२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशएक सय शैय्याको अस्पतालमा एकजना मात्रै विशेषज्ञ डाक्टर

एक सय शैय्याको अस्पतालमा एकजना मात्रै विशेषज्ञ डाक्टर


धनगढी—दरबन्दीअनुसारका डाक्टर नभएपछि कञ्चनपुरको महाकाली अस्पताल सुनसान बनेको छ । सरकारले दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर उपलब्ध गराउन नसकेपछि महाकाली अस्पताल सुनसान बनेको हो ।

अस्पताल प्रशासनका अनुसार १७ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा हाल स्त्रीरोग विशेषज्ञ डा. हरिकुमार श्रेष्ठ मात्रै कार्यरत छन् । मेडिकल सुपरिटेण्डेन्टका रुपमा रहेका डाक्टर श्रेष्ठको २ वर्ष पूरा भइसकेको छ भने समायोजनमा परेका डाक्टरसमेत हालसम्म अस्पतालमा आएका छैनन् ।

यता दरबन्दीअनुसार विशेषज्ञ डाक्टरको पदपूर्ति नहुँदा बिरामीलाई सेवा दिन समस्या हुनुका साथै अस्पताल सञ्चालनमै समस्या भएको महाकाली अस्पताल प्रशासनले जनाएको छ ।

सरकारले दरबन्दीका डाक्टर पठाउन नसकेपछि डा. धिरज जोशी र डा. मोहमद अहमद खानलाई अस्पताल विकास समितिका तर्फबाट राखिएको छ ।

एक सय शैय्या सञ्चालनमा रहेको यस अस्पताल भौतिक संरचनाअनुसार सुविधा सम्पन्न अस्पतालका रुपमा चिनिन्छ । तर, अहिले एक जना मात्रै विशेषज्ञ डाक्टर भएकाले बिरामीको संख्या ह्वात्तै घटेको छ । बिरामीहरुले चर्को मूल्य तिरेर निजी क्लिनिक तथा भारतीय सीमावर्ती बजारस्थित अस्पतालहरुमा उपचार गराउनु पर्ने बाध्यता छ ।

प्रसुती सेवाका लागि धनगढी धाउनुपर्ने बाध्यता

महाकाली अस्पतालको सेवा खस्किदै गएपछि प्रसुती सेवाका लागि पनि सेती प्रादेशिक अस्पतालमा पुग्नुपर्ने बाध्यता बढ्दै गएको छ । महाकालीको सेवा प्रभावकारी नहुँदा विशेषज्ञ सेवा त परै जावस प्रसुती सेवाका लागि पनि कञ्चनपुरवासीले परनिर्भर बन्नुपर्ने बाध्यता बढेको हो ।

सेती प्रादेशिक अस्पतालमा प्रसुती सेवा लिने झण्डै ५० प्रतिशत कञ्चनपुरका महिला छन् । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ५ सय ८९ महिलाले सेती प्रादेशिक अस्पतालमा प्रसुती सेवा लिए । प्रसुती सेवा लिएका ५ सय ८९ जनामध्ये कञ्चनपुरबाट मात्रै २ सय ७५ महिला आएका थिए ।

एउटै स्तरको अस्पताल भएपनि महाकाली अस्पतालको सेवा खस्किदैं गएपछि प्रसुती सेवाका लागि पनि कञ्चनपुरवासीले परनिर्भर हुनुपर्ने बाध्यता देखिएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए । उनले सेती अस्पतालमा प्रसुती सेवा लिने महिलामध्ये झण्डै ५० प्रतिशत कञ्चनपुरकै रहेका बताए ।

यो तथ्यांकले प्रसुती सेवाका लागि महाकाली अस्पतालभन्दा पहाडी जिल्लाका अस्पतालको सेवा प्रभावकारी देखाएको छ । महाकाली अस्पतालमा अहिले मासिक दुई सय जनाले मात्रै प्रसुती सेवा लिइरहेका छन् ।

महाकाली अस्पतालले भने कैलालीको सीमा क्षेत्रबाट धेरैजना सेती अस्पतालमा जाने गरेको दावी गरेको छ । कतिपयले भने स्वस्फूर्त रुपमा रेफरसमेत माग्ने गरेको अस्पतालले जनाएको छ ।

दरबन्दीअनुसार महाकाली अस्पतालमा डाक्टर नहुँदा सेवा खस्किदैं गएको महाकाली अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले बताए।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ