स्रोहखुट्टे चोक नजिकै छ—१५ शय्याको अत्याधुनिक बुटिक शैलीको एरा इन्टरनेशनल अस्पताल । ट्राभल मेडिसिन प्रायक्टिस गर्ने यो अस्पताल विदेशी पर्यटकलाई सेवा दिने अस्पताल हो । तर, एरा इन्टरनेशनल अस्पतालमा आउने स्वदेशी बिरामीहरुले निःशुल्क स्वास्थ्य सेवा पाउँछन् । ट्राभल मेडिसिनमा कहलिएको यो अस्पतालले आफ्नो क्षेत्रमा छुट्टै पहिचान बनाएको छ ।
नेपालका अन्य अस्पतालहरुभन्दा फरक एरा इन्टरनेशनल अस्पतालको एउटा बेग्लै पहिचान छ । त्यो हो— यो अस्पतालको सम्पूर्ण कार्यसञ्चालन महिला कर्मचारी नै गर्छन् । अस्पतालको मेडिकल निर्देशकदेखि हाउस किपिङसम्मका सबै विभागको लिड रोल र अन्य कर्मचारीमा ‘वुमन स्क्वायड’ नै सक्रिय छ । ‘महिलाहरुलाई क्षमता प्रस्फुटन गर्न दिनुपर्छ भन्ने सोचले काम गरेका छौं,’ अस्पतालका अध्यक्ष भानु ढकाल भन्छन्, ‘महिलाहरुको क्षमतामाथि विश्वास नगर्ने समाजका लागि यो नमुना हो । हामीले आधा आकाश र आधा धर्ति ढाक्ने महिलाहरुलाई नै सम्पूर्ण अस्पताल सञ्चालनको जिम्मेवारी सुम्पेका छौं ।’ ढकालले अस्पतालमा गरिरहेको यो प्रयोग नेपालमै नौलो र फरक हो ।
वि.सं. २०७८ सालमा ढकालले अस्पतालको नेतृत्व लिएपछि पूर्णतयाः महिला कर्मचारीकै भरमा सञ्चालन गर्ने योजना अगाडि बढाए । ‘मेरो पहिलेदेखिकै सोच महिलाहरुलाई स्वालम्बी बनाउन सहयोग गर्ने र प्रायोरिटी दिने हो,’ उनी कारण खोल्छन्, ‘उहाँहरुको कार्यसम्पादन उत्कृष्ट छ, काममा अनुशासन र एकाग्रता छ ।’ परिणाम नै मान्नुपर्छ— एरा इन्टरनेशल हस्पिटलमा पाँच वर्ष नपुग्दैं ९५ प्रतिशत महिला कर्मचारी छन् । ७१ जना पूर्णकालीन कर्मचारीमध्ये ६७ जना महिला कर्मचारी रहेको ढकालले जानकारी दिए । पार्टटाइमसमेत गरी अस्पतालमा रहेका ११० जना कर्मचारीमध्येमा सबैजसो महिला नै छन् । चिकित्सकीय टिम, नर्सिङ टिम, पारामेडिक्स, फार्मेसी, प्रयोगशाला, रेडियोलोजी, आईपीएस, फाइनान्सदेखि हाउस किपिङ विभागसम्मका विभागीय प्रमुखदेखि सबै कर्मचारी महिला नै छन् ।

अस्पतालको मेडिकल निर्देशकका रुपमा इमडिजिपी चिकित्सक डा. सुरक्षा बाँस्कोटाले समग्र अस्पतालको कमाण्ड गरिरहेकी छन् । नर्सिङको विभागीय प्रमुखमा नगिना शाक्य छन् भने रेडियोलोजीको कमाण्ड मुनासिंह ठकुरीको काँधमा छ । प्रयोगशाला करिशा आलेमगर, फाइनान्स मल्लिका तामाङ, आईपीएस संचिता गुरुङ, विलिङमा सपना पुडासैनी, फार्मेसी प्रजिता आलेमगरले विभागीय नेतृत्व सम्हाल्छन् । अस्पतालमा महिला र जनजाति कर्मचारीलाई बढी प्राथमिकता दिइएको ढकाल बताउँछन् । एरामा चालक दुई जना, सुरक्षा गार्ड दुई जनामात्रै पुरुष छन् भने व्यवस्थापन टिममा अध्यक्ष ढकालसहित चार जना पुरुष छन् । ‘अरु सबैजना लेडिज नै हुनुहुन्छ, म त थपना मात्रै हुँ,’ उनले भने, ‘उहाँहरुले उत्कृष्ट तवरमा अस्पताल सञ्चालन गरिरहनुभएको छ ।’
एक वर्षयता समग्र अस्पतालको नेतृत्व गरिरहेकी अस्पतालकी मेडिकल निर्देशक डा. सुरक्षा बाँस्कोटाको नेतृत्वमा १६ जनाको चिकित्सक टिम मात्रै काम गर्छ । त्यसबाहेक उनी अस्पतालको सबै मेडिकल टिमलाई नेतृत्व गर्छिन् । अन्तरंग, बहिरंग, इमर्जेन्सी, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी, जनरल मेडिसिन, कार्डियो, अर्थोपेडिक्स, माइनर सर्जरी, पोष्ट अपरेटिभ, फिजियोथेरापी र रिह्याबिलिटेसनलगायतका सबै सेवाहरु अस्पतालमा उपलब्ध रहेको डा. सुरक्षाले बताइन् । ‘सबै विधाका कन्सल्ट्यान्ट हुनुहुन्छ,’ उनी भन्छिन्, ‘जनरल सेवा २४ सैं घण्टा उपलब्ध छ, स्पेशलाइज्ड सर्विस बिरामीको आवश्यकताअनुसार दिन्छौं ।’ ट्राभल मेडिसिन अस्पताल भएकाले एराले धेरैजसो टुरिष्टहरुलाई स्वास्थ्य सेवा प्रदान गर्छ ।

९५ प्रतिशत महिला कर्मचारी काम गर्ने अस्पतालमा डा. सुरक्षालाई कस्तो अनुभव हुन्छ । भन्छिन्, ‘महिला र पुरुष छुट्याएर काम गरिदैन् । तर, हामी धेरैजसो महिला नै छौं । काममा महिला र पुरुषको फरकपन मैले महसुस गरेको छैन ।’ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)की उत्पादन उनले यसअघि दमक अस्पतालको नेतृत्व समेत गरिसकेकी छन् । त्यही कारण मानव संशाधन परिचालन, अस्पतालको चुस्तता, सरसफाइलगायत अस्पताल व्यवस्थापनका कार्यमा अहिले उनी पारंगत भइसकेकी छन् ।
अन्य ठाउँभन्दा फरक महिला—महिला भएकाले कुराकानी गर्न सहज हुने अनुभव डा. सुरक्षाको छ । त्यसबाहेक अरु कामहरुमा उनले खासै फरक देखेकी छैनन् । ‘बरु मलाई महिलाहरु पुरुषभन्दा काममा बढी सिन्सीयर लागे,’ उनले थपिन्, ‘क्षमताका हिसाबले पनि महिलाहरु पुरुषजतिकै सक्षम छन् ।’ उनकाअनुसार नेपाली समाजमा केटाकेटी छुट्टयाउने भएपनि विदेशीहरुमा त्यो हुँदैन् । ‘क्वालिफिकेसनले चुनौतीहरुसँग डट्न सहयोग गर्ने रहेछ,’ उनले अनुभव सेयर गरिन् ।

एराकी नर्सिङ इन्चार्ज हुन्, नगिना शाक्य । डेढ वर्षदेखि एरामा नर्सिङ विभागको नेतृत्व गरिरहेकी उनी महिला टिमसँग काम गर्न पाउँदा गौरवको अनुभूति हुने बताउँछिन् । ‘९० प्रतिशत महिला सहकर्मीहरुसँग काम गर्न पाउँदा गौरव लाग्छ,’ नगिना भन्छिन्, ‘यो वुमन इम्पावरमेन्टको नमुना हो । पुरुष र महिला काम गर्दा खासै फरक छैन । तर, हस्पिटलले वुमन इम्पावरमेन्टमा देखाइरहेको तदारुकता निकै प्रशंसनीय छ ।’
एराअघि उनले ग्राण्डी सिटी अस्पतालमा साढे पाँच वर्ष बिरामी सेवामा बिताइन् । ग्राण्डी सिटी र एरामा काम गर्दा के फरक छ ? भन्छिन्, ‘हाम्रो यो सानो हस्पिटल भएपनि वेल इक्वीपट छ, टिमवर्क छ,’ उनले भनिन्, ‘यहाँ इन्टरनेशनल बिरामीहरु बढी हुन्छन् । उता नेपाली बिरामी बढी हुन्थे ।’ उनले अहिलेसम्म गाह्रो साह्रोमा पुरुष सहकर्मीको अभाव महसुस नगरेको बताइन् ।
एराले विदेशी स्ट्याण्डर्डमा तीन सिफ्टमा कर्मचारीहरुलाई काम गराउँदैं आएको छ । मर्निङ सिफ्ट, डे सिफ्ट र नाइट सिफ्टमा वर्किङ आवरका आधारमा पारिश्रमिकको व्यवस्था गरिएको छ ।
वुमन इम्पावरमेन्ट जोड दिइरहेको एरा हस्पिटलको आधार वि.सं. २०७३ सालको महाभूकम्पपछि चार जना साथीहरु मिलेर सञ्चालनमा ल्याएको ‘एरा हेल्थ सेन्टर’ हो । झण्डै ५—६ करोड लगानीमा एक घरमा १८ जना कर्मचारीबाट एराको यात्रा क्लिनिकका रुपमा अगाडि बढेको थियो । पर्याप्त पूर्वाधार अभाव, सानो टिमलगायतका कारण त्यो बेला एरामा बिरामीको संख्या पनि न्यून थियो ।

तर, व्यवस्थापनको निरन्तरको मेहनत र मेडिकल टिमले उत्कृष्ट प्रयासका कारण बिरामी संख्या बढ्दैं गएपछि क्रमसः एरा व्यवस्थापनले पूर्वाधार र उपकरणमा लगानी बढाउँदैं गयो । जसका कारण वि.सं. २०७८ सालमा ‘एरा हेल्थ सेन्टर’बाट ‘एरा इन्टरनेशनल हस्पिटल’मा रुपान्तरित भयो । ‘नयाँ पूर्वाधार र उपकरण थपेर १५ शय्याको अस्पतालका रुपमा एरा इन्टरनेशनल हस्पिटल सुरु गर्यौं,’ अस्पतालका अध्यक्ष भानु ढकाल सम्झन्छन्, ‘यो अस्पतालको त्यो एउटा कोशेढुंगा हो ।’
त्यही बेला कोभिड—१९ महामारी सुरु भएपछि अस्पतालले निःशुल्क कोभिड—१९ का बिरामीहरुको उपचार गरेको उनले बताए । ‘चिकित्सक, नर्स र पारामेडिक्सको टिमलाई अस्पतालमै खाने र बस्ने व्यवस्था गरेर हामीले निःशुल्क सयौं कोभिड संक्रमित उपचार गर्यौं,’ उनले भने । अस्पतालले भ्याक्सिनेसन, रक्तदानलगायतका कामहरु पनि नियमित गर्दै आएको छ । अहिले विदेशी पर्यटकलाई लक्षित गरेर सेवा प्रवाह गरिरहेको अस्पतालको लगानी नै १५ करोडमाथि पुगेको छ भने वर्षेनी झण्डै एक हजार हाराहारी बिरामीलाई सेवा दिदैं आएको छ । उपकरणमा पनि अस्पतालले ठूलो लगानी गरिरहेको छ ।

झण्डै १० वर्षको अस्पताल सञ्चालनको अनुभवसहित एरा व्यवस्थापनले अब अस्पतालाई निकट भविष्यमै नयाँ ढंगले अगाडि बढाउने योजना बनाएको छ । ‘निकट भविष्यमै यसलाई हामी उत्कृष्ट उपचार केन्द्रका रुपमा विकास गर्दैछौं,’ अध्यक्ष ढकालले भावि योजना सुनाए, ‘राजधानीको मुटुमा रहेको बालुवाटारमा तीन रोपनी क्षेत्रफलमा अस्पताल निर्माणको काम सुरु भइसकेको छ । आफ्नै आईसीयु सेटअप, शल्यक्रिया कक्ष, अत्याधुनिक रेडियोलोजी र प्रयोगशाला विभागसहित स्वदेशी तथा विदेशी बिरामीका लागि नेपालमै सबै उत्कृष्ट स्वास्थ्य सेवा पाउने सेन्टर बनाउँदैंछौं,’ उनले भने, ‘किमोथेरापी, आईभीएफ प्रविधी, डायलाइसिसलगायतका सबैजसो सेवा नयाँ प्रविधीसहित ल्याउँछौं ।’



अस्पतालका अध्यक्ष भानु ढकाल
अस्पतालकी मेडिकल निर्देशक डा. सुरक्षा बाँस्कोटा
अस्पतालको आर्थिक विभाग प्रमुख मल्लिका तामाङ
