२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपतीन जना महिला उद्यमीले संचालनमा ल्याएको एन्जल फर्टिलिटी

तीन जना महिला उद्यमीले संचालनमा ल्याएको एन्जल फर्टिलिटी


महाराजगन्जस्थित एक अत्याधुनिक भवनको तेस्रो तलाको ३ हजार ५ सय स्क्वायर फिट क्षेत्रफलमा मोर्डन सेटअपसहित सन् २०२१ मा तीन जना उद्यमी महिला मिलेर संचालनमा ल्याएका हुन्—एन्जल फर्टिलिटी क्लिनिक । आधुनिक संरचनामा जटिल आईभीएफ केसहरुको उपचार, जेनेटिक अध्ययन र प्राइभेसीजस्ता कुराहरुलाई ध्यान दिदैं यो फर्टिलिटी क्लिनिक संचालनमा ल्याइएको हो ।

हुनत एन्जलको टिमको यो फर्टिलिटी क्लिनिक पहिलो होइन् । १३ वर्षअघि ललितपुरको बयोधा हस्पिटलमा आर्शिवाद आईभीएफबाट उनीहरुको यात्रा सुरु भएको हो । जुन सन् २०१५ मा निदान हस्पिटल रहेको भवनमा सरेपछि नाम बदलिएर ‘माया आईभीएफ’ बन्यो (माया हाल कुपण्डोलस्थित आफ्नै भवनमा सरिसकेको छ) । कन्सल्ट्यान्ट स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रश्मी श्रीस र डा. मीरा थापा मायामा थिए । सन् २०१५ मैं त्यही टिममा जोडिइन्—प्रीति विष्ट ।

त्यसभन्दा अघि प्रीतिले दुई वर्ष विदेशी कम्पनीमा रहेर अनुभव हासिल गरिसकेकी थिइन् । आईभीएफ केसहरु किन फेल हुन्छ भन्ने विषय यो टिमको निगरानीमा थियो । उनीहरुले आईभीएफ फेल हुनुमा जेनेटिक कारणहरु खुट्याए । त्यसबाहेक प्रजनन स्वास्थ्यका अन्य विभिन्न कारणले पनि दम्पत्ति निःसन्तान भइरहेको यथार्थतताबाट उनीहरु टाढा थिएनन् ।

चार—पाँच पटक प्रेगनेन्सी फेल भएका बिरामीहरुलाई विशेष उपचार आवश्यकता पथ्र्यो । ‘उहाँहरु भावनात्मक रुपमा कमजोर हुनुहुन्छ । उहाँहरुलाई एटेन्सन, टाइम धेरै चाहिने हुन्छ । उहाँहरुको केस हामीले एउटा—एउटा केलाएर हेर्नुपर्छ,’ एन्जलकी निर्देशकसमेत रहेकी सिनियर क्लिनिकल इम्ब्रोलोजिष्ट प्रीति भन्छिन्, ‘४०—५० वटा बिरामी प्रतिदिन आउने ठाउँमा १०—१५ मिनेटमात्रै दिन सकिन्छ । जनरल इनफर्टिलिटी केस हेरिरहेको ठाउँमा एडभान्स इनफर्टिलिटी केसहरु हेर्न अलि गाह्रो हुन्छ ।’ त्यसबाहेक विदेशमा बढ्दो नेपालीको जनसंख्याले स्वदेशमा स्ट्याण्डर्ड हेल्थकेयर र हाइप्रोफाइलहरुले प्राइभेसी खोजिरहेका थिए ।

यी सबै समस्याहरु कोभिड—१९ का बेला माया फर्टिलिटीमा काम गर्दा खुट्याएपछि डा. रश्मी, डा. मीरा र प्रीतिले एडभान्स रिप्रडक्टीभ सेन्टर खोल्ने योजना बनाए, जहाँ यी सबै समस्याहरु समाधान गरिएको होस् । ‘सबैलाई एउटै ठाउँमा राखेर सर्विस प्रोभाइडर गर्न गाह्रो थियो,’ प्रीति नयाँ सेन्टरको आवश्यकताबारे भन्छिन्, ‘जेनेटिक सेन्टर मिक्स नगर्ने र एक्स्ट्रा केयर दिनुपर्ने बिरामीलाई उपचार दिने गरी नयाँ सेन्टर स्थापना गर्ने योजना बन्यो ।’

स्पेशलाइज्ड केसहरुलाई उपचार गर्ने योजनाकाबीच लकडाउनकैबीच महाराजगन्जमा सेन्टरका लागि राम्रो ठाउँ भाडामा पाए । त्यसपछि उनीहरुको टिमले सन् २०२० मा आधुनिक भवनको तेस्रो तलाको ३ हजार ५ सय स्वाक्यर फिट क्षेत्रफलमा मोर्डन क्लिनिक सेटअपको काम अगाडि बढायो । ‘दोस्रो लकडाउन सकिने बितिकै हामीले सेन्टर सेटअपको काम अगाडि बढायौं,’ उनी भन्छिन्, ‘कोभिडका कारण अलि समय लाग्यो ।’ सबै काम सकिएपछि सन् २०२१ मा एन्जल फर्टिलिटी क्लिनिक संचालनमा आयो । उनकाअनुसार क्लिनिकको प्रारम्भिक लगानी ५ करोड रुपैयाँ हो ।

अहिले एन्जलको टिममा डा. रश्मी, डा. मीरा, प्रीतिसँगै स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. माला श्रेष्ठ पनि थपिएकी छन् । डा. रश्मी अध्यक्ष, डा. मीरा मेडिकल निर्देशक र प्रीतिले निर्देशकका रुपमा क्लिनिकको अप्रेशनमा आ—आफ्नो भूमिमा निभाइरहेका छन् । त्यसबाहेक थप १३ जना कर्मचारी एन्जलमा काम गर्छन् ।

एन्जलले आधारभूत इनफर्टिलिटीका सबै सेवाहरु प्रदान गर्दै आएको छ । ‘मुख्यतयाः मल्टीपल आईभीएफहरु फेल हुनेहरुलाई रिप्रडक्टीभ जेनेटिक सर्विस हामीले दिइरहेका छौं,’ प्रीति थप्छिन्, ‘यो सेवामा पीजीटी—ए, पीजीटी—एम, पीजीटी—एसआरजस्ता सेवाहरु हुन्छन् ।’ प्रीतिकाअनुसार बच्चा किन भएन, किन गर्भ बसेन भन्ने कुरादेखि भ्रुण कस्तो र किन मिस केरेज भइरहेको छ भन्नेसम्मका कुरा यसमा अध्ययन गरिन्छ ।

पीजीटी—ए मा बच्चा किन भएन, गर्भ किन बसेन भन्ने अनुवांशिक समस्याको अध्ययन हुन्छ । यसले गर्दा बच्चा बनाउनुअघि नै त्यो समस्या समाधान गर्न सकिने भएमा त्यो गरिन्छ । यदि बच्चा बनाइसकेपछि ट्रिटमेन्ट गर्नुपर्ने हो भने प्रत्येक भ्रुणको बायोस्पी अध्ययन हुन्छ । अर्को केस कुनै थाहा भएको म्युट्रेशन छ अथवा कुनै जेनेटिभ डिसअर्डर आफ्नो फ्यामिलीको हाँगाबाट बोकेर आएको छ, त्यसको स्क्रीनिङ हुन्छ, त्यसपछि भ्रुण बन्छ, भ्रुण बनिसकेपछि फ्यामिली हाँगाबाट बोकेर आएको म्युट्रेशन त्यो भ्रुणमा छ कि छैन भनेर हेर्नका लागि पीजीटी—एम गरिन्छ । पिजीटी—एसआरमा क्रोमोजोमको रिलोकेसनको समस्याले हुने बाँझोपन थाहा हुन्छ ।

एन्जल थप जेनेटिक कारणहरु पत्ता लगाउनका लागि छुट्टै जेनेटिक क्लिनिकसँग पनि एशोसियट छ । त्यही कारण क्लिनिकल जेनिटिक्सले सुझावअनुसार प्रिगनेन्सी प्लानिङ गर्ने वा नगर्ने निश्चित गरिन्छ । ‘क्लिनिकल जेनेटिक्सले भ्रुण राख्न मिल्दैंन, यो म्युट्रेशन बच्चामा आउँछ भन्नुभयो भने हामीले त्यो भ्रुण राख्दैनौं,’ उनी प्रष्ट पार्छिन्, ‘हेल्दी इम्ब्रीयो खोजेर इम्प्लान्ट गर्छौ ।’

एन्जलले ढिलो उमेरमा गरिने प्रेगनेन्सीहरुमा पनि काम गरिरहेको छ । प्रीतिकाअनुसार अहिले ४५—४७ वर्षका महिलाहरु पनि पे्रगनेन्सीका लागि आइरहेका हुन्छन्, तिनीहरुलाई पनि यो सेवा प्रदान गरिरहेको उनले जानकारी दिइन् । ‘त्यस्तो केसमा जेनेटिक टेष्ट गरेर हामीले इम्ब्रीयो ट्रान्सप्लान्ट गर्छौ,’ उनले भनिन्, ‘हामीले अहिले एक जना ५५ वर्षीयाको प्रेगनेन्सी गराइरहेका छौं, उहाँले तेस्रो प्रयासमा भएको हो ।’ आईभीएफमा भ्रुणहरु थुप्रै बन्ने र कुन स्वस्थ छ भन्ने कुरा निश्चित गर्नका लागि जेनेटिक टेष्टीङ आवश्यक पर्ने उनले सुनाइन् ।

राजनीतिक, सेलिब्रेटी, विजनेशम्यान, कर्पोरेट हाउसका उच्च तहका कर्मचारीहरु आफू कहाँ आउने गरेको प्रीति बताउँछिन् । ‘बाहिर नाम बनाएका कति जनालाई आफ्नो प्राइभेट कुरा भन्न मन लाग्दैंन्,’ उनी भन्छिन्, ‘उहाँहरुले प्राइभेसीको कुरा एकदमै ख्याल गर्नुपर्छ । हाम्रोमा त्यो सुविधा छ ।’ त्यसबाहेक फर्टिलिटी डाइट, डाइट म्युट्रेशन क्लास, फर्टिलिटी योगा, स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा पनि क्लिनिकले दिइरहेको छ ।

एन्जलले मानिसहरुको पहुँच सहज भन्ने उद्देश्यका साथ निकट भविष्यमै काठमाडौं बाहिरबाट पनि सेवा दिने योजना अगाडि बढाइरहेको छ । ‘एन्जलको ब्राण्डिङका लागि टर्सरी सेन्टरहरु स्थापना गर्ने योजना छ,’ प्रीतिले भविष्यको योजना सुनाइन्, ‘हामीले प्रिभेन्टीभ फर्टिलिटी केयरमा पनि ध्यान दिइरहेका छौं । आईभीएफ त अन्तिम हो ।’ त्यही कारण स्त्री तथा प्रसुति सेवा, डाइट, योगाजस्ता कुराहरुमा आफूले काम गरिरहेको उनले जानकारी दिइन् ।

सामाजिक कार्यमा पनि एन्जलको टिमको उतिकै सक्रियता छ । स्कुलमा गएर महिनावारी अनियमिततालगायतका कुराहरुमा सचेतना जगाउने काम पनि गरिरहेका छन् । इनफर्टिलिटीमा छोरा मान्छेका रहेको कमीका कारण पनि छोरी मान्छेले दुःख पाइरहेको हुन्छ, त्यो वातावरण नबनोस भनेर पनि आफूहरुले काम गरिहेको प्रीतिले बताइन् । नेपालमा बच्चा नभएमा श्रीमतीलाई नै बढी दोष दिने गरिन्छ । तर, बच्चा नजन्मनुका पछाडि पुरुषको कारण पनि हुन्छ । त्यो धारणा चिर्न पनि काम गरिरहेको उनको बताइन् ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #एन्जल फर्टिलिटी क्लिनिक, #डा. माला श्रेष्ठ, #डा. मीरा थापा, #डा. रश्मी श्रीस, #प्रीति विष्ट


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ