२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपयुवा उद्यमी प्रभातले १२ वर्षमा बनाए मारुती फर्मालाई डर्माको नम्बर वान कम्पनी

युवा उद्यमी प्रभातले १२ वर्षमा बनाए मारुती फर्मालाई डर्माको नम्बर वान कम्पनी

३२ वर्षीय युवा प्रभातले १२ वर्षअघि सुरु गरेको मारुती फर्मास्युटिकल्स डर्माका सर्वाधिक प्रडक्ट भएको नेपाली औषधी उधोग


डर्माकामात्रै ७२ वटा प्रडक्ट । ट्याब्लेटका ३० वटा प्रडक्ट । अन्य जनरल सेग्मेन्टमा १२ वटाभन्दा बढी प्रडक्ट । १० कठ्ठाभन्दा बढी जमिनमा फैलिएको विशाल संरचना । २ सय १० जना कर्मचारी । लगानीमात्रै झण्डै आधा अर्ब । पर्साको परवानीपुरस्थित मारुती फर्मास्युटिकल्सका हाइलाइट्स हुन् । अझ महत्वपूर्ण त के भने मारुती मुलुककै नम्बर वान डर्मा प्रडक्ट उत्पादन गर्ने फर्मा कम्पनी हो । कुनै समय भारतको चर्चित ग्लेनमार्क फर्मास्युटिकल्सलाई पनि उछिनेर यसले स्वदेशी बजारमा राज गरेको थियो ।

एक जना ३२ वर्षीय युवा प्रभात रुंगटाले १२ वर्षअघि देखेको सपनाको जगमा मारुती फर्मास्युटिकल्स खडा भएको हो । १२ वर्षअघि १२ करोड रुपैयाँ लगानीमा २० जना कर्मचारीबाट सुरु भएको मारुतीमा फर्मास्युटिकल्समा अहिले २१० जना कर्मचारी छन् । मारुतीका प्रबन्ध निर्देशक प्रभातकाअनुसार उद्योगमा अहिलेसम्म ४५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । समग्रको उद्योगको सम्पत्ति अर्बमाथि छ ।

परिवारको परम्परागत बिजनेश सम्हाल्न औषधी पसलमा बस्ने क्रममा तन्नेरी प्रभातको दिमागको मारुती खोल्ने आइडिया फुरेको हो । उनका हजुरबुवाले वीरगन्जमा ८५ वर्षअघि भवानी मेडिकल हल संचालनमा ल्याएका थिए । अहिले ८५ वर्षपछि पनि वीरगन्जको त्यही ठाउँमा त्यो भवानी मेडिकल कलेज चलि नै रहेको छ । अहिले प्रभातका बुवा वासुदेव रुंगटाले त्यो मेडिकल हल चलाउँछन् । वासुदेवका तीन छोरा र एक छोरीमध्येमा प्रभात जेठा हुन् ।

प्रभात रुंगटा

व्यापारिक परिवारमा जन्मिएका प्रभातको स्कुलिङ काठमाडौंको सेफर्ड इन्टरनेशनल स्कुलबाट भएको हो । त्यसपछि थप पढाइका लागि भारत गए । पढाइ सकिएपछि सन् २००५ मा भारतकै ग्लेनमार्क फर्मास्युटिकल्समा उनी जागिर गर्न थाले । मार्केटिङमा एमबीए गरेका प्रभातले त्यो कम्पनीमा मार्केटिङ एण्ड रिसर्चमा काम गर्न थाले । ग्लेनमार्कमा झण्डै डेढ वर्ष जागिर गर्दा मध्य तराईको अवस्था खराब थियो । गोली हान्ने, बम पड्काउनेजस्ता गतिविधी भइरहेका थिए । भाइहरु पनि पढिरहेका बेला प्रभातलाई फर्केर बुवालाई सहयोग गर्नुपर्ने अवस्था आइलाग्यो । उनी वीरगन्ज फर्केर आफ्नो पुस्तौनी व्यवसायमा बुवालाई सघाउन थाले ।

‘बुवा हुँदा सेल्स सय रुपैयाँ हुन्थ्यो । बुवा नहुँदा, कतै बाहिर जाँदा म बस्थे, सेल ३० रुपैयाँ पुग्ने,’ प्रभात सम्झन्छन्, ‘गुडविल त त्यहाँ रहेछ । पसल भनेको गुडविल बिक्ने रहेछ ।’ त्यही घटनाले प्रभातको जीवनमा नयाँ सम्भावना खोज्ने चुनौती थपिदियो । उनको मनमा व्यक्तिको गुडविल होइन् प्रडक्टको गुडविल बिक्ने उद्यमको विचार बयेली खेल्न थाल्यो । ‘ग्लेनमार्क डर्मामा मात्रै फोकस भएर काम गरेको फर्मा कम्पनीमा काम गरेको अनुभव थियो । त्यो बेला नेपालमा ५२—५३ वटा औषधी उधोगहरु थिए,’ प्रभात थप्छन्, ‘तर, सोलो डर्मामा काम गर्ने कोही थिएन् ।’ त्यही ग्यापलाई उनले सम्भावनाका ठहर्‍याए ।

आफूले पहिल्याएको त्यो सम्भावानको सुत्र उनले नजिकका मानिसहरुलाई सुनाए । धेरैले भने, ‘डर्माले मात्रै तँलाई डुबाउँछ ।’ तर, आफ्नो उद्देश्यमा एकाग्र र कन्भिन्स प्रभात आफ्नो योजनाबाट पछि हटेनन् । उनीसँग खगेन्द्र गुरागाईं, प्रवीण जोशी, अशोक अग्रवाल, प्रकाश जलानसँगै वीरगन्जका थप तीन जना साथीहरुको टिम बन्यो । सबै फर्मामा बेग्लै इतिहास बनाएकाहरु सामूहिक प्रयत्नमा डर्मामै केन्द्रीत फर्मास्युटिकल्स कम्पनी स्थापना गर्न तम्सिए ।

परिणाम वि.सं. २०६८ सालमा पर्साको परवानीपुरमा मुलुककै पहिलो डर्मा केन्द्रीत मारुती फर्मास्युटिकल्स स्थापना भयो । १० कठ्ठा जग्गामा १२ करोड लगानीमा सुरु भएको मारुतीमा २० जना कर्मचारी थिए । ‘वीरगन्जबाट यति नजिक भएपनि बाटो नहुँदा हामीले यहाँ ३ लाख रुपैयाँ कठ्ठा जग्गा किनेका थियौं,’ प्रभात १२ वर्षअघि फर्कन्छन्, ‘अहिले त त्यो मुल्यमा एक धुर पनि पाइदैंन् ।’

तीन वटा प्रडक्टहरु उत्पादनबाट सुरु भएको मारुती फर्माका सुरुवातीहरु वर्षहरु निकै संघर्षपूर्ण रहेको प्रभात बताउँछन् । पहिलो पटक ३० भदौं २०६९ मा टर्फिन, कस्मोलाइट, कस्मोलाइट—एस मारुती फर्माले बजारमा पठाएको हो । संघर्षका दिनहरु गुन लगाउनेहरुमध्ये पूर्व स्वास्थ्य सचिव स्वर्गीय प्रवीण मिश्र गुन उनी कहिल्यै भुल्दैनन् । भन्छन्, ‘मलाई यो उद्यममा उकास्न उहाँको ठूलो सहयोग छ ।’ औषधी व्यवस्था विभागमा महिनौं फाइल रोकिने समस्या थियो, जसका कारण डर्माका औषधीहरु बजारमा नपुग्दैं डेट एक्स्पायर हुने सम्भावना थियो । मिश्रले डर्माका औषधी परीक्षणमा रहेको यो छेकबारलाई हटाइदिए ।

तेस्रो वर्षमा मारुती फर्माले १० वटा प्रडक्टहरु उत्पादन गर्न थाल्यो । त्यही बेला वीरगन्जमा भइरहेको डर्माको कन्फ्ररेन्स मौका छोपेर त्यहाँ आएका चिकित्सकहरुलाई प्रभातले फ्याक्टीमा ल्याएर लन्च गराए । ‘डर्माका औषधीमात्रै बनाउने उधोग उहाँहरुले प्रत्यक्ष हेर्नुभयो । उधोग हेरेपछि चिकित्सकहरुको कन्फिडेन्ट लेभल बढ्यो,’ प्रभात भन्छन्, ‘डाक्टहरुको विश्वास जित्न सफल भयौं । उहाँहरुले पनि हाम्रा औषधीहरु लेख्न थाल्नुभयो ।’

पाँच वर्षमा मारुती फर्मा नेपालको नम्बर वान डर्मा फर्मास्युटिकल्समा दरिन पुग्यो । ‘ग्लेनमार्कलाई पनि पछाडि छोड्यौं,’ उनले भने, ‘हामीले वाइड रेन्जअफ प्रडक्ट लिएर आयौं ।’ मारुती फर्माले पाँच वर्षमा झण्डै ६० वटा प्रडक्ट बजारमा पठाएर तहल्का मच्चायो । मान्छेहरुले सोचेकै थिएनन कि डर्मा उधोग यति ठूलो हुन्छ तर प्रभात र उनको टिमले असम्भव लाग्ने चीज गरेर सबैलाई चकित बनाइदियो । ‘आज पनि हामीलाई कसैले चिन्ने भनेको डर्माबाटै हो,’ उनले भने ।

वि.सं. २०७५/०७६ देखि नयाँ उधोगहरुले पनि स्कीनका प्रडक्टहरु ल्याउन थाले । ट्याब्लेट क्याप्सुल ल्याउँदा ९ महिनादेखि एक वर्षसम्म प्रक्रियागत कुराहरुलाई खर्चनुपर्ने तर स्कीनका मलमहरुमा आज अनुमति लिन जाँदा भोलि पाइने भएपछि धेरैले मलमलगायतका प्रडक्टहरुमा बनाउन थालेको प्रभात बताउँछन् । यही नियमका कारण नयाँ आउने सबैजसो उधोगले डर्मा प्रडक्टहरु ल्याए, जसका कारण बजारमा एकदम प्रतिस्पर्धा सुरु भयो ।

अरु फर्मास्युटिकल्स कम्पनीहरु डर्माका उत्पादन ल्याएपछि मारुतीले पनि फ्याक्टीमाथि अर्को तला थपेर ट्याब्लेटको सेगमेन्ट खडा गर्‍यो । पछिल्ला पाँच वर्षदेखि मारुतीले ट्याब्लेट पनि उत्पादन गरिरहेको छ । ‘तर, यसमा हामीले त्यति राम्रो गर्न सकिरहेका छैनौ । हाम्रो पहिचान र चिनाउने ब्रेन बटन भनेकै डर्मा हो,’ प्रभातले सुनाए । मारुतीले अहिले डर्माका ७२ वटा प्रडक्टहरु उत्पादन गरिरहेको छ । ट्याब्लेटमा ३० वटा प्रडक्ट र अन्य जनरल सेग्मेन्टमा १२ वटा प्रडक्ट छन् । त्यसबाहेक केही प्रडक्टहरु थप्ने सुरसार अगाडि बढिरहेको छ ।

‘औषधी उधोग भनेकै प्रत्येक वर्ष केही न केही एक्स्पान्स गर्नु नै पर्छ,’ प्रभात भन्छन्, ‘एक दुई वटा मेसिन थपिरहनुभएको छैन भने सोच्नुहोस्, युआर डाइङ । तपाई मर्नतिर जाँदैं हुनुहुन्छ । जुन दिन कन्स्ट्रक्सन रोकियो त्यो दिन औषधी उधोग बन्द भयो । त्यो उधोगको डिक्लाइन फेज आयो ।’ उनकाअनुसार आजको दिनमा कुनै औषधी उधोगसँग १२० प्रडक्ट छन् भने तीमध्ये २०—३० वटा प्रडक्ट बजारमा नचल्ने हुन्छन् । ‘आउटडेटेड हुँदैं जान्छ र नयाँ २० वटा ल्याउनैपर्छ,’ उनले कारण खोले, ‘तर, ती प्रडक्ट केही समयसम्म छोड्न नसकिने हुन्छन् ।’

२१० जना कर्मचारी रहेको मारुतीमा ४५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । प्रभात अबको एक दुई वर्ष एग्रेसिभ नहुने, भएका कर्मचारी तलब भत्ता समयमा खुवाउने र आफ्नो र्यापुटेसन जोगाएर राख्नेमै केन्द्रीत हुने योजनामा छन् । उनका विचारमा औषधी उधोग भनेको डिपेन्डेन्ट उधोग हो । किनभने, औषधी लेख्नका लागि डाक्टरमाथि, बेच्नका लागि पसल र एमआरमाथि, लाइसेन्स लिन औषधी व्यवस्था विभागमाथि, प्रडक्ट बनाउन फर्मासिस्टमाथि डिपेन्डेन्ट हुनुपर्छ ।

४४ वर्षीय प्रभात अहिले पनि बजारमा निकै सक्रिय रहन्छन् । सधैंजसो देश–विदेश चहारिरहने उनी साँझपख समय पाउने बितिकै औषधी पसलहरुमा पुगिहाल्छन् । ‘डन्ट माइन्ड इफ आई सिट हेयर टु आवर भनेर औषधी पसमा बस्छु, त्यहाँ बसेर अवलोकन गर्छु,’ उनी भन्छन्, ‘के बिक्दैंछ, कसको प्रेस्क्रीप्सन आयो, कस्ता औषधी छन्, हेर्छ ।’ कतिसम्म भने उनी विदेशबाट फर्केर आउँदा लुगा सपिङ गर्दैनन्, प्रभातको सपिङ भनेको औषधीको सपिङ हुन्छ । विदेशबाट फर्किदा उनको झोलाभरी औषधी हुन्छन् । नेपाल फर्केपछि कम्पनीका साथीहरुलाई त्यो औषधी बाँड्छन् र नयाँ सम्भावनाहरु खोज्छन् । यही खोज्ने बानीले नै मारुतीलाई पछिल्ला १२ वर्षमा नेपालको नम्बर वान डर्मा प्रडक्ट उत्पादन गर्ने कम्पनी बनाएको छ ।


क्याटेगोरी : मेरो स्टार्टअप



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ