२०८२ असार ३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली प्रदेशका कुल कोरोना संक्रमितमध्ये १६ प्रतिशत महिला

कर्णाली प्रदेशका कुल कोरोना संक्रमितमध्ये १६ प्रतिशत महिला


सुर्खेत—पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणको वृद्धिदर बढ्दै गएको छ । बुधबार मात्र कर्णालीमा ९५ जनामा कोरोना पुष्टि भएको छ । कर्णालीमा महिलाको तुलनामा पुरुष बढी संक्रमितत भएको तथ्यांक रहेको छ ।

यो प्रदेशमा कोरोना संक्रमण पुरुषको तुलनामा महिलामा कम देखिएको हो । संक्रमणका दृष्टिले पुरुष बढी जोखिममा रहेको बताइएको छ । कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोभिड–१९ संक्रमित हुनेमा पुरुष नै बढी देखिएका हुन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बुधबार आयोजना गरेको पत्रकार अन्तक्रिया कार्यक्रममा कर्णाली प्रदेशका कुल कोरोना संक्रमितमध्ये १६ प्रतिशत महिला र ८४ प्रतिशत पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो । बुधबारसम्ममा कर्णालीमा २ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तर, प्रदेशका कुनै पनि कोभिडका बिरामीलाई लक्षण भने देखिएको छैन ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीका अनुसार कुल कोरोना संक्रमितमध्ये ४२ प्रतिशत ६१ देखि माथिको उमेर समुहका संक्रमित भएका छन् । यस्तै ३१ देखि ४० वर्ष उमेर समूहका २३ प्रतिशत संक्रमित भएको स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांकमा उल्लेख छ । ११ देखि २० उमेर समूहका १५ प्रतिशत रहेका छन् भने ४१ देखि ५० वर्ष उमेर समुहका ९ प्रतिशत संक्रमित रहेका छन् । ५१ देखि ६० वर्ष उमेर समूहका ५ प्रतिशत, ० देखि १० वर्ष उमेर समूहका ४ प्रतिशत रहेका छन् । यसका साथै सबैभन्दा कम २१ देखि ३० उमेर समुहका २ प्रतिशत कोरोना संक्रमित भएको निर्देशक भण्डारीले जानकारी दिइन् ।

निर्देशक भण्डारीका अनुसार कोभिड—१९ का कारण मानिसहरूमा रोग लाग्नबाट सुरक्षित हुने उपायको सचेतनामा वृद्धि भएको छ । नागरिकमा हात धुने बानीको विकास हुनुका साथै सामाजिक दूरीका कारण पनि रोगको प्रकोप तथा संक्रमणमा कमी आएको उनी बताउ छिन् । उनी भन्छिन्, ‘नागरिकमा हात धुने प्राक्टिसले झाडा पखाला, हैजा, जुका लगायतका रोगहरुमा कमी आएको छ ।’

साथै प्रदेशस्तर तथा स्थानीय तहसम्म प्रयोगशाला परीक्षण विस्तार भएको छ । कोभिड—१९ का कारण अभिलेख तथा प्रतिवेदनमा वृद्धि भएको छ भने नागरिकस्तरमा सूचना संप्रेषण भएको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ