काठमाडौ–काठमाडौंका विद्यालयमा अध्ययन गर्ने ६० प्रतिशत विद्यार्थीमा कुनै न कुनै किसिमको दाँत स्वास्थ्यमा समस्या रहेको पाइएको छ ।
कान्तिपुर डेन्टल शिक्षण अस्पतालले काठमाडौ जिल्लाका ९० बटा विद्यालयमा गरेको अध्ययनमा सो तथ्यांक पाइएको हो । अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठका अनुसार ९० मध्ये ६६ बटा सामुदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको दाँत परिक्षण गरीएको थियो ।
२७ हजार ६ सय ४८ विद्यार्थी सहभागि भएको सो अध्ययनको क्रममा ५ दशमलव ८ प्रतिशतको दाँत भरेको ७ दशमलव ५ प्रतिशतको झरेको र २५ दशमलव ९ प्रतिशतको स्वस्थ्य रहेको पाइएको थियो ।
समस्या भएका विद्यार्थीहरूमध्ये १८ दशमलव ७ प्रतिशतमा गिजाको उपचार गर्नुपर्ने ३३ दशमलव ७ प्रतिशतमा दाँत मिलाउनुपर्ने, ३३ दशमलव ७ प्रतिशतमै दाँत भर्नुपर्ने समस्या देखिएको थियो भने ९ दशमलव ५ प्रतिशतमा गम्भीर समस्या देखिएको हुदा अस्पतालमा नै गएर उपचार गर्नुपर्ने अवस्था देखिएको थियो ।
उमेरगत आधारमा २ देखी ५ वर्षका ६६ दशमलव ५ प्रतिशतमा, ६ देखी १६ का ६१ दशमलव २९ प्रतिशत र १६ वर्ष माथिका ५३ दशमलव ९३ प्रतिशतमा दाँत तथा मुखको समस्या भएको उल्लेख छ ।
शिक्षण अस्पतालका अध्यक्ष डा श्रेष्ठका अनुसार मुख दाँत दाँत स्वस्थ नभए , मुटु, मधुमेह जस्ता रोग लाग्ने, गर्भवतीले वास्ता नगरे कम तौलको वच्चा जन्मने लगायतका समस्या हुन्छन् । उनि मुख स्वास्थ्यमा ध्यान नदिदा मुखको क्यान्सर, गिजाको रोग, दाँत किराले खाने जस्ता धेरै समस्या आउने बताउछन् ।
यस्तो समस्या बाट बच्न दिनको दुईपटक फ्लोराइड युक्त माञ्जनले दाँत माझ्ने र कम्तीमा ६–६ महिनामा दन्त चिकित्सककोमा गएर दाँत परिक्षण गराउनुपर्ने बताउछन् ।