२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपनर्सिङ कलेजको व्यवसायबाट चम्केका रामपृत

नर्सिङ कलेजको व्यवसायबाट चम्केका रामपृत

१७ वर्षअघि डेढ करोड रुपैयाँ लगानी गरेर थालेको व्यवसायबाट जोडे अर्ब बढी सम्पत्ति


१७ वर्षअघि पढाइ सकिएपछि सिरहाका रामपृत यादव टेक्नीकल एजुकेशनमा केही गर्न चाहन्थे । विज्ञानका स्नातकोत्तर गरेका उनी शिक्षाकै क्षेत्रमा आफ्नै गृहजिल्लामा फरक गर्न चाहन्थे । त्यही कारण सिरहामै उनले टेक्नीकल कलेज संचालन गर्ने सोच बनाए । त्यही सोचले अहिले रामपृतलाई नाम र दाम दुवै दिएको छ ।

सुरुवाती दिनमा रामपृतको कलेज खोल्ने सपनामा उनका एक जना साथी जोडिए । वि.सं. २०६४ सालमा उनीहरुले झण्डै डेढ करोड लगानीमा लहानमा ‘लहान सगरमाथा एजुकेशनल एकेडेमी’ स्थापना गरे । ‘लहानमा पनि मेरो घर भएकाले सामाजिक सेवामा पनि संलग्न थिए,’ नवराजपुरका स्थानीय रामपृत सुनाउँछन्, ‘त्यही व्यवसाय गर्ने सोच बनाए ।’ उनको मेहनत नर्सिङ कलेजमा देखिन थाल्यो र त्यसले निरन्तर प्रतिफल दिदैं गयो ।

एक दिन उनका फुपाजुले पीसीएल नर्सिङको अध्यापनमात्रै सिमित नरहन सुझाए । उनका फुपाजुको सुझाव नर्सिङका स्नातक तहका कार्यक्रम पढाउने कलेज सुरु गर्न थियो । त्यसपछि रामपृत बीएस्सी र बीएन नर्सिङका कार्यक्रम अध्यापन गराउने शैक्षिक संस्था खोल्ने योजनामा जुटे । त्यसका लागि पार्टनरसीपमा रहेको ‘लहान सगरमाथा एजुकेशनल एकेडेमी’ २ करोड ४० लाख रुपैयाँ बेचे । जसमध्ये ५० प्रतिशत सेयर उनको भएकाले १ करोड २० लाख रुपैयाँ पाए ।

कलेज बेचेर पाएको रकम लगानी गरेर रामपृतले धनुषाको बह्रमपुरीमा कृष्णा मेडिकल एण्ड टेक्नीकल रिसर्च सेन्टर (केएमटीआरसी) स्थापना गरे । पूर्वाञ्चल विश्वविद्यालयबाट बीएस्सी नर्सिङको सम्बन्धन लिए । ‘०६९ देखि मैले जनकपुरमा बीएस्सी नर्सिङ पढाउन सुरु गरे,’ रामपृत भन्छन्, ‘जनकपुर अञ्चल अस्पतालसँग सम्झौता गरेर यो कार्यक्रम सुरु गरे ।’

चिकित्सा शिक्षा ऐन आएपछि नर्सिङ अध्यापन गराउने शैक्षिक संस्थाहरुको १०० शैय्याको अस्पताल हुनुपर्ने व्यवस्था लागु भयो । जसका कारण आफ्नै अस्पताल नभएका कारण कृष्णा नर्सिङ कलेज दुई वर्ष बन्द भयो । त्यसपछि उनले दुई वर्षअघि जानकी मेडिकल कलेजको ३ सय ५० शैय्याको अस्पताल किनेर पुनः कलेज सुचारु गरे ।

जनकपुरमा नर्सिङ स्नातक पढाउनका लागि त्यतिबेला निकै गाह्रो थियो ।’ तर, उनको सकारात्मक पहलकदमीले विस्तारै त्यो ट्रेण्ड परिवर्तन हुँदैं गयो । अहिले त कलेजमा तीन दिनमै सबै सिट प्याक हुने अवस्था सिर्जना भएको रामपृत बताउँछन् । अहिले कृष्णाले बीएस्सीसँगै बीएन कार्यक्रम पनि चलाइरहेको छ । ‘अहिले हामीले १२ औं ब्याच पढाइरहेका छौं,’ कलेजका अध्यक्षसमेत रहेका रामपृत भन्छन्, ‘अहिले १ सय २० जना नर्सिङका विद्यार्थी छन् ।’ उनको कलेजमा पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्म मात्रै होइन् काठमाडौं उपत्यकाका विद्यार्थीहरु पनि छन् ।

३ सय ५० शैय्याको अस्पताल खरिद गरेकाले कृष्णासँग त्यही क्षमताको अस्पताल संचालन गर्ने भौतिक पूर्वाधार र उपकरणहरु पनि छन् । तर, अहिले १०० शैय्याको अस्पताल मात्रै संचालनमा छ । अस्पतालमा न्यूरो सर्जरी, नेफ्राका विशिष्टीकृतलगायतका सबै सेवा अस्पतालमा उपलब्ध रहेको उनले सुनाए । ‘बिरामीले अहिले नेफ्रो, न्युरोलगायतका सेवाका लागि धरान र काठमाडौं जानुपर्ने अवस्था छैन्,’ उनले भने, ‘निकट भविष्यमै मुटु सम्बन्धि जटिल शल्यक्रिया सेवा जनकपुरमै उपलब्ध गराउने गरी क्याथ ल्याब संचालन गर्ने योजना छ ।’

कृष्णा मेडिकल एण्ड टेक्नीकल रिसर्च सेन्टरमा नर्सिङका ब्याचलरका दुई कार्यक्रम चलिरहेका छन् भने डिप्लोमा तर्फ ४ वटा र ब्याचलरतर्फ २ वटा कार्यक्रम थप्ने योजना रामपृतको छ । त्यसबाहेक बीपीएच, बी फर्मा पनि आउँदो वर्षदेखि चलाउने योजना रहेको उनले सुनाए । ‘अहिले सरकारले पिसिएल र स्नातक कार्यक्रमसँगै चलाउन दिने निर्णय गरेको छ,’ उनले भने, ‘पीसीएल नर्सिङ, एचएच, अप्थाल्मोलोजी, बी फर्माको कार्यक्रमका लागि पनि आवेदन दिइसकेको छु ।’

कृष्णा मेडिकल एण्ड टेक्नीकल रिसर्च सेन्टर १० कठ्ठा क्षेत्रफलमा फैलिएको छ । अहिले उनको शैक्षिक संस्था मात्रै फेरिएको छैन उनको सफलताको दायरा पनि उकालो चढिरहेको छ । ‘अहिले झण्डै १ अर्ब माथिको सम्पत्ति छ,’ रामपृत भन्छन् । उनको अस्पताल र कलेजमा गरी १ सयभन्दा बढी कर्मचारी कार्यरत रहेको उनले बताए ।

चिकित्सा जनशक्ति उत्पादनमा विगत १७ वर्षदेखि जुटिरहेका रामपृतलाई यो व्यवसायमा कस्तो अनुभति गराइरेको छ । ‘चिकित्सा क्षेत्र भनेको जनताले पाउनुपर्ने अधिकारमध्येको क्षेत्र हो । सरकारी तवरबाटैं सबै नागरिकले चिकित्सा सेवा पाउन मुश्किल छ । निजी क्षेत्रले सेवा नदिने हो भने नेपालको अवस्था गम्भीर हुन्छ,’ उनले सुनाए, ‘अहिले शिक्षातर्फ वार्षिक ४ अर्ब जति रुपैयाँ अहिले पनि पढाइका लागि बाहिर गइरहेको छ । यो हामीले बचाउन सक्छौं ।’ नर्सिङतर्फ पनि थुप्रैले सिट नपाउँदा बाहिर जानु परिरहेकाले कलेज र सिट संख्या बढाउनुपर्नेमा उनले जोड दिए । उपचारतर्फ ठूलो रकम विदेशिइरहेको उल्लेख गर्दै उनले त्यो रकम नेपालमै रोक्ने सकिने बताए ।

अझ जनकपुर स्वास्थ्य सेवामा पछि परेको अनुभव रामपृत गरेका छन् । अहिले नेफ्रो, न्यूरो, डाइलाइसिसलगायतका सेवा उपलब्ध गराइरहेका उनले त्यही कारण भविष्यमा क्याथ ल्याब ल्याउने तयारी गरेका हुन् । ‘क्याथ ल्याब पनि ल्याउँदैंछु, दुई महिनाभित्र हामी मुटुको शल्यक्रिया सेवा सुरु गर्छौ,’ उनले भने, ‘मधेश प्रदेशको ३४ लाख जनसंख्यामा हालसम्म एउटा पनि क्याथ ल्याब छैन । म प्रयास गर्दैछु, यो सबै गर्न सकियो भने जनतालाई सहज हुनेछ ।’ काठमाडौं, धरान, विराटनगर वा भारत जाँदा लाग्ने खर्चले जनकपुरमै उपचार गर्न खर्च पुग्ने दावी उनले गरे ।

को हुन् रामपृत ?

रामपृतको जन्म सिरहाको नवराजपुर—४ मा भएको हो । उनको प्रारम्भिक शिक्षादीक्षा गाउँकै स्थानीय स्कुलबाट अगाडि बढेको हो । गाउँकै श्री जनता माध्यमिक विद्यालय सोनवर्षामा उनले कक्षा ७ सम्म अध्ययन गरे ।

त्यसपछि कक्षा १० सम्मको पढाइ श्री वस्तीपुर मावि वस्तीपुरबाट पूरा गरेका हुन् । वि.सं. २०४२ सालमा उनले वस्तीपुर माविबाटै एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनी उच्च शिक्षाका लागि सिरहा क्याम्पस गए । वि.सं. २०४५ सालमा सिरहा क्याम्पसबाट आईएस्सी उत्तीर्ण गरे ।

भारतको मधुबनीबाट सन् १९९३ सालमा बीएस्सी गरेका उनले राजविराजस्थित महेन्द्रविन्देश्वरी क्याम्पसबाट एमएस्सी गरेका छन् । उनले भारतको राजस्थानबाट एमपीएच समेत गरेका छन् ।


क्याटेगोरी : मेरो स्टार्टअप



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ