काठमाडौँ – नेपालमा अझै ४१ हजार क्षयराेगका बिरामी उपचारकाे दायरा बाहिर रहेका छन् । पछिल्लो तथ्यांक अनुसार हाल ४१ हजार क्षयराेगका बिरामी उपचारकाे दायरा बाहिर रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको हो ।
अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. अनुज भट्टचनले नेपालमा प्रत्येक वर्ष ६९ हजार भन्दा बढी क्षयराेगका बिरामी थपिने र तीमध्य उपचारको दयारामा नआएकालाई पहिचान गरी उपचार प्रक्रियामा ल्याउनु ठुलो चुनौती देखिएको बताए ।
उनले भने, ‘अहिले नयाँ र पूरानो गरी करिब १ लाख १७ हजार बिरामी छन् तर गत आर्थिक वर्षमा भने १ लाख ५५ हजार ३ सय भन्दा बढी बिरामी पत्ता लागि राष्ट्रिय क्षयरोगको कार्यक्रमको नीतिअनुसार उपचारमा रहेका छन् ।’
क्षयरोग प्रिभिलेन्स सर्वेक्षणका अनुसार नेपालमा निजी स्वास्थ्य क्षयरोगको निदान ९ प्रतिशत तथा उपचार गराउनेको संख्या करिब १५ प्रतिशत रहेको निर्देशक भट्टचनले जानकारी दिए। उनले निजी स्वास्थ्य सँस्थाबाट उपचार गराइरहेका बिरामीलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीभित्र ल्याउने प्रयास भैरहेको उनले उल्लेख गरे।
क्षयराेग केन्द्रका याेजना, मुल्यांकन, अनुगमन तथा अनुसन्धान प्रमुख मुक्ति खनालले कोरोनाबाता ७ जना क्षयरोगका बिरामीले ज्यान गुमाएको बताए । नेपालमा २५ प्रतिशत क्षयराेग बिरामीकाे मृत्यु हुने गरेकाे जानकारी दिए। उनका अनुसार हाल विश्वमा औषतमा १५ प्रतिशत क्षयरोगबाट मृत्यु हुने पाइएको छ भने नेपालमा २५ प्रतिशत क्षयराेग बिरामीकाे मृत्यु हुने गरेकाे छ ।
२४ मार्चको दिन विश्वभर अन्तर्राष्ट्रिय क्षयरोग दिवस विभिन्न नारा सहित कार्यक्रम गर्दै मनाउने गरिन्छ। नेपालमा पनि यो वर्ष ‘संकेतको समयको, क्षयरोगको अन्त्य’ भन्ने मूल नाराका साथ मनाइने निर्देशक डा. अनुजले बताए।