२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगर कोरोनाको हटस्पट, एक साता निषेधाज्ञा

विराटनगर कोरोनाको हटस्पट, एक साता निषेधाज्ञा


विराटनगर-दोस्रो लहरको कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश १ को राजधानी विराटनगरसहितका छिमेकी गाउँपालिकाहरू भित्र जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा घोषणा गरेको छ ।

शनिबार राति १२ बजेदेखि लागु हुनेगरी एक साताका लागि शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले निषेधाज्ञा घोषणा गरेका हुन् ।

कोभिड १९ को दोस्रो लहरबाट संक्रमणको जोखिम बढेकोले नियन्त्रण गर्नका लागि निषेधाज्ञाको आदेश जारी गरेको आदेश पत्रमा उल्लेख छ । विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहदा गाउँपालिका, कटहरी गाउँपालिकाका वडा नं १,२, ३, र ४ तथा भारत र सुनसरी जिल्लासँग जोडिएको सीमा क्षेत्रहरुमा निषेधाज्ञा हुने आदेशमा भनिएको छ ।

निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरु खरिद गर्न बाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । खाद्यवस्तु, खाना पकाउने इन्धन, तरकारी, डेरी सम्बन्धी पसल र निर्माण सामग्रीका पसलहरु बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

दैनिक रुपमा नित्य गरिने पूजा प्रार्थनाबाहेक सबै धार्मिक सांस्कृतिक कार्य, मेला, चाडपर्व, हाटबजारलगायत सामूहिक गतिविधि नगर्न पनि जिल्ला प्रशासन कार्यालय मोरङले आदेश दिएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवामा प्रयोग हुने विद्युत, खानेपानी, सञ्चार, बैक, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, पशुआहार ढुवानीका साधन, एम्बुलेन्स, शव वहान, सरकारी नम्बरका साधनहरुबाहेक अन्य सञ्चालन नगर्न भनिएको छ ।

छिमेकी मुलुक भारतसग हुने आवागमन पूर्णरुपमा बन्द गर्ने, रातिको समयमा ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न नपाइने, उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरे कानून बमोजिम कारवाही हुने, होटल रेष्टुरेन्टहरु होम प्याक तथा होम डेलिभरी प्रयोजनका लागि मात्र खुला रहनेछन् ।

विराटनगरमा १ हजार संक्रमित

प्रदेश १ मा शुक्रबार २९१ जना कोरोना संक्रमित थपिएका छन् । विराटनगरमा एकै दिन ३२ महिला र ८८ पुरुष सहित १२० जना नयाँ कोरोना संक्रमित भेटिएको छ । यो सँगै विराटनगर महानगरपालिकामा शुक्रबारसम्म १ हजार ७५ कोरोना संक्रमित पुगेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश क्षेत्री कार्कीले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ