ करोड ६० लाखमा बिक्री


काठमाडौं—अबुल हुसैन अन्सारी पेशाले औषधी आयातकर्ता हुन् । सुनसरीका उनी मुलुकमा सिटामोलको हाहाकार हुँदा औषधी व्यवस्था विभागका अगाडि बसेर निःशुल्क सिटामोल बाँडेर चर्चामा आएका थिए । वि.सं. २०६४ सालमा सिटामोलको मुल्य १ रुपैयाँ तोकिएपछि नेपाली औषधी उधोगीहरु सिटामोलको मुल्यअनुसार उत्पादन गर्न नसक्ने भनिरहेका बेला अबुल भने बंगलादेशबाट सिटामोल ल्याएर ७५ पैसामा आफू दिन सक्ने दावी गरिरहेका थिए ।

अबुल हुसैन आयान हेल्थकेयर प्रा.लि.मार्फत बंगलादेशबाट औषधी कारोबार गरिरहेका छन् । नेपाली कांग्रेस निकट अबुल पार्टीको राजनीतिमा पनि सक्रिय छन् । उनको सामाजिक सन्जाल फेसबुकमा राखिएका तस्विरहरुले नेपाली कांग्रेस र अन्य पार्टीका प्रभावशाली नेताहरुसँग बाक्लो हिमचिम देखिन्छ । त्यही निकटताकै आधारमा उनी शक्ति, सत्ता र पहुँचलाई कसरी दुरुपयोग गर्छन् भन्ने कुरा उनले कोभिड—१९ महामारीका बेला बंगलादेशबाट निकै सस्तो मुल्यमा रेम्डेसिभिर ल्याएर नेपालीको ढाड सेक्ने मुल्यमा बेचेर कुस्त पैसा कमाएको खुलासा भएको छ । दशकदेखि औषधी आयातमा संलग्न उनी आफूलाई कांग्रेसका युवा नेता तथा युवा व्यवसायीका रुपमा चिनाउँछन् ।

एकातिर गरिब र निमुखामैत्री रुप देखाउँदैं सडकमा सिटामोल बाँडेको नाटक मञ्चन गर्ने र अर्कोतिर एक भायल रेम्डेसिभिरबाट ३ हजार बढी नाफा चाजोपाजो मिलाउन सक्ने उनको खुबीलाई मान्नैपर्छ । अझ रोचक त के भने कांग्रेसका कट्टर कार्यकर्ता रहेका उनले नेकपा नेतृत्वको केपी ओली सरकारलाई समेत रिझाएर अकुत नाफा कमाउन सफल भएका थिए ।

कोभिड—१९ का बेला आम नागरिक अस्पतालमा मृत्युसँग लडिरहेका बेला अन्तिम विकल्पका रुपमा रेम्डेसिभिरलाई प्रचार गरिएको थियो । भलै, पछि अध्ययनहरुले रेम्डेसिभिर कोभिड—१९ महामारीमा खासै प्रभावकारी नभएको देखाएका छन् । मृत्युलाई जित्न मान्छे अन्तिम विकल्पका रुपमा जे गर्न पनि तयार हुन्छन् । कोभिड—१९ विरुद्ध पनि त्यही अन्तिम विकल्पका रुपमा लिइएको रेम्डेसिभिर बंगलादेशबाट ल्याएर नेपाल बेच्ने ठूलो सप्लायर्स अबुलकै कम्पनी आयान हेल्थकेयर प्रा.लि. थियो ।

अबुल हुसैनले त्यस्तो महामारीमा पनि आफ्नो व्यापारिक फाइदा नै प्राथमितामा राखेर काम गरे । उनको आयान हेल्थकेयरले ७० हजार भायल रेम्डेसिभिर ल्याउन विभिन्न मितिमा औषधी व्यवस्था विभागमार्फत अनुमति पाएको थियो । त्यसमध्ये अबुलले ४० हजार भायल रेम्डेसिभिर महामारीका बेला नेपाल भित्र्याएका थिए । हेल्थआवाजलाई प्राप्त भन्सार विभागको तथ्यांकअनुसार उनले ४० हजार भायल नेपाल ल्याउँदा ७ करोड ८७ लाख ४१ हजार ६ सय २५ रुपैयाँ खर्च गरेका थिए । अझ सरकारले उनले भित्र्याएको सुरुको ५ हजार भायलबाहेकको रेम्डेसिभिरमा भन्सार छुट गरिदिएको थियो ।

तर, त्यही ७ करोड ८७ लाखमा ल्याएको रेम्डेसिभिर उनले औषधी व्यवस्था विभागबाटै वैध मुल्य तोकाएर १९ करोड ६० लाख रुपैयाँ बजारमा बिक्री गरे । महामारीका बेला कालो बजारीमा रेम्डेसिभिर प्रतिभायल १० हजारसम्म बिक्री भएको अस्पताल सञ्चालकहरु बताउँछन् । त्यसो गर्दा उनले अझ बढी आर्जन गरेको हुन सक्ने देखिन्छ ।

व्यापारीले मुनाफा आर्जन गर्नु सामान्य हो । तर, नेपालको कालोबजारी ऐनले उपभोक्तालाई मारमा नपरुन भनेर खरिद मुल्यको २० प्रतिशतभन्दा बढी नाफा कमाउन गैरकानुनी मानेको छ । तर, अबुलले कोभिड—१९ को महामारीमा समेत १५८ प्रतिशत मुनाफा कमाएका छन् । तर, नियांमक निकाय भने कानमा तेल हालेर सुतेकै अवस्थामा देखिन्छन् ।

एक महिनामै कसरी बनाए ७ करोडलाई १९ करोड

औषधी व्यवस्था विभागले कोभिड—१९ महामारी उच्चविन्दुमा रहेका बेला विश्व स्वास्थ्य संगठनले कोभिड—१९ का गम्भीर बिरामीका लागि फाइदाजनक हुन सक्ने भनेर तोकेको रेम्डेसिभिर औषधी खरिदका लागि आव्हान गरेको थियो । सो आव्हानमा नेपालका विभिन्न औषधी आयातकर्ता कम्पनीहरु आवेदन हालेका थिए । भारतमा उत्पादन भएको रेम्डेसिभिर महंगो भएका कारण औषधी व्यवस्था विभागले बंगलादेशमा उत्पादित रेम्डेसिभिर ल्याउन अनुमति दिएको थियो ।

औषधी आयातमा खासै नाम नसुनिएको अबुल हुसेनको कम्पनी आयान हेल्थकेयरले पनि रेम्डेसिभिर ल्याउन अनुमति पायो । आयानले पटक—पटक गरी ७० हजार भायल नेपाल भित्र्याउने अनुमति पाएको थियो । विभागले सार्वजनिक गरेको पटके औषधी आयातकर्ताको सूचीअनुसार १० बैशाख २०७८ मा आयानले निनाभीर नामक रेम्डेसिभिर १० हजार भायल ल्याउन स्वीकृत पाएको थियो । त्यसैगरी, १७ बैशाख २०७८ मा पण्डोभीर १० हजार भायल र २५ हजार भायल निनाभीर, ९ जेठ २०७८ मा २० हजार भायल निनाभीर भायल आयात गर्न अनुमति दिएको थियो । विभागले ७० हजार भायल रेम्डेसिभिर नेपालमा ल्याएर ४ हजार ९ सय रुपैयाँ प्रतिभायल बेच्न मुल्य तोकिदिएको थियो ।

औषधी व्यवस्था विभागले प्रतिभायल ४ हजार ९ सय रुपैयाँ बिक्री मुल्य तोकिदिएको रेम्डेसिभिर आयानले खरिद भने अति सस्तो मुल्यमा गरेको पाइएको छ । अबुल हुसैनको आयानले भन्सार कार्यलयमा बुझाएको खरिद मुल्य हेर्दा रेम्डेसिभिर आयातमा भएको चलखेलको शंकालाई बल पुग्ने देखिन्छ । भन्सार कार्यलय स्रोतबाट हेल्थआवाजले प्राप्त तथ्यांकअनुसार २२ बैशाख २०७८ मा मेची भन्सार कार्यलयबाट ५ हजार भायल निनाभीर (रेम्डेसिभिर) १ हजार ९ सय ९५ रुपैयाँ प्रतिभायल खरिद गरिएको देखिन्छ । भन्सार कार्यलय स्रोतकाअनुसार पहिलो पटक ल्याइएको रेम्डेसिभिरमा भने भन्सार शुल्क लगाइएको छ । भन्सार शुल्कसहित आयानले ल्याएको पहिलो लटको रेम्डेसिभिर ९९ लाख ७९ हजार ८ सय ५४ रुपैयाँ नेपाल भित्र्याइएको थियो ।

दोस्रो लटका रुपमा २८ बैशाख २०७८ मा आयानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निनाभीर नामक रेम्डेसिभिर २० हजार भायल ल्याएको थियो । जसको खरिद मुल्य प्रतिभायल १ हजार ९ सय ६५ रुपैयाँ ५० पैसाका दरले ३ करोड ९३ लाख ७७ रुपैयाँमा भित्र्याइएको थियो । उक्त रेम्डेसिभिरमा सरकारले भन्सार छुट दिएको थियो । सोही दिन सोही कम्पनीले पाण्डोभीर नामक रेम्डेसिभिर १ हजार ९ सय भायल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै २ हजार १ सय ३३ रुपैयाँ २७ पैसा प्रति भायल खरिद गरेर ल्याएको थियो । जसको जम्मा खरिद मुल्य ४० लाख रुपैयाँ परेको थियो ।

६ जेठ २०७८ मा पाण्डोभिर नामक रेम्डेसिभिर ३ हजार १ सय भायल २ हजार १ सय २२ रुपैयाँ ३५ पैसा प्रतिभाइल खरिद गरेर नेपाल ल्याइएको थियो । जसको जम्मा खरिद मुल्य ६५ लाख ७९ हजार २ सय ९४ रुपैयाँ पर्न गएको भन्सारको तथ्यांकमा देखिन्छ । यस्तै, सोही मितिमा मेचीनगर भन्सार कार्यलय काकडभिट्टाबाट निनाभीर नामक रेम्डेसिभिर १० हजार भायल नेपाल ल्याइएको थियो । प्रतिभायल १ हजार ८ सय ८२ रुपैयाँ ९२ पैसा परेको उक्त रेम्डेसिभिरको जम्मा खरिद मुल्य १ करोड ८८ लाख २९ हजार २ सय ७७ रुपैयाँ भन्सार कार्यलयमा देखाइएको छ ।

भन्सार कार्यलय स्रोतकाअनुसार अब्दुल हुसेनको आयान हेल्थकेयरले रेम्डेसिभिर खरिदका लागि ७ करोड ८७ लाख ४१ हजार ६ सय २५ रुपैयाँ खर्च गरेको देखिन्छ । औषधी व्यवस्था विभागले तोकिएको मुल्य ४ हजार ९ सय रुपैयाँलाई आधार मानेर उनले नेपाल भित्र्याएको ४० हजार भायल रेम्डेसिभिरको हिसाब निकाल्दा १९ करोड ६० लाख हुन आउँछ । औषधी आयातकर्ताहरुकाअनुसार सप्लायर्सले यातायात खर्च र औषधी बिक्रेताहरुलाई डिस्काउन्ट गरी बढीमा १६ प्रतिशत छुट्याएका हुन्छन्, जुन ३ करोड १३ लाख ६० हजार रुपैयाँ हुन आउँछ । १६ प्रतिशत छुट्याएर बाँकी रहेको १६ करोड ४६ लाख ४० हजारमा उनको लगानी ७ करोड ८७ लाख ४१ हजार ६ सय २५ रुपैयाँ घटाउँदा महामारीको एक महिनामै अबुलको खल्तीमा ८ करोड ५८ लाख ९८ हजार ३ सय ७५ रुपैयाँ मुनाफा भएको देखिन्छ ।

औषधी व्यवस्था विभागका वरिष्ठ औषधी व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसी अन्य देशबाट आयात हुने कुनै पनि औषधीको मुल्य उत्पादन भएको देशमा बिक्री भएको मुल्य बराबर हुनुपर्ने बताउँछन् । पटके सिफारिस पाएका औषधीका सन्दर्भमा खुला प्रतिस्पर्धामा कम मुल्यमा बिड गरेका सप्लायर्सले अनुमति पाउने उनको भनाइ छ । ‘औषधी उत्पादन हुने देशको बिक्री मुल्यभन्दा बढीमा औषधी ल्याउने अनुमति हुँदैन्,’ उनले भने, ‘पटके अनुमति पनि त्यो मापदण्डसँगसँगै कम मुल्यमा प्रतिस्पर्धा गर्नेहरुले पाउँछन् ।’

हेल्थआवाजले कम मुल्यमा ल्याएर बढी मुल्य वैद्य गराएर कसरी नेपालमा रेम्डेसिभिर बिक्री सम्भव भयो भन्ने प्रश्न अबुललाई गर्दा उनले यस विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई सोध्न भने । ‘तपाईहरु यस विषयमा केपी ओली, हृदयेश त्रिपाठी र डा. रोशन पोखरेललाई सोध्नुहोस्,’ उनले भने, ‘मैले ४० लाख सिटामोल बाँडेर १० लाख जनता बचाएको हुँ । मेरो बारेमा जति लेख्नुछ लेख्नुहोस् मलाई केही फरक पर्दैन् ।’


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ