२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयुवा चिकित्सक संघद्वारा ४ वटा मेडिकल कलेजको सम्बन्ध खारेज गर्न माग, नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी

युवा चिकित्सक संघद्वारा ४ वटा मेडिकल कलेजको सम्बन्ध खारेज गर्न माग, नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी


काठमाडौं—युवा चिकित्सक संघले सरकारको निर्देशनको अवज्ञा गर्ने ४ वटा मेडिकल कलेजको सम्बन्ध खारेज गर्न माग गरेको छ । संघले शुक्रबार राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई ज्ञापनपत्र बुझाउँदैं सरकारको निर्देशनको अवज्ञा गर्ने ४ वटा मेडिकल कलेजको सम्बन्ध खारेज गर्न माग गरेको हो ।

‘शिक्षा र स्वास्थ्य मन्त्रालयको निर्देशन नमान्ने, विद्यार्थीले अवैध शुल्क फिर्ताको माग गर्दा नजरबन्द गर्ने जस्ता क्रियाकलाप गर्ने मेडिकल कलेजको सम्बन्ध खारेजको माग गर्दै हामीले ज्ञापनपत्र बुझाएका हौं,’ संघका अध्यक्ष डा. चेतन बस्नेतले हेल्थआवाजसँग भने, ‘सरकारको निर्देशन, नियम कानुन नमान्ने र अवैद्य काम गर्ने मेडिकल कलेजको सम्बन्ध किन कायम राखिरहने ?’

संघले ज्ञापनपत्रमा पनि सोही कुरा उल्लेख गरेको छ । ‘सरकारको निर्देशनको अवज्ञा गर्ने, चिकित्सा शिक्षा आयोगको नियम कानुन पालना नगर्ने, नेपाल मेडिकल काउन्सिल र विश्वविद्यालयको नियम नमान्ने र विद्यार्थीमाथि अमानवीय व्यवहार र दमन गर्ने युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज र नेशनल मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गर्न युवा चिकित्सक संघ जोडदार माग गर्दछ,’ संघका अध्यक्ष डा.  बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

युवा चिकित्सक संघले विभिन्न समयमा नेपालका मेडिकल कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुमा आर्थिक मानसिक र विभिन्न प्रकारका शोषण हुँदैं आएको जनाउँदैं यसैको पछिल्लो उदाहरण विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई बन्धक बनाएको उल्लेख गरेको छ । ‘यसैको पछिल्लो उदाहरण सरकारले तोकेको भन्दा बढी शुल्क असुलेको र शुल्क फिर्ताको माग गरेका युनिभर्सल मेडिकल कलेजमा एमबीबीएस, बिडिएस र बिएस्सी नर्सिङलगायतका विद्यार्थीलाई कलेज ब्यवस्थापनले बन्धक बनाएको घटनाप्रति हाम्रो संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ,’ ज्ञापनपत्रमा भनिएको छ । साथै, संघले चाडै सरोकारवाला पक्षलाई समस्या समाधान गर्न समेत आग्रह गरेको छ ।

उक्त ज्ञापनपत्र स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएसन, नेपाल डेन्टल एशोसिएसन र नेपाल मानव अधिकार संघलाई बोधार्थ बुझाइएको छ ।

यसअघि सरकारले विभिन्न शीर्षकमा विद्यार्थीबाट उठाइएको अवैद्य शुल्क फिर्ता गर्न मेडिकल कलेजहरुलाई निर्देशन दिएको थियो । तर, मेडिकल कलेजहरुले उक्त शुल्क फिर्ता गर्न अटेरी गर्दै आएका छन् ।

नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी

मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीका समस्या समाधानको पहल नगरेको भन्दैं संघले नेपाल मेडिकल काउन्सिलमा पनि अनिश्चितकालीन तालाबन्दी गरेको छ । युवा चिकित्सक संघले मेडिकल काउन्सिलका अध्यक्षका नाममा पत्र लेखेर तालाबन्दी गरेको हो ।

उसले पत्रमा विद्यार्थीका समस्या समाधान गर्न नेपाल मेडिकल काउन्सिल मौन रहेको उल्लेख गर्दै समस्या समाधान नभएसम्म तालाबन्दी गरिएको उल्लेख गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ