२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेतीमा मेसुको मनपरी : समायोजन भएका केहीलाई ९ महिनासम्म रमाना नदिएर दोहोरो जिम्मेवारी

सेतीमा मेसुको मनपरी : समायोजन भएका केहीलाई ९ महिनासम्म रमाना नदिएर दोहोरो जिम्मेवारी

सामाजिक विकास मन्त्रालयको निर्देशनलाई समेत टेरेनन्


धनगढी—सेती प्रादेशिक अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट जिम्मेवारी पाएदेखि नै विवादमा तानिएका डा. हेमराज पाण्डेय फेरि विवादमा परेका छन् । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन गरेर पठाएका कर्मचारीहरूलाई पनि डा. पाण्डेयले रमाना दिन मानेका छैनन् ।

त्यतिमात्रै होइन् समायोजनमा परेका कर्मचारीहरूलाई उनले मन्त्रालयको निर्णय विरुद्ध दोहोरो जिम्मेवारीसमेत दिएका छन् । मेसु डा. पाण्डेयले स्वास्थ्य मन्त्रालयको समायोजनलाई पूर्ण रूपमा अटेरी भने गरेका छैनन् । स्रोतका अनुसारका केहीलाई भने उनले रमाना पत्र थमाएर सम्बन्धित स्थानमा पठाइसकेका छन् भने आफू निकटका आधा दर्जन बढीलाई सेती प्रादेशिक अस्पतालमै राखेका छन् ।

तीमध्ये अस्पतालकी नर्सिङ निरीक्षक यशोदा ढकाललाई दोहोरो जिम्मेवारीमा राखेका छन् । जबकी ढकालको कैलालीकै गोदावरी नगरपालिकामा समायोजन भइसकेको छ । उनै ढकाललाई मेसु पाण्डेयले गाइने वार्ड इन्चार्ज र ओसीएमसीको जिम्मेवारी दिएका छन् । ओसीएमसीको जिम्मेवारी ढकाललाई दिन सेती प्रादेशिक अस्पतालका सहायक लेखापाल मदनसिंह महरा मिलेमतो रहेको अस्पताल निकट स्रोतको दावी छ ।

यस्तै, सिनियर अनमी निरीक्षक भगवती बडालको धनगढी उपमहानगरपालिकामा समायोजन भएको छ । तर, उनलाई अहिले पनि सेती प्रादेशिक अस्पतालमा एमसीएच इन्चार्जको जिम्मेवारी दिइएको छ ।

सिनियर अनमी निरीक्षक रत्ना सिंह पाण्डेय, शारदा विष्ट, दुर्गादत्त जोशीको स्थानीय तहमा समायोजन भएकोमा उनीहरू तोकिएको स्थानमा जान मानेका छैनन् । अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठको टिकापुर अस्पतालमा समायोजन भएकोमा उनी पनि हालसम्म गएका छैनन् ।

समायोजनपछि पनि सेती प्रादेशिक अस्पतालबाट सम्बन्धित स्थानमा नगएका कर्मचारीहरूबारे बुझ्न खोज्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेयले हेल्थआवाजलाई प्रतिक्रिया दिन मानेनन् । पटक–पटकको प्रयासपछि मात्रै सम्पर्कमा आएका डा.पाण्डेय आफ्नो बचाउ गरे । ‘समायोजनको निर्णय भएपनि त्यत्तिखेर कोभिड–१९ संक्रमणका कारण यथास्थानमा रहेर काम गर्न भनिएको थियो,’ डा. पाण्डेयले भने, ‘त्यसैले हामीले रमाना दिएनौं । त्यसपछि त्यो बारेमा कुनै निर्णय भएको छैन ।’


सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले २०७८ मंसिर १७ गते पदस्थापन तथा सरुवा भएको निकायमा रमना दिई हाजिर हुन पठाउन मन्त्रालय मातहतका सबै निकायलाई नै परिपत्र गरेको छ । मेसु डा. पाण्डेय प्रदेश मन्त्रालयको निर्णय मान्य अटेरी गर्दै आएका छन् । ‘प्रदेश सरकारलाई स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूबारे निर्णय वा आदेश दिने अधिकार छैन्,’ उनले भने,’ उनले भने, ‘त्यो संघ सरकारले नै परिपत्र गर्नुपर्छ ।’

समायोजनपछि दोहोरो जिम्मेवारीमा रहेकी अस्पताल नर्सिङ निरीक्षक यशोदा ढकाल भने आफूखुसी नै समायोजनको रमाना नलिएको बत्ताउँछिन् । ‘मलाई स्थानीय तहमा समायोजन गरिएको छ । यो मेरो चाहना विपरीत हो । म प्रदेशमै रहन चाहन्छु,’ उनले भनिन्, ‘मेरो क्षमताअनुसारको संरचना र पूर्वाधार स्थानीय तहमा छैन । त्यसैले म सेती अस्पतालबाटै सेवा प्रवाह गरिरहेकी छु ।’ तर, उनी समायोजन भएको गोदावरी नगरपालिकामा १५ शैय्या मालाखेती अस्पताल सञ्चालनमा छ ।

समायोजनमा परेका केही कर्मचारीहरूलाई अस्पतालका मेसु र लेखापाल महराले संरक्षण दिएपनि केही कर्मचारीहरूलाई भने मन्त्रालयको निर्णय भन्दै समायोजन भएको ठाउँमा पठाइसकेका छन् । कोभिड–१९ महामारीमा उत्कर्षमै रहेका बेला डा. पाण्डेयले आफू निकट नरहेका आधा दर्जन बढी कर्मचारीहरूलाई भने रमाना दिएर समायोजन भएको स्थापना पठाएका हुन् । जसमा सिनियर अहेब भरत कुँवर, ओमप्रकाश बोहरा, धनीराम बोहरा, अनिता चौधरी, डा. पदम शर्मालगायतका कर्मचारीहरु छन् ।

समायोजनपछि पदस्थापन तथा सरुवा भएको निकायमा नियमानुसार रमाना नलिई/नदिएर काम काजमा लगाउनेको तलब, भत्ता भुक्तानी गर्ने कार्यालय प्रमुखलाई नै कारबाही हुने मन्त्रालयको परिपत्रमा उल्लेख छ । कर्मचारी समायोजन ऐन २०७४ दफा ७ को १ मा समायोजन भएका कर्मचारी बाटो म्यादबाहेक ३५ दिनभित्र समायोजन गरिएको संघ, प्रदेश वा स्थानीय तहको सेवाको पदमा हाजिर हुनुपर्ने उल्लेख छ ।

समायोजन हुँदाको विशेष अवधिबाहेक समायोजन भएको स्थानमा हाजिर नहुने कर्मचारीलाई नेपाल सरकारले अवकाश दिइनेछ भनेर पनि उल्लेख गरिएको छ । तर, समायोजनको निर्णय भएको ९ महिना बित्दा पनि सेती अस्पताल प्रशासनले मन्त्रालयको निर्णयको धज्जी उडाउँदैं आएको छ । त्यसपश्चात् २०७८ मंसिर १७ गते सामाजिक विकास मन्त्रालयले निर्णय कार्यान्वयनका लागि परिपत्र गरेपनि त्यसलाई समेत मेसु पाण्डेयले टेरेका छैनन् । मन्त्रालयले परिपत्र गरेको ४ महिना बित्दा पनि समायोजनमा परेका कर्मचारीहरू दोहोरो जिम्मेवारीका साथ सेतीमै राखेका छन् ।

स्रोतकाअनुसार समायोजनमा परेर पनि सेतीमै काम गरिरहेका केही कर्मचारीहरूले क्वार्टरसमेत प्रयोग गरिरहेका छन् । जबकी, ती कर्मचारीहरुको घर धनगढीमै छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ