काठमाडौं—युएईको स्वास्थ्य विभागमा अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीले नेपालको स्वास्थ्य क्षेत्र विकासमा सहयोग गर्न युएई तत्पर रहेको बताएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँगको शिष्टाचार भेटमा मन्सुरीले दुई देशबीच सम्झौता गरी आपसी सहयोग र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
अबुधाबी ग्लोलब हेल्थ वीक—२०२५ मा सहभागी हुन अबुधावी पुगेका स्वास्थ्यमन्त्री पौडेलसँग अध्यक्ष मन्सुरीले युएईमा रहेका नेपाली श्रमिकहरुको प्रशंशा गर्दै नेपालसँगको सम्बन्ध अझ मैत्रीपूर्ण र प्रगाढ बनाउन युएई नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार रहेको बताएका थिए । ‘यसका लागि नेपाल सरकारबाट उपयुक्त वातावरण र कानुनी आधार तयार हुन आवश्यक रहेको बताउनुभयो,’ मन्सुरीको भनाइ उदृत गर्दै नेपाली राजदूतावास अबुधावीले जारी गरेको विज्ञप्तीमा छ ।
भेटका अवसरका स्वास्थ्यमन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा युएई सरकारको सहयोग अपेक्षा व्यक्त गरेका थिए । उनले नेपालको स्वास्थ्य क्षेत्रलाई डिजिटलाइजेसन प्रविधीमार्फत अगाडि बढाउन र युनिभर्सल कभरेज सिष्टमअन्तर्गत स्वास्थ्य बीमा प्रणाली लागु गर्न चाहेको बताए । साथै, मन्त्री पौडेलले अध्यक्ष मन्सुरीलाई नेपालका किड्नी डायलाइसिस केन्द्रहरुको स्तरोन्नती र विस्तार तथा अंग प्रत्यारोपणका लागि सहयोग गर्न समेत आग्रह गरे ।
मन्त्री पौडेलले अबुधाबी ग्लोबल हेल्थ वीक—२०२५ मा नेपाली प्रतिनिधीमण्डलको नेतृत्व गरेर विभिन्न फोरमहरुका सहभागिता जनाएका थिए । संसारभरका ९० देशका १ हजार ९०० प्रतिनिधी सहभागी रहेको यो सम्मेलनमा २०० विशेषज्ञ वक्ताहरुको सहभागिता रहेको थियो । उनले सम्मेलनमा राखिएका विभिन्न स्वास्थ्य सम्बन्धी प्रदर्शनी स्टलहरुको समेत अवलोकन गरेका थिए ।
सम्मेलन १५ देखि १७ अप्रिलसम्म तीन दिन चलेको थियो ।

