२०७८ असोज १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपसर्जनको हुटहुटीले जन्मिएको करुणा अस्पताल, जहाँ ३७ जना विशेषज्ञ चिकित्सकले सेवा दिन्छन्

सर्जनको हुटहुटीले जन्मिएको करुणा अस्पताल, जहाँ ३७ जना विशेषज्ञ चिकित्सकले सेवा दिन्छन्

दुई वर्षमै जहाँ काम गर्छन् २ सय बढी कर्मचारी


काठमाडौं बुढानिलकण्ठको चुनिखेल । एउटा भित्री गाउँ । भर्खरै नयाँ वस्तीहरु निर्माण हुने क्रममा थिए । त्यही वस्तीका एक स्थानीय तन्नेरी गाउँमै हस्पिटल बनाउन तम्सिए । भन्नेहरुले त भनेपनि ‘यो बौलायो’ । हुर्किदैं गाउँले बुढापाकाको आँखामा उनी डाक्टर बन्ने सपना दौडिरहेको थियो । किनभने, उनी गाउँमै पढाइमा बढी तेज थिए । आफूबाट उपचारको सपना देखेका बुढापाकाहरुको ‘भावनात्मक शक्ति’कै बलमा अस्पताल खोल्न तम्सिएका ती तन्नेरीलाई हतोत्साहित पार्ने प्रतिक्रियाले केही असर गरेन् ।

३९ वर्षीय डा. रामकुमार श्रेष्ठ । पेशाले न्यूरो सर्जन । तीन वर्षअघि साढे ७ रोपनी जग्गा लिजमा लिएर १५ लाख ऋण लिएर जग खन्न थालेको अस्पताल हो—करुणा अस्पताल । दुई वर्षअघि पहिलो बिरामी चेकअप गर्दा डा. राम दुई जना नर्स लिएर ओपीडीमा बसेर कुरा अहिले पनि उतिकै झल्झल्ती सम्झन्छन् । केही समयपछि मात्रै उनलाई सघाउन उनकी इएनटी विशेषज्ञ श्रीमती डा. शोभा महर्जन आएकी थिइन् ।

दाजुभाइ र गाउँलेसहित ७ जना मिलेर झण्डै ७ करोड सुरुवाती लगानीमा सुरु भएको करुणा अस्पतालमा अहिले झण्डै ३० करोड बढी लगानी भइसकेको छ । क्रमसः उनका साथीहरु पनि अस्पतालसँग जोडिदैं गएका छन् । डा. रामसँगपछि उनका साथी तथा छाती रोग विशेषज्ञ डा. रवि महत जोडिए । ‘टाढै भएपनि साथीहरुले मेरो कुरा काट्न नसकेर आएर बिरामी हेरे,’ अस्पतालका सुरुवाती किस्सा सुनाउँछन्, ‘सुरुवाती तीन महिनामा यसैगरी चलायौं ।’

क्रिटिकल केयर (आईसीयु) र सर्जरी सेवालाई फोकस गरेर अस्पतालले आफ्ना कामहरु अगाडि बढाएको डा. राम बताउँछन् । अहिले अस्पतालमा दुई जना इन्टेन्सीभ केयरका विशेषज्ञ कार्यरत छन् । एक जना डिएम गरेका क्रिटिकल केयरका चिकित्सक विहान र साँझ काम गर्छन् । ‘यो लेभलको केयर दिने अहिले प्राइभेट चार वटा हस्पिटल मात्रै हो,’ उनी दावी गर्छन्, ‘हामी, ग्राण्डी, मेडिसिटी र ह्याम्स । चाडै हामी त्यो लेभलमा पुग्यौ किनभने हामी बिरामी नहुँदा पनि खर्च गरिरहेका थियौं ।’

पहिलो पटक सर्विस सुरु गर्दा दुई वटा बिरामी भर्ना गरेको उनी सम्झन्छन् । तीन महिनामै १४ वटा बेड आईसीयुमा ३—४ जना बिरामी थिए भने १७—१८ वटा जनरल बेड भरिएर बिरामी रिफर गर्नुपर्ने अवस्था आइसकेको थियो । अहिले करुणा अस्पतालमा न्युरो सर्जरी, गाइनो, पेडियाट्रिक, कार्डियोलोजी, बाथरोग, युरोलोजी, इएनटी, नेफ्रोलोजी, छाती रोग, डेन्टलललगायतका सेवाहरु उपलब्ध छन् ।

करुणामा मुटुको शल्यक्रिया र आँखा रोगबाहेकका सबै विशेषज्ञ सेवाहरु उपलब्ध रहेको डा. राम बताउँछन् । कोभिड—१९ को समयमा दैनिक ५० देखि ६५ जना बिरामीको उपचार हुन्थ्यो । अहिले भने दैनिक १८—२० जना बिरामीहरुले ओपीडीमा सेवा लिन्छन् । आईसीयुमा औसत ४—५ जना बिरामीको उपचार हुन्छ भने १५—१७ जना बिरामीको जनरल वेडमा सेवा लिन्छन् ।

तीन जना मिलेर सेवा सुरु गरेको करुणा अस्पतालमा अहिले फूलटाइम र पार्टटाइम गरेर २ सयभन्दा बढी स्टाफ छन् । फुलटाइम विशेषज्ञ चिकित्सक १५ जना छन् भने पार्टटाइम समेत गरी ३७ जनाभन्दा बढी विशेषज्ञ चिकित्सकले करुणामा बिरामीको उपचार गर्छन् । अस्पतालको मासिक खर्च नै १ करोड १४ लाख छ । अहिले ९० लाख हाराहारीमा अस्पतालको रेभ्न्यु रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत समेत रहेका डा. राम सुनाउँछन् । ‘अहिले पनि हामी घाटामै छौं,’ उनी भन्छन्, ‘मलाई अपरेटिङ कष्ट उठे पुग्छ । पैसा कमाउन मैले अस्पताल खोलेको होइन् ।’ अहिले सेयरहोल्डरको संख्या पनि ११ जना पुगेको छ ।

२ वर्षकै अवधिमा सेवा विस्तारमा करुणाले एउटा लय समातेको छ । ‘यसको मुख्य कारण सपना नै हो,’ डा. राम कारण खोल्छन्, ‘भोलि मलाई अन्डा खुवाउने गाउँले र मेरो परिवारको मान्छे बिरामी हुँदाखेरि पनि यो सेवा छैन भनेर अर्को ठाउँमा लैजान नपरोस भन्ने चाहन्छु ।’ त्यही कारण उनी नेपालभित्र जे जति उपचार सेवाहरु दिन सकिन्छ ती सबै सेवाहरु करुणामा सुरु गर्न चाहन्छन् । कोभिड—१९ नभएको भए करुणाले यही वर्ष क्याथल्याब सञ्चालनमा ल्याउने योजना बनाएको थियो । ‘आशा गरौं, अब एक वर्षभन्दा बढी नलाग्ला त्यो सेवा सुरु गर्न,’ उनी दृढ देखिए ।

यस्तै करुणा अस्पतालले अर्को ठूलो प्रोजेक्टका रुपमा करुणा क्यान्सर थेरापी सेन्टर स्थापना गर्न लागेको छ । ‘त्यो रेडियो थेरापी सेवा हो,’ उनले भने, ‘झण्डै ५० करोडजति पर्ने मेसिन ल्याएर छुट्टै सेन्टर बनाएर त्यो सेवा सुरु गर्न खोजिरहेका छौं ।’ त्यसबाहेक करुणामा आफ्नो एक्सपिरिमेन्ट सफल भएमा कम्युनिटी अस्पतालहरुको व्यवस्थापनमा आफ्नो सीप खर्चिने योजना छ ।

‘सपना भएन भने म्यानेजमेन्ट हुँदैन्,’ डा. राम भन्छन्, ‘उद्देश्य स्पष्ट हुनुपर्छ । कम्युनिटीमा रनिङ कष्ट पुग्ने गरी अस्पताल सञ्चालन गर्नेहरुले व्यवस्थापनमा सहयोग चाहियो भने हामी दिन तयार छौं ।’ त्यसबाहेक स्थानीय पार्टनरहरुसँग कुरा मिलेमा थानकोट, दुलेगौडालगायतका देशका विभिन्न ठाउँमा करुणा विस्तार गर्ने योजना उनको छ ।

गाउँलेको भावनाले बनेका चिकित्सक

डा. रामकुमार श्रेष्ठ चुनिखेलमा जन्मिए, त्यही हुर्किए । त्यही पढे बढे । सानैदेखि पढाइमा तेज भएकाले गाउँलेहरुले उनमा विस्तारै ‘डाक्टर’ देख्न थाले । त्यहाँका सुरुवाती चरणमा एसएलसी दिने १० जना भित्र उनी पर्छन् ।

पढाइ राम्रो भएकाले ६—७ कक्षादेखि नै गाउँलेहरु यो डाक्टर बन्छ भनेर रामलाई फुर्काउन थाले । ‘६—७ कक्षा पास हुँदा नै १—२ सय जना सगुनका रुपमा अण्डा खुवाउन आउँथे,’ उनी सुनाउँछन्, ‘हाम्रो समुदायमा पास भयो भने सगुन खुवाउने चलन छ ।’ विस्तारै—विस्तारै गाउँलेहरुले देखेको सपना उनका लागि प्रेसर हुन थाल्यो ।

वि.सं. २०५४ सालमा एसएलसी राम्रो अंक ल्याएर पास गरेपछि त उनको घरमा सगुन खुवाउन आउने गाउँलेहरुको ताती नै लाग्यो । उनले एसएलसीपछि चिकित्सक बन्ने यात्रातिर पहिलो कदम उठाए । दीपेन्द्र प्रहरी स्कुल सागामा प्लस टुमा विज्ञान विषय लिएर पढ्न थाले । वि.सं. २०५६ सालमा उनले त्यहाँबाट प्लस टु उत्तीर्ण गरे ।

समुदायबाट स्कुल जीवनदेखि नै क्रियट हुँदैं गरेको प्रेसरका कारण उनलाई चिकित्सक नबनी सुखै थिएन । स्कुलदेखि कलेज जीवनसँगै गाउँमा कोही बिरामी भयो भने स्ट्रेचरमै बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता धेरै पटक उनी आफैले ब्यहोरेका थिए । उनकी एक गाउँले बुहारीको प्रिगेन्सीको बेला त कतिसम्म भयो भने स्ट्रेचर नपाएर तन्दामै पोको पारेर अस्पतालका लागि हिडाइयो । ६ जनाले बोकेर कपनको कृष्ण मन्दिरसम्म पु¥याउँदा उनले बाटैमा सुत्केरी भइन् ।

अस्पतालका लागि गाउँमा उठाउनु परेको जोखिमले नै उनमा गाउँमै अस्पताल खोल्नुपर्ने विचारको विजारोपण भएको थियो । सन् २००२ मा उनी एमबीबीएस पढ्नका लागि चीन गए । पहिलो वर्ष पढिसकेर जब उनी फर्किए । उनलाई स्वागत गर्नका लागि एयरपोर्टमा डाक्टर आयो भन्दैं माला लिएर सय बढी गाउँले पुगेका थिए । ‘जबकी त्यो बेला मेरो पहिलो वर्षको समेत रिजल्ट आएको थिएन,’ उनी भन्छन् ।

त्यही कुराले उनलाई एकातिर उत्साह दियो भने अर्कोतिर सामाजिक प्रेसर पनि । चीनबाट एमबीबीएस सकेर फर्किएपछि डा. राम सर्जरी पढ्न युनिभर्सल मेडिकल कलेज भैरहवा गए । त्यहाँबाट सर्जरीको अध्ययन पूरा गरेपछि पुनः काठमाडौं फर्किए । त्रिवि शिक्षण अस्पतालमा न्युरो सर्जरी एमसिएच अध्ययन गरे । ‘म जहाँ जहाँ गए, गाउँका बिरामीहरु यसले सहयोग गर्छ भन्दैं उपचार गर्न त्यही आउँथे,’ उनले सुनाए । उनी गाउँलेको उपचारमा आफूले सकेको सहयोग गरेर पठाइदिन्थे ।

शिक्षणमा पढ्दा उनले एडमिनिष्ट्रेसनको अनुभव पनि हासिल गर्ने मौका पाए । ‘एचसीएस पढ्दा म्यानेजरको रुपमा पनि काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘थर्ड इयर पुगेपछि चिफ रेजिडेन्टका रुपमा बिरामीको व्यवस्थापनको काम पनि गर्नुपर्छ ।’ बिरामीलाई शल्यक्रियामा लग्ने, बेड मिलाउने, खर्च मिलाउनेसम्म व्यवस्थापनका कामहरु गर्नुपथ्र्यो । सरकारी अस्पताल भएकाले पैसा नहुनेहरु पनि आउँथे, आधा दिन ती बिरामीको खर्चको जोहो गर्नमै उनको समय बित्थ्यो । यसले उनलाई अस्पताल व्यवस्थापनको स्कील हासिल गर्न सहयोग पु¥यायो । तर, उनले सोचे—म यही काम गरेर बसे भने हेल्थकेयरमा केही परिवर्तन गर्न सक्दिनँ ।

त्यही कारण उनी आफै अस्पताल खोल्ने योजनामा बनाउन थाले । सामाजिक रुपमा उनलाई गाउँलेहरुले डाक्टर बनाउन देखेको सपना पनि आफैले अस्पताल खोलेर मात्रै पूरा गर्न सकिन्छ भन्ने परेपछि उनी अस्पतालको खोल्नेमा दृढ भए । ‘म यस्तो अस्पताल चाहन्थे । जहाँ भोलि मेरो परिवार र गाउँका मानिसहरु बिरामी हुँदा निर्धक्कसँग राख्न सकू,’ उनी भन्छन्, ‘मलाई गाउँलेहरुले खुवाएको त्यत्रो अण्डाको ऋण पनि तिर्नुप¥यो । प्राइभेट वा अर्को अस्पतालमा काम गरेर त्यो पूरा गर्न सक्दैन् ।’

अन्य अस्पतालमा काम गर्दा आफ्ना गाउँले बिरामीको सुरुदेखि अन्त्यसम्म आफै उपचारमा संलग्न रहेर खुसी पार्न पनि गाह्रो थियो । ‘म प्लस टु पढ्दैखेरि कतिपय बुढाबुढीले म तैले उपचार गरेपछि मात्रै मर्छु भन्नुहुन्थ्यो,’ उनी गाउँको भावनात्मक पाटो खोल्छन्, ‘अहिले पनि उहाँहरुमध्ये केही जीवितै हुनुहुन्छ ।’

अस्पताल गाउँमै खोल्ने निधो गरेर उनी योजनामा जुट्न थाले । सहरबाट अलि कुनाको गाउँमा प्राइभेट हस्पिटल खोल्न लागेको भन्दै कतिपयले त उनलाई बौलाएको भनेर समेत टिप्पणी गरे । ‘एमबीबीएस पास गरेर हल्काफूल्का काम गर्न थालेदेखि नै अलिअलि सोच बनेको थियो । विस्तृत रुपमा यसरी अस्पताल खोल्छु भन्ने दिमागमा आएको म एमसीएच पढ्दाखेरि नै हो,’ उनी भन्छन्, ‘मेरो परिवार र वरिपरिका मान्छे उपचार खोज्दैं अन्त जानुपर्ने अवस्था अन्त्य हुने गरी सबै सेवा दिने अस्पताल खोल्न चाहन्थे ।’

सन् २०१५ मा नै उनले अस्पतालको खाका कोर्न सुरु गरे । कुन सेवा कसरी दिने, कुन—कुन उपकरण किन्नेलगायतको विस्तृत योजना तयार पारे । अस्पताल कसरी चलाउने ? दुई वटा कुरा थिए—एक भावनात्मक पाटो अर्को फाइनान्सियल । भावनात्मक कुराले तान्दैं गएपछि अस्पताल खोल्न तम्सिएका उनले गाउँलेबाटै अस्पतालका लागि लगानी जुटाउने प्रयास गरे । तर, ठाउँ सुन्नेबितिकै कोही पनि तयार भएनन् ।

अस्पताल खोल्नका लागि कुस्त पुँजी आवश्यक थियो । अन्तमा उनको परिवारका दाजुभाईहरुबीचमै सरसल्लाह भयो । ‘मसँग १५ करोड लगानी गरेर राम्रो अस्पताल चलाउने एउटा प्रोजेक्ट छ,’ दाजुभाईबीचको सल्लाहमा डा. रामले भने, ‘सबै सर्विस दिने हस्पिटल चलाउन सकिन्छ । सुरुमा १५ जना खोजेर एक—एक करोड जम्मा गरौं । नत्र हामी ८ जना दुई—दुई करोड रुपैयाँ जम्मा गरौं ।’ उनले राम्रो उपचार गर्ने ग्राण्डी, मेडिसिटीजस्ता अस्पतालहरुमा गम्भीर बिरामी आईसीयुमा बसेको दैनिक एक लाख हाराहारीमा खर्च हुने राम्रो सर्विस भएको अस्पतालमा बिरामी ठीक हुन्जेलसम्म झण्डै एक करोड खर्च गर्नुपर्ने अवस्था प्रष्टाए । ‘तीन वर्षमा हामी डुबेर निल भयौं भनेपनि परिवारका सिकिस्त भएका कोही न कोही बिरामी त बचाउँछौं,’ उनले भने, ‘१ करोड खर्च त बच्यो ।’

डा. रामसँग उनका फुपुका छोरा तीर्थलाल श्रेष्ठ, उनका ठूलोबुवाका दुई छोरा, अर्का नजिकैका ठूला बुवाका छोरा गरी पाँच जना अस्पतालमा लगानी गर्न तयार भए । सुरुमा १५ करोड जम्मा नभएपनि १० करोडबाट सुरु गर्ने र पछि लोन लिने गरी अस्पताल निर्माणको गृहकार्य अगाडि बढाइयो । त्यही क्रममा उनका एक जना भान्जा र एक भाइ पनि जोडिए । ७ जना भएपछि अस्पतालको काम अगाडि बढाउन थप सहज भयो ।

डा. रामले विभिन्न अस्पतालमा काम गर्दा बिरामीप्रतिको मायाको अभाव, रुखो बोलीबचनले बिरामी पारेको असर महसुस गरेका थिए । त्यही कारण अस्पतालको नाम नै ‘करुणा’ राख्ने तय भयो । ‘बिरामीले आफ्नो पीडा डाक्टरले बुझिदेओस भन्ने चाहन्छन्,’ उनी भन्छन्, ‘बिरामीले त्यो भन्दा अरु त केही चाहेको हुँदैन ।’ हेल्थकेयरमा औषधी, उपकरणभन्दा ठूलो त्यही करुणा आवश्यक पर्ने उनको तर्क छ । करुणामा बिरामीको आत्मबल वृद्धि हुने गरी काउन्सिलिङ गर्ने उनी सुनाउँछन् । ‘कसैलाई दुःख छ भने त्यो दुःखलाई आफूले फिल गर्ने हो,’ उनी भन्छन्, ‘अरुको दुःख आफूले फिल गरिदियो भने त्यो घट्छ ।’

पैसा लगानी गर्न तयार भएपनि जम्मा गर्न समस्या भयो । माल्दिभ्समा गएर पनि उनले न्युरो सर्जरी सेवा सुरु गर्दाको अनुभव बटुलेका थिए । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका युवा फ्याकल्टी डा. गोपाल सेढाई (जसले उनलाई पनि न्यूरो सर्जरी सिकाए)लाई २५ लाख ऋण मागे । साढे ७ रोपनी जग्गा लिजमा लिए त्यही २५ लाखबाट चुनिखेलमा तीन वर्षअघि मंसिरमा ‘करुणा अस्पताल’को जग खन्न सुरु गरियो ।

४ महिनामै अस्पतालको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भयो । जग्गा लिजमै भएका कारण प्रशस्त भौतिक पूर्वाधार भएपनि २५ वेडको मात्रै स्वीकृती पाए । पहिलो बिरामी भर्ना सुरु गरेको दुई वर्ष पुगेको छ । बिलिङ गर्न सुरु गरेको भदौंमा दुई वर्ष पुग्छ । तर, दुई वर्षकै अवधिमा करुणा अस्पताल समुदायमा फरक पहिचान बनाउन थालेको छ ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #करुणा अस्पताल, #डा. गोपाल सेढाई, #डा. रामकुमार श्रेष्ठ, #न्यूरो सर्जन


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)