२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशअस्पतालमा बिरामी मृत्युका घटनाः अनुसन्धान नभई क्षतिपूर्तिमै मिलापत्र

अस्पतालमा बिरामी मृत्युका घटनाः अनुसन्धान नभई क्षतिपूर्तिमै मिलापत्र

प्रदेशमै छैन चिकित्सकीय त्रुटि भनिएका घटना छानविन गर्ने संयन्त्र


घटना १ः
कैलाली गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोद बोहरा १८ चैत राति ११ बजे अत्तरियास्थित पद्यमा अस्पतालमा भर्ना भए । झाडापखालाको समस्या लिएर अस्पताल आएका बोहरालाई चिकित्सकले राति नै आईसीयुमा भर्ना गरी उपचार सुरु गरे । तर, उपचारकै क्रममा बोहराको निधन भयो । उपचारमा लापरबाही गरेको भन्दै आफन्त र स्थानीयले अस्पताल भवन, एम्बुलेन्स, निजी सवारी साधनलगायत अस्पतालमा तोडफोड गरे ।

तोडफोडका कारण करिब ७० लाख रुपैयाँको क्षति भएको पदमा अस्पतालका प्रमुख डाक्टर नरबहादुर मौनीले बताए । ‘रोग जटिल भइसकेपछि मात्रै मृतकका आफन्तहरुले उपचारका लागि अस्पतालमा ल्याएका रहेछन्,’ उनले भने, ‘बिरामीमा झाडापखालासँगै मिर्गौलाको पनि समस्या रहेछ । उपचारकै क्रममा अचानक उनको ज्यान गयो । यसमा चिकित्सकीय लापरबाही छैन ।’

बिरामीको उपचारकै क्रममा मृत्युु भएपछि अस्पताल प्रशासन र पीडित पक्षबीच घटनाको सत्यतथ्य पत्ता लगाउन समिति गठन गर्ने, पीडित परिवारलाई क्षतिपुर्ति दिने सहमति भएपछि मात्रै आफन्तले शव बुझे । पद्यमा अस्पतालले पीडित परिवारलाई १५ लाख क्षतिपूर्ति दिने सहमति भयो ।

घटना २ :
९ असोजमा धनगढीको नवजीवन अस्पतालमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी महिला उपचारका लागि भर्ना भइन् । १० असोज बिहान ८ बजे उपचारका क्रममा उनको निधन भयो । अस्पतालले उच्च रक्तस्रावका कारण कार्डियाक एरेष्ट भएर मृत्यु भएको जनायो । तर, मृतकका आफन्तहरुले चिकित्सककै लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै अस्पताल घेराउ गरे । मृतकका आफन्तका अनुसार घटना लगत्तै अस्पताल र पीडित पक्षहरु बीच ८ लाख क्षतिपूर्ति दिने र २ लाखको राहत कोष बनाउने सहमति भएपछि घटना साम्य भयो ।

घटना ३ :
८ चैत २०७५ मा धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी २२ वर्षीया सुत्केरी रेखा थापाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । ४ चेतमा सेती अस्पताल भर्ना भएकी थापा सामान्य रुपमा सुत्केरी हुन नसकेपछि शल्यक्रिया नै गरिएको थियो । मृतकका आफन्तका अनुसार शल्यक्रियापछि थापाको पेट सुन्निदै गएको थियो । तर, उपचार संलग्न चिकित्सकको टोलीले ग्यास्ट्रिकको कारण देखाउँदै दुई दिनसम्म बेवास्ता गरेको आफन्तको गुनासो छ । उपचारकै क्रममा थापाको ज्यान गएपछि उनका आफन्तहरु आन्दोलित भए । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार घटनापछि मृतकका परिवार र सामाजिक विकास मन्त्रालयबीच शिशुको पालनपोषण र औषधि उपचार गर्ने सहमतिमा आन्दोलन टुंगियो ।

धनगढी-यी माथिका घटनाक्रम हेर्दा सुदूपश्चिमका सरकारी तथा निजी अस्पतालमा चिकित्सकीय लापरवाही भनिएका मृत्युका घटनामा अनुसन्धान नभएर लेनदेनमा टुंगिने गरेको स्पष्ट हुन्छ । घटनामा पीडक र पीडित पक्ष नै क्षतिपूर्ति लिन/दिन अग्रसर देखिएपछि यसले एकातिर अस्पतालमा भीडको बोलवाला बढिरहेको देखिन्छ भने अर्कोतर्फ उपचार संलग्न चिकित्सक र अस्पतालमाथि लागेको लापरवाहीको आरोप बिना जाँचबुझ त्यतिकै सामसुम हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको जनस्वास्थ्य ऐनमा प्रदेशमा चिकित्सकीय लापरवाहीका घटना छानविन गर्न कुनै संरचना बनाएको देखिदैन् । प्रदेश सरकारले ल्याएको जनस्वास्थ्य ऐनको परिच्छेद ७ को ५१ मा स्वास्थ्य संस्थामा उपचार लिइरहेको अवस्थामा कसैको मृत्यु भएमा मृत्युको कारण पहिचान गर्न तोकिए बमोजिम परीक्षण गरिने उल्लेख छ । प्रदेश सरकारले नै ल्याएको स्वास्थ्य नीतिमा समेत उपचारका क्रममा हुने आकस्मिक मृत्यु र स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी कुनै व्यवस्था छैन ।

‘बिरामीले अस्पतालमै ज्यान गुमाएका घटनाहरुको अनुुसन्धान नै हुुँदैन्, मिलापत्रमै टुुंगिन्छन्,’ नागरिक अगुुवा प्रमोद पाठक भन्छन्, ‘सुदूरपश्चिम प्रदेशमा चिकित्सकीय त्रुटिका घटना छानबिन गर्ने संयन्त्र नै छैन । नागरिकको ज्यान जाँदासम्म पनि आर्थिक रुपमै घटना मिलाइन्छन् । सरकारी निकायबाट पनि गतिलो अनु्सन्धान हुँदैन् ।’

धनगढी उपमहानगर–२ का स्थानीय वीरेन्द्र शाह पनि चिकित्सकीय लापरवाही भनिएका घटनाको छानविन नहुनु दुखद् भएको बताउँछन् । ‘चिकित्सकीय लापरवाहीका कारणले उपचारकै क्रममा बिरामीको ज्यान गएको पुुष्टि भएमा उपचारमा संलग्न ब्यक्तिको लाइसेन्स खारेज हुनेलगायतका कानुनी कारवाही हुन्छ भन्ने हामीले सुनेका हौं,’ शाह भन्छन्, ‘तर, सु्दूरपश्चिममा अहिलेसम्म चिकित्कसीय लापरवाही भनिएका कुनै घटनामा पनि अनुसन्धान तथा कारवाही भएको छैन ।’

नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाका अध्यक्ष डा. प्रदीप मिश्र अस्पताल जीवन र मृत्यु हुने ठाउँ भएकाले घटना घटेपछि ब्यक्तिगत भएर संस्थागत रुपमा छानविन सुरु गर्नुपर्ने मत राख्छन् । ‘मेडिकल नेग्लीजेन्सका कुनै पनि घटनामा नेपालको कानुन अनुसार अनुसन्धान गरी दोषी देखिए कारवाही हुन्छ,’ डा. मिश्र भन्छन् ।

बिरामीको उपचारमा चिकित्सककले लापरवाही गरे संघीय कानुनअनुसार पीडित पक्षले मेडिकल काउन्सिलमा उजुरी दिन सक्ने प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव नरेन्द्र सिंह कार्की बताउँछन् । ‘चिकित्सकीय लापरवाहीका घटनाको उजुरी नेपाल मेडिकल काउन्सिलमा गरेमा छानविन हुने व्यवस्था छ,’ उनी भन्छन्, ‘पछिल्लो समय यस्ता घटनामा विधि कानुनभन्दा पनि भीडतन्त्र हावी भइरहेको देखिन्छ ।’ उनी चिकित्सक बिरामी बचाउन नै काम गर्ने बताउँदैं कहिलेकाहीँ प्राविधिक त्रुटिले घटना घटिहालेमा पनि यसको उचित छानविन गरेर टुंग्याइनुपर्नेमा जोड दिन्छन् ।

सुदूरपश्चिममा चिकित्सकीय लापरवाही भनिने यस्ता घटनाहरु बढ्दो क्रममा छन् । यस्ता चिकित्सकीय लापरवाही भनिएका घटनामा नेपाल मेडिकल काउन्सिलले छानविन गर्नुपर्ने हुन्छ । तर, मोफसलमा हुने यस्ता घटनामा काउन्सिलको पनि ध्यान पुग्न सकेको देखिदैन् । जसका कारण अधिकांश घटनाहरु आन्दोलन, तोडफोडपछि मिलापत्रमै टुंगिने गरेको माथिका उदाहरणबाट पुष्टि हुन्छ ।

स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मी सुरक्षा ऐन ल्याउन माग

कैलालीको अत्तरियास्थित पद्यमा अस्पताल तोडफोड भएको घटनाप्रति नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाले आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै संघले अस्पतालमा तोडफोड गर्नु, चिकित्सक तथा कर्मचारीलाई गाली गलौज गर्नु घृषित कार्य भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएको हो ।

संघले प्रदेश सरकारले स्वास्थ्य सुरक्षा एवं स्वास्थ्यकर्मी सुरक्षा ऐन ल्याएर कामकाज गर्ने सहज वातावरण बनाउन समेत आग्रह गरेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ