२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपतीन जना चिकित्सकले सञ्चालनमा ल्याए ‘प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिक’

तीन जना चिकित्सकले सञ्चालनमा ल्याए ‘प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिक’

‘हेड याक एण्ड भर्टिगो’ क्लिनिक सुरु गर्ने तयारी


डा. विश्वनाथ कोइराला वरिष्ठ फिजिसियन हुन् । उनी लामो समयदेखि ओम अस्पतालमा बिरामीलाई सेवामा सक्रिय छन् । बिरामी सेवामा तल्लीन रहँदा–रहँदै चल्तीका फिजिसियन डा. कोइरालालाई अहिलेको व्यस्त समयमा बिरामीले खोजेको र उत्कृष्ट सेवा पस्किन मिल्ने मल्टीस्पेसियालिटी सेन्टरको अभाव महसुस भइरहेको थियो । उनले महसुस गरेको त्यही अभाव डा. आश्मा शाह र फिजिसियन डा. परशुराम घिमिरेलाई पनि खट्किरहेको थियो ।

त्यही क्रममा तीन जना चिकित्सक टिमको सिनामंगलस्थित क्रिष्टल डाइग्नोष्टिक प्रा.लि.को भवनका दुई तलामा एउटै छानामुनिबाट सबै किसिमका विशेषज्ञ सेवा दिने उद्देश्यले जन्मिन पुग्यो—‘प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिक’ । लक्ष्य राखियो—‘प्रो एक्टीभ कम्प्यासनेट मेडिकल केयर’ उपलब्ध गराउने ।

तीन महिनाअघि निर्माणका कामहरु सुरु भएको प्रोमेडले २० दिनअघिबाट ओपीडी सेवा पनि सुरुवात गरिसकेको छ । ‘बिरामीले चाहेजति समय लिएर गुणस्तरीय स्वास्थ्य सेवा पाउनु भन्ने उद्देश्यले क्लिनिक स्थापना गरेका हौं,’ प्रोमेडका प्रबन्ध निर्देशक डा. विश्वनाथ कोइराला भन्छन्, ‘मज्जाले काउन्सिलिङ गर्न सकिने, व्यस्त समय भएका, लाइनमा बस्नुपर्ने झन्झन्ट नहुने गरी यो सुविधासम्पन्न क्लिनिक स्थापना गरेका हौं ।’

डा. कोइराला समय दिनुपर्ने ‘क्रोनिक’ केस भएका बिरामीका लागि प्रोमेडबाट अलग्गै स्थान, शान्त वातावरणमा उत्कृष्ट सेवा पस्कने सोच रहेको उल्लेख गर्छन् । ‘रोग भनेको ५० प्रतिशत त सम्झाइ बुझाएर पनि ठीक हुने कुरा हो,’ उनी भन्छन्, ‘बाँकी ५० प्रतिशतलाई उपचार गर्नुपर्छ । त्यही सोचका साथ अलग्गै ठाउँ चाहिन्छ भनेर हामीले प्रोमेड खोलेका हौं ।’ उनको त्यही सोचमा उनका टिममा डा. आश्मा र डा. परशुराम जोडिन आइपुगे र त्यसैमा क्रिष्टलसँग सहकार्य भएपछि तीन महिलाअघि मात्रै प्रोमेड स्थापनाको काम अगाडि बढेको हो ।

अहिले प्रोमेडमा जनरल मेडिसिन, ग्यास्ट्रोइन्टेरोलोजी, कार्डियोलोजी, बाथ रोग, स्त्री तथा प्रसुती रोग, बाल रोग, युरोलोजी, रेडियोलोजीलगायतका विशेषज्ञ सेवाहरु उपलब्ध छन् । डर्माटोलोजी, न्युरोलोजीलगायतका विशेषज्ञ सेवाहरुपनि केही दिनमै थपिने प्रोमेडकी चिफ अपरेटिङ अफिसर (सिओओ) डा. आश्मा शाहले जानकारी दिइन् ।

‘विस्तारै हामी सबै विशेषज्ञ सेवाहरु एउटै छानामुनिबाट उपलब्ध गराउँछौं,’ सिओओ डा. शाहले भनिन्, ‘निर्वाचनलगायतले अलि ढिला हुन पुग्यो ।’ डा. आश्माकाअनुसार सबै विशेषज्ञ सेवाहरु पाउने गरी एक दर्जन बढी कन्सल्ट्यान्ट चिकित्सकले प्रोमेडबाट सेवा प्रवाह गर्नेछन् । ‘त्यसका लागि कामहरु अगाडि बढाइरहेका छौं,’ उनले थपिन्, ‘मल्टीस्पेसियालिटी सेवाहरु हामी उपलब्ध गराउनेछौं ।’

प्रोमेडमा प्याथालोजी ल्याब, इन्डोस्कोपी, क्लोनोस्कोपी, अल्ट्रासाउण्ड, टिएमटी, पिएफटी, डिजिटल एक्स—रे, युरोफ्लोमेट्रीलगायतका सेवाहरु पनि उपलब्ध छन् । त्यसबाहेक क्रिष्टल ए ग्रेडको ल्याबसँगै भएकाले थप प्याथालोजी र निदानात्मक सेवाहरु लिन बिरामीलाई सहज छ ।

प्रोमेडले होम केयर, अनलाइन कन्सल्टेसन, घरमै नमुना संकलन, फार्मेसीलगायतका सेवाहरु पनि उपलब्ध गराइरहेको छ । विहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा उपलब्ध गराउने प्रोमेडले हरेक सेवामा २० प्रतिशत छुट दिइरहेको छ । ‘क्लिनिकको मुख्य विशेषता बिरामीले चाहेको बेलामा सबै किसिमका विशेषज्ञ चिकित्सकबाट घरायसी वातावरणमा एकै ठाउँबाट सेवा दिनु हो,’ प्रोमेडका मेडिकल निर्देशक डा. परशुराम घिमिरे भन्छन्, ‘प्रोमेडमा बिरामी शान्त वातावरणमा चाहेजति समय लिएर बिरामीले परामर्श लिन सक्नेछन् ।’

‘हेड याक एण्ड भर्टिगो क्लिनिक’ पनि प्रोमेड सुरु गर्न लागेको डा. परशुराम बताउँछन् । ‘अहिले मानिसहरु टाउको दुख्ने, रिंगटा लाग्ने लाग्नेजस्ता समस्याबाट एकदमै प्रताडित छन्,’ उनी भन्छन्, ‘हामी ‘हेड याक एण्ड भर्टिगो’ क्लिनिक पनि सञ्चालनमा ल्याउँदैंछौं ।’ उनकाअनुसार यो नेपालमै नवीनतम क्लिनिक हुनेछ । त्यसबाहेक आईभीएफलगायतका सेवाहरु पनि थपिने उनले जानकार दिए । ‘नयाँ किसिमका सेवाहरु दिने हाम्रो जोड छ, त्यही अनुसार उपकरण पनि ल्याइसकेका छौं,’ उनले थपे, ‘सस्तो, सुलभ सहज वातावरण प्रोमेडले सेवा प्रवाह गर्छ ।’

प्रोमेडमा चिकित्सकबाहेक १५ जना बढी कर्मचारी कार्यरत छन् । ‘कर्मचारीको संख्या पनि विस्तारै बढ्दै जान्छ,’ डा. आश्माले सुनाइन् । इन्प्यासेन्ट र आउट प्यासेन्ट भएका अस्पतालहरुमा भिडभाड हुन्छ । तर, प्रोमेडमा आउट प्यासेन्ट मात्र हुने भएकाले भिडभाडको समस्या पनि नहुने व्यवस्थापनको आँकलन छ ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #ओम अस्पताल, #क्रिष्टल डाइग्नोष्टिक प्रा.लि., #डा. आश्मा शाह, #डा. परशुराम घिमिरे, #डा. विश्वनाथ कोइराला, #प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिक, #वरिष्ठ फिजिसियन, #हेड याक एण्ड भर्टिगो क्लिनिक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ