२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश‘युके भेरियन्ट’को नयाँ त्रास : ‘रेड जोन’मा परेको रुपन्देहीमा यस्तो छ तयारी

‘युके भेरियन्ट’को नयाँ त्रास : ‘रेड जोन’मा परेको रुपन्देहीमा यस्तो छ तयारी


बुटवल—गत वर्ष लगातार ‘रेड जोन’मा परेको रुपन्देहीमा पुनः कोरोना भाइरसको त्रास बढ्दैं गएको छ । ‘युके भेरियन्ट’को कोरोना भाइरस नेपाली सीमावर्ती भारतमा तीव्र रुपमा फैलिंदै गएपछि त्यसको प्रभाव नेपालमा पनि देखा परेको हो ।

नेपाल–भारत सीमावर्ती क्षेत्र बेलहिया नाकामा आवागमनका दृष्टिले ठूलो नाकाका रुपमा लिइन्छ । सीमा क्षेत्रमा कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चल्न नसक्दा जोखिमसँगै त्रास बढेको छ ।

नेपालको सीमा क्षेत्रमा पर्ने भारतको उत्तरप्रदेशमा दोस्रो लहरका रुपमा कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ । खुला सीमाका कारण पनि त्यसको प्रत्यक्ष प्रभाव रुपन्देहीमा देखा पर्ने चिन्ता बढ्दै गएको छ ।

रुपन्देहीमा सीमावर्ती जिल्ला भएकाले पनि चुनौतीहरु देखिन्छन् । भारतबाट नेपाल आउनेहरुलाई प्रभावकारी ढंगले सीमानाका मै व्यवस्थित गर्न सके ठूलो सफलता मिल्ने जानकारहरु बताउँछन् । ‘पहिलो चरणमा मुख्य रुपमा सीमा व्यवस्थापन नै हो,’ सामाजिक अभियन्ता सोभाकान्त अर्याल भन्छन्, ‘त्यसपछि आन्तरिक तयारीलाई तीव्र बनाउनुपर्छ ।’

सीमा नाका सुनौलीमा ‘होल्डिङ सेन्टर’ तयार गर्ने काम भैरहेको छ । छिमेकी देशबाट आउनेहरुमा संक्रमण देखिएमा राख्नको लागि सेन्टरको प्रयोग हुनेछ । ‘हामी पहिलो चरणमा ‘होल्डिङ सेन्टर’ बनाएर काम गर्ने तयारीमा छौं,’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले भने, ‘अन्य आन्तरिक तयारीमा समेत जुटेका छौं ।’

बाहिरी देशबाट आउनेलाई निगरानी गर्ने र संक्रमण पुष्टि भए सिटी भ्यालुको आधारमा घरमा वा अस्पतालमा कहाँ पठाउनुपर्ने हो सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पठाउने व्यवस्था मिलाउने उनले बताए ।

जिल्लामा अहिले ७२ वटा एम्बुलेन्स संचालनमा छन् । तीमध्ये कुनै पनि एम्बुलेन्स पूर्णतया कोभिड मैत्री छैनन् । कोभिड—१९ का बिरामी बोक्नका लागि सुविधायुक्त एम्बुलेन्सको तयारी आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी तामाङ बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले समेत रुपन्देहीलाई जोखिमको सूचीमा राखी बालबालिकालाई स्कुल नपठाउन भनिसकेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ