२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १फार्मेसीमा बढ्यो बेथिती, मोरङ र सुनसरीका ११ फार्मेसी बन्द

फार्मेसीमा बढ्यो बेथिती, मोरङ र सुनसरीका ११ फार्मेसी बन्द


विराटनगर—औषधी व्यवस्था विभाग विराटनगरले मोरङ र सुनसरीका ११ वटा फार्मेसी बन्द गरेको छ । सुनसरी र मोरङका २२ वटा फार्मेसी अनुगमन गरेकामध्ये कैफियत भेटिएको ११ फार्मेसी बन्द गरिएको हो ।

सुनसरीको ४ र मोरङका ७ वटा फार्मेसी बन्द गरिएको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजीव शर्मा कट्टेलले जानकारी दिए । यसरी बन्द गरिएको फार्मेसीहरूमा सुनसरीको धरान ६ पानवारीका पानवारी मेडिकल, सुन्दर मेडिकल हल, सोम मेडिकल र सीमाना क्लिनिक रहेका छन् । अनुगमनको क्रममा पानवारी मेडिकलले प्रतिबन्धित औषधी र दर्ता नभएको सेनिटाइजर बिक्री वितरण गरेको भेटिएपछि विभागले बन्द गरेको हो । यस्तै सीमाना क्लिनिकले औषधी व्यवस्था विभागमा दर्ता बेगर औषधी बिक्री वितरण गरेको अनुगमनको क्रममा पाइएपछि सिलबन्दी गरिएको कट्टेलले जानकारी दिए ।

यसैगरी, मोरङको केराबारी गाउँपालिका भित्रका दुई वटा फार्मेसी पनि बन्द गरिएको छ । केरावारी १० मा रहेको केरावारी मेडिकल हलले औषधी बिक्री वितरण गर्ने एक जना फर्मासिष्ट प्राविक दुई ठाउँको पसलमा रहेको पाइएपछि बन्द गरिएको विभागले जनाएको छ । ‘केराबारी मेडिकल हलको लागि स्वीकृत लिएको फर्मासिष्ट प्राविधिकको नाम अर्को पथरी ३ मा रहेको सुबिक मेडिकल हलमा पनि देखियो । एकै व्यक्ति दुई ठाउँमा देखिएको कारणले हामीले दुवै फार्मेसी अर्को आदेश नभएसम्मको लागि सिलबन्दी गरेर निलम्बनमा राखेका छौं,’ फार्मेसी निरीक्षक तथा सूचना अधिकारी दिपेन्द्र खड्काले भने ।

यसैगरी, केराबारीमा रहेको दिशीका मेडिकल हल, सुन्दरहरैचना नगरपालिका १० विराटचोकमा रहेको सीता मेडिकल हल, जमुना मेडिकल हल र कुसल मेडिकल हल पनि बन्द गरिएको विभागले जनाएको छ । अनुगमनको क्रममा मिक्लाजुङ्ग गाउँपालिका ४ मा रहेको प्राची मेडिकल हल पनि निलम्बन गरिएको छ । प्राची मेडिकल हलले विभागले अनुगमनको क्रममा पटक—पटक सचेत गराउँदा पनि प्रक्रिया पूरा नगरेको कारणले मेडिकल हल सिलबन्दी गरेर अर्को आदेश नभएसम्मको लागि निलम्बन गरिएको विभागले जनाएको छ ।

औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेलले औषधीजस्तो संवेदनशील सामाग्री बिक्री वितरणमा पनि फार्मेसीहरूले स्वीकृत नलिकन संचालन गर्ने गरेको पाइएको बताए । ‘अनुगमनको क्रमममा फार्मेसीमा प्राविधक पनि नरहेको पाइएको छ,’ उनले भने । आर्थिक वर्ष २०७७/०७८ मा औषधी व्यवस्था विभागले दर्ता नभएका २८ वटा फार्मेसी बन्द गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ