२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यऔषधीका नाममा यौन संवेदनामाथि व्यापार

औषधीका नाममा यौन संवेदनामाथि व्यापार


काठमाडाैं-आयुर्वेद उपचार पद्धतिमा बाजीकरणलाई एउटा विशेष उपचार विधाको रूपमा लिइएको छ । परापूर्व कालमा राजा–महाराजाहरूले यौन उत्तेजना बढाउन, सन्तान उत्पादनका लागि वीर्य उत्पादन बढाउन आयुर्वेदिक औषधीहरू प्रयोग गरेको कुरा धर्मग्रन्थहरूमा उल्लेख पाइन्छ । परापूर्व कालदेखि हाम्रो समाजमा ती आयुर्वेदिक औषधीहरू प्रचलनमा छन् । त्यस्ता औषधीलाई आधुनिक एलोप्याथिक औषधीसँग प्रतिस्पर्धी बनाउन आजभोलि अनुसन्धानमा आधारित आयुर्वेदिक औषधीहरू पनि बजारमा उपलब्ध हुन थालेका छन् ।

नेपालमा यस्ता औषधीलाई सरकारले यौनबर्द्धक औषधीको मान्यता दिएको छैन । मान्यता नभएपनि नेपाली बजारमा यस्ता औषधी छ्यापछ्याप्ती पाइन्छन् । त्यसमा केही औषधी नेपाली छन् भने धेरैजसो भारतीय कम्पनीका औषधी बिक्री–वितरण भैरहेका छन् । कतिपय औषधीले पोषणयुक्त खाद्यका रूपमा उत्पादन अनुमति लिएर यौनबर्दक भन्दै प्रचार गर्ने गरेका छन् भने कतिपयले शुक्रकीट बढाएको अनुसन्धानबाट पुष्टि भएको भन्दै त्यहीअनुसार प्रचार गरिरहेका छन् । जसले यौनजस्तो संवेदनशील कुरालाई व्यापार बनाएर मान्छेको स्वास्थ्यमाथि खेलवाड गरिरहेका छन् ।

तर, यस्ता भ्रमात्मक प्रचार गरेर औषधि खुलेआम बिक्री गर्नेलाई न त राज्य ले नै नियमन गर्न सकेको छ न त कार्वाही नै । यस्ता भ्रमात्मक प्रचार गरी बिक्री भएका वस्तुहरु औषधी हुन भन्न नसकिने औषधी व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्री बताउँछन् । यी औषधी नभएतापनि औषधी भनेर बेच्नेलाई कारवाही गर्नका लागि भने विभागले कुनै कदम चालेको पाइदैन् । ‘यो एउटा निकायले मात्र हेर्ने कुरा होइन्,’ उनले हेल्थ आवाजसँग भने, ‘सम्बन्धित निकायहरुबीच समन्वय नहुँदा अफबाह फैलाएर व्यपार गरी स्वास्थ्य माथि खेलवाड भइरहेको छ ।’ तर नियमन कुन निकायले गर्ने हो त ? यसको उत्तर महानिर्देशक क्षेत्रीसँग पनि छैन । ‘हाम्रोमा दर्ता भएकालाई अनुगमन गर्छौ,’ उनी भन्छन्, ‘यी विषयमा त्यति उजुरी पर्दैनन्, तर पहिलेको भन्दा घटेको छ ।’

औषधि व्यवस्था विभागमा पूर्व महानिर्देशक नारायण ढकाल यौनबर्दक भनेर कुनै पनि औषधीलाई नेपालमा स्वीकृत नदिएको दावी गर्छन् । ‘औषधी व्यवस्था विभागले कुनै पनि प्रकारका औषधीलाई तोकेर यौनबर्द्धक, यौन उत्तेजक भनेर स्वीकृत दिएको छैन । कुनै–कुनैले अनुसन्धानमा आधारित रहेर वीर्य बढाउन सहयोग गर्ने भनेका हुन्छन्,’ ढकाल भन्छन्, ‘बजारमा नेपालमा उत्पादन भएका त्यस्ता औषधी थोरै मात्र छन्, भारतबाट ल्याइएका औषधी भने प्रशस्त पाइन्छन् ।’ ती औषधी औषधीका रूपमा भन्दा बढी पोषणजन्य खाद्यपदार्थका रूपमा नेपाल भित्र्याइन्छन् । पोषणजन्य खाद्यपदार्थका नाममा आएका त्यस्ता पदार्थलाई औषधी व्यवस्था विभागले नभै खाद्य विभागले प्रमाणित गर्ने गरेको छ ।

एलोपेथिक औषधीले विश्वलाई नै छोपिरहेको समयमा नेपालमा भने यौनबर्द्धक औषधीको नाममा आयुर्वेदिक औषधीको बजार किन तातिरहेको छ ? यस्ता औषधीमा कति सत्यता छ ? किन मानिसहरू यस्ता औषधीमा बढी विश्वास गर्छन् ? यसको एउटै उत्तर हो– आयुर्वेदिक औषधीमा साइड इफेक्ट हुँदैन भन्ने विश्वास । आयुर्वेद विभागका निर्देशक डा. वासुदेव उपाध्याय भन्छन्, ‘यो सरासर गलत हो, जुन औषधीले इफेक्ट गर्छ त्यसको साइड इफेक्ट अनिवार्य हुन्छ तर मात्रा भने एलोप्याथिकको भन्दा कम हुन्छ ।’

त्यसो भए के यौनबर्दक औषधीसम्बन्धी सबै कुरा भ्रम मात्र हुन् त ? ‘त्यो पनि होइन,’ डा. उपाध्याय भन्छन्, ‘आयुर्वेदमा पनि बाजीकरण उपचार पद्धति नै छ, त्यस्ता औषधी सेवन गर्नुपूर्व दक्ष चिकित्सकबाट समस्याको पहिचान गराइ उसले सिफारिस गरे अनुसार औषधी सेवन गर्नुपर्छ ।’ एलोप्याथिक औषधी जथाभावी सेवन गर्दा नकारात्मक प्रभाव पर्छ भन्ने डर जनमानसमा छ । आयुर्वेदिक औषधीमा त्यस्तो डर देखि“दैन, तर जथाभावी प्रयोग गर्दा आयुर्वेदिक औषधीले पनि एलोप्याथिकले जत्तिकै हानी गर्ने विज्ञहरू बताउँछन् ।

‘एलोप्याथिकको असर चाँडो देखिन्छ, आयुर्वेद औषधिको असर देखिन समय लाग्छ,’ डा. उपाध्याय भन्छन्, ‘गुणस्तर प्रमाणित नभएका कुनै पनि औषधी सेवन गर्नु हुँदैन ।’

के हो बाजीकरण ?

आयुर्वेदमा रसायन र बाजीकरण भन्ने दुई विशेष विधा नै छन् । रसायन विधा भनेको शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउने चिकित्सा पद्धति होे । यसले बल, वीर्य र शरीरका सबै तत्वहरूबीच सन्तुलन मिलाएर अघि बढ्न मद्दत गर्छ । यौनसम्बन्धी समग्र उपचार पद्धति बाजीकरणअन्तर्गत पर्छ ।

आयुर्वेदमा परापूर्व कालदेखि नै बाजीकरण चिकित्सा प्रचलनमा रहेको कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. बाबुराजा अमात्य बताउँछन् । ‘यौनमा दुर्बलता, कमजोरी, वीर्य वृद्धि, शीघ्र स्खलनजस्ता समस्याको उपचार गर्ने पद्धति बाजीकरणअन्तर्गत पर्छ,’ डा. उपाध्याय भन्छन्, ‘बाजीकरणमा प्रयोग गरिने विधि कसरी प्रयोग गर्ने ?’ खानपिन, बसाइँ–उठाइका तरिकाहरू र मात्राको कुरा बाजीकरणमा उल्लेख छ ।

यिनै कुरालाई आधार मानेर उपचार गरिन्छ । केही जडीबुटीमा यौन शक्ति बढाउन सक्ने, वीर्य बढाउन सक्ने गुण हुन्छन्, तर सबै जडीबुटीलाई आधार बनाएर सबै खालका यौनसम्बन्धी उपचार गर्ने भन्दै बजारमा छ्यापछ्याप्ती विज्ञापन देखि“दै आएका छन् । यो चिकित्सा सेवाभन्दा पनि चरम व्यवसायीकरणस“गै देखा परेको एउटा बेथिति हो ।

उपचार कि कु–प्रचार

यौनसम्बन्धी समस्या स्वास्थ्य समस्यासँग जोडिएको विषय हो । यस्ता विषयमा संवेदनशील हुनुपर्छ । यस्ता कुरामा सानो गल्तीले ठूलो समस्या निम्त्याउन सक्ने विज्ञहरू बताउँछन् । प्रमाणित नभएका औषधी बेचेर मानिसको स्वास्थ्यसँग खेलबाड गर्ने तथा उनीहरूलाई लुट्ने काम भैरहेको उनीहरूको धारणा छ ।

एउटा सामान्य १० रूपैयाँ बराबरको वस्तुलाई कुप्रचारमार्फत ५०/१०० रूपैयाँसम्म लिइने गरेको डा. बाबुराजा अमात्य बताउँछन् । ‘यो सरासर उपचारका नाममा मानिसको संवेदनाको व्यापार हो,’ डा. अमात्य भन्छन्, ‘सरकारले यस्ता कुनै पनि उत्पादनको प्रचारप्रसार एवं बिक्री गर्न कानुनी मान्यता दिएको छैन ।’ बजारमा भने यौन क्षमता बढाउने, यौन दुर्बलता कम गर्ने, वीर्य बढाउने, लिंग ठूलो बनाउने, योनी सानो बनाउने जस्ता भ्रमात्मक विज्ञापन गरेर ठग्ने, भ्रममा पार्ने काम भैरहेको छ ।

सामान्य प्रचार मात्र नभएर त्यस्ता उत्पादनको प्रयोगले ग्यारेन्टीका साथ सतप्रतिशत उपचार हुने ठोकुवा समेत गरिएको हुन्छ । यस्ता ग्यारेन्टीका साथ उपचार गर्ने भनी गरिएका प्रचार–प्रचारले मानिसमा भ्रम छर्ने गरेको सिंहदरबार आयुर्वेद औषधालयका पूर्व कार्यकारी निर्देशक समेत रहेका बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. राजेन्द्र गिरी बताउँछन् । ‘कुनै कुराको पनि शतप्रतिशत ग्यारेन्टी हुँदैन,’ डा. गिरी भन्छन्, ‘एउटा औषधीले एउटा मानिसमा केही काम ग¥यो भन्दैमा त्यसले अर्को व्यक्तिमा पनि त्यही काम गर्छ भन्ने हुँदैन । शरीरको स्वभाव मानिस अनुसार धेरै फरक हुन्छ, शारीरिक बनावट पनि फरक–फरक हुन्छ । यी सबै कारणले औषधिको मामिलामा ग्यारेन्टी भन्ने शब्द नै गलत हो ।’

यसो भन्दैमा सबैलाई सोलोडोलो रूपमा हेर्न नहुने डा. गिरी बताउँछन् । अहिले बजारमा धेरै खालका औषधी आएका छन् र प्रचार पनि उग्र रूपमा भैरहेको छ । कतिपय औषधी उपचारका लागि अध्ययन भएर प्रमाणित भएका पनि छन् । अनुसन्धान भएर प्रयोग गर्न उपयुक्त ठहरिएका औषधीलार्ई भ्रमात्मक प्रचार गर्नेहरूले नकारात्मक असर पु¥याएका छन् । चिकित्सकको सल्लाह नलिई सिधै भ्रम छर्ने किसिमले गरिएका यस्ता प्रचारको पछि लाग्दा स्वास्थ्यमा असर त गर्छ नै, समय र पैसासमेत बर्बाद हुने डा. गिरी बताउँछन् । यदि यौनसम्बन्धी कुनै पनि खालको समस्या भए चिकित्सकीय परामर्श गरेर जडीबुटी सेवन वा त्यसको सम्मिश्रण भएका औषधी सेवन गर्नु उपयुक्त हुने डा. गिरीको धारणा छ ।

आधिकारिक औषधी पसलमा पाइने केही आयुर्वेदिक यौनबर्द्धक औषधी

नेपाली उत्पादन
ऊर्जा ट्याबलेट, शक्ति टोनिक, मुस्ली पावर

भारतीय उत्पादन

भिटा एक्सगोल्ड, टेन्टेक्स रोयल, टेन्टेक्स फोर्ट, एफरोल प्लस, भिसोरेक्स, भिगोरेक्स, बाजीगर शक्ति, बाजीगर, सिलाजीत, नियो, बानारी कल्प ।

केका लागि कुन औषधी बिक्री भैरहेको छ ?

लिंग कडा नहुनेमा : भिगोरेक्स, टेन्टेक्स रोयल
शीघ्र स्खलनमा : टेन्टेक्स फोर्ट र भिटा एक्सगोल्ड
यौन उत्तेजना नहुने (महिला र पुरुष) : शीलाजित
महिला तथा पुरुष दुवैमा हुने यौन दुर्बलतामा : बाजीकरण शक्ति


क्याटेगोरी : यौन स्वास्थ्य, विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ