२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १देश कोरोना संकटमा हुँदा समेत छाडेनन् बिचौलिया र व्यापारीले कालोबजारीको खेल

देश कोरोना संकटमा हुँदा समेत छाडेनन् बिचौलिया र व्यापारीले कालोबजारीको खेल

तीन दिनमा ७ वटा फार्मेसी कारवाहीमा


विराटनगर – कडा लक्षणसहितको गम्भीर प्रकृतीका कोरोना संक्रमित बढेर अस्पतालको शैय्या भरिएर बिरामीले उपचार नपाएर मृत्युवरण गरिरहेको समयमा पनि व्यापारी र बिचौलियाहरूले मानविय संवेदनशिलता भुलेर स्वास्थ्य सामग्रीमा कालोबजारी सुरु गरेका छन् । दोस्रो लहरको कोरोना भाइरस संक्रमण र निषेधाज्ञाको फाइदा उठाउँदै व्यवसायी र बिचौलियाहरूले स्वास्थ्य सम्बन्धी सामग्री, उपकरण र औषधिमा कालोबजारी गरेका हुन् ।

प्रदेश १ को राजधानी विराटनगर, सुनसरीको धरान, इटहरीलगायतको क्षेत्रमा स्वास्थ्य सामग्रीको अधिक मात्रामा कालोबजारी हुने गरेको पाइएको हो । स्वास्थ्य समाग्रीमा कालोबजारी हुने गरेको जनगुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरले मोरङ र सुनसरीको ९ वटा फार्मेसीमा अनुगमनको गरेको छ ।

पछिल्लो तीन दिन यता गरेको अनुगमनको क्रममा ७ वटा फार्मेसीले स्वास्थ्य सामग्रीमा अस्वभाविक मुल्य कायम गरि अत्याधिक मुनाफा राखि कालोबजारी गरेको भेटिएपछि वाणिज्य कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाहीको दायरमा ल्याएको छ । संक्रमितले अस्पताल भरिएपछि बेडको अभाव, चिकित्सकको सहज उपलब्धता, घरबाट अस्पतालसम्मको पहुँच लगायत समस्या झेल्दै आएका कोरोना संक्रमित र उनीहरुका आफन्त स्वास्थ्य सामग्रीमा हजारौं रकम खर्चिन बाध्य भएका छन् ।

गत आइतबार अनुगमनको क्रममा मोरङको बुढीगंगा गाउँपालिकामा २ टंकिसिनवारीमा रहेको विज्ञान फार्मेसीले सेनिटाइजरको कालोबजारी गरेको भेटिएको थियो । उक्त फार्मेसीले १ सय ६ प्रतिशितसम्म मुनाफा राखि सेनिटाइजर विक्री वितरण गर्दै आएको थिए ।

मञ्जरी आयुर्वेद औषधी उद्योगले उत्पादन गरेको ‘रव क्लिन’ ब्रान्डको  सेनिटाइजरमा खरिद गरेको भन्दा १०६.२५ प्रतिशित मुनाफा राखि बिक्री गरेको भेटिएपछि उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले २ लाख रुपैयाँ जरिवाना ग¥यो ।

१२० एमएलको स्यानिटाइजर ८० रुपैयाँमा खरिद गरी विज्ञान फार्मेसीले १ सय ६५ रुपैयाँ बिक्री वितरण गर्दै आएको अनुगमनको क्रममा भेटियो । गत मंगलबार सुनसरीको इटहरीमा रहेको थोक बिक्रेता विविता सर्जिकल हाउसले पनि सेनिटाइजरमा कालोबजारी गरिएको भेटियो । भारतीय कम्पनीले उत्पादन गरेको ‘लाइफ ग्रुथ’ ब्राण्डकोे ह्यान्ड स्यानिटाइजर १ सय ३ प्रतिशत भन्दा बढी मुनाफा राखि बिक्री गरेको अनुगमनको क्रममा फेला परेको थियो ।  ३९.३० मा  खरिद गरेको सेनिटाइजर ८० रुपैयामा बिक्री गरेको भेटिएपछि वाणिज्य कार्यालयले २ लाख जरिवना गरेको थियो । उल्लेखित प्रतिनिधी मुलक घटनाले पनि स्वास्थ्य समाग्रीमा कालोबजारी बढेको पुष्टि गर्दछ ।

अहिले बजारमा माक्स, सेनिटाइजर, रेम्डिसिभिर, अक्सिजनको मात्र मापन गर्ने अक्सिमिटरको कालोबजारी हुने गरेको उपभोक्ताको गुनासो छ ।

यस्तै, कोभिड अस्पताल नजिक रहेका फार्मेसीहरूमा रेम्डिसिभिरको कालोबजारी हुने गरेको पाइएको छ । ४ हजार ५ सय रुपैयाँमा यो रेम्डिसिभिर इन्जेक्सन ८ हजारदेखि  २० हजार रुपैयाँसम्ममा खरिदविक्री हुने गरेको छ । स्वास्थ्यजन्य सामग्रीको अनुगमन, गुणस्तर तथा मूल्य जाँच नहुँदा उपभोक्ता मारमा परेका छन् । बिचौलिया र कालोबजारी गर्ने व्यापारीहरू भने जोगिँदै आएका छन् ।

यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले निषेधाज्ञाको समयमा अस्वाभिक मुल्य कायम गरि अत्याधिक मुनाफा राखेर स्वास्थ्य सामाग्री विक्री वितरण हुने गरेको जनगुनासो आउन थालेपछि अनुगमन बढाएको बताए । ‘बजारमा उपभोक्ताहरूको धेरै गुनासो आउने गरेको छ,’ उनले भने, ‘अहिले हामीले बजार अनुगमनलाई तिव्रता पनि दिएका छौं ।’ अनुगमनको क्रममा अनुचित र अस्वाभाविक मुल्य कायम गरि दैनिक उपभोग्य खाद्यबस्तुदेखि अतिआवश्यक स्वास्थ्य सामाग्री विक्री वितरण गरेको भेटिए उपभोक्ता संरक्षण ऐन अनुसार कारवाहीको दायारमा ल्याउँदै गरेको उनले सुनाए ।

‘पछिल्लो दिन दिन भित्र ९ वटा फर्म अनुगमन क्रममा ७ वटा स्वास्थ्य सामाग्री विक्री गर्ने फार्मेसी कारवाहीको दायरामा आएको छ,’ उनले भने, ‘कारवाहीमा पर्ने अनुचित र अस्वभाविक मुल्य कायम गरि स्वास्थ्य सामग्री विक्री गर्ने र बिलबिजक नभएका फर्म कारबाहीको दायरामा आएको छ ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ