काठमाडौं—नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले विज्ञान र प्रविधिले पछिल्लो समय विकास गरेको एआईले अन्य पेशालाई असर गरेपनि नर्सिङ पेशालाई असर गर्न नसक्ने बताएकी छन् । आइतबार अन्तर्राष्ट्रिय नर्सिङ दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा. यासमिनले स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्डका रुपमा रहेको नर्सिङ पेशाको विकल्प नै नरहेको जिकीर गरिन् ।
‘बिरामीको सेवा र उपचारमा नर्सहरुको महत्वपूर्ण भूमिका हुन्छ । कुनै पनि स्वास्थ्य सेवाको म्यानेजमेन्ट सिस्टममा नर्सहरु पर्दा पछाडिका हिरो हुनुहुन्छ । बिरामीलाई यति धेरै केयर गरिदिनुहुन्छ कि तपाईहरुको ठाउँ कुनै डाक्टरले लिन सक्दैनन्,’ उनले भनिन्, ‘एआईले पनि तपाईंहरुको करुणा, माया र हेल्थ केयरलाई रिप्लेस गर्न सक्दैन । डाक्टरहरुको त्यत्ति खोजी हुँदैन, जति नर्सहरुको हुन्छ ।’ नर्सहरुले बिरामीको लागि गर्ने स्वास्थ्य सेवा अदभूत रहेको भन्दै डा. यासमिनले नर्सहरुलाई आमाको संज्ञा दिइन् । बिरामीको स्वास्थ्य हेरचाहमा नर्सहरुले गरेकोगदानलाई प्रत्येक बिरामीहरुले बताउँदैं उनले ‘नर्सहरुको काममा कसैसँग तुलना हुन नसक्ने धारणा व्यक्त गरिन् ।
कलेजकी प्रबन्ध निर्देशक डा. यासमिनले हेल्थ केयर सिस्टममा डाक्टहरु मस्तिष्क भए नर्सहरु मुटु रहेको जिकीर गरिन्। ८० प्रतिशत बिरामीहरु नर्सहरुको स्याहारका कारण निको भएर घर जान सकेको बताउँदै उनले जुन दिन नर्स हुँदैनन् त्यही दिन हेल्थकेयर सिस्टम विश्वबाट कोल्याप्स हुने दावी गरिन् । ‘८० प्रतिशत बिरामीहरु तपाईंहरुका कारण घर गइरहनु भएको छ । जुन दिन नर्सहरु हुनुहुन्न त्यो दिन विश्वभरबाट हेल्थकेयर सिस्टम कोल्याप्स हुन्छ,’ उनले भनिन् । नेपाल मेडिकल कलेजले नर्सिङ सेवालाई सवल, प्रभावकारी बनाउन सदैव सकारात्मक रहेको उल्लेख गर्दै उनले नर्सहरुको क्षमता अभिवृद्धि गर्नका लागि समय—समयमा तालिमहरु दिने समेत बताइन् ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठाले प्रत्येक नर्सहरुले आफूलाई फ्लोरेन्स नाइटिङ्गेल बनाउन प्रेरित गर्नुपर्ने बताइन् । कलेजका अस्पताल निर्देशक प्रा.डा. निलमणि उपाध्यायले नर्सहरुले बिरामीको उपचार र स्याहारमा पु¥याएको योगदानको स्मरण गरे ।
कलेजकी मेट्रोन नविना सिंहले सरकारले नर्सिङ शिक्षाको विकास, विस्तार र प्रवर्द्धनमा काम गर्नुपर्ने बताइन् । विश्वभर नर्सहरूको माग भइरहेको बेला सरकारले नर्सिङ कलेज बन्द गर्दा दक्ष जनशक्ति अभाव भइरहेको जनाउँदै बन्द भएका कलेज खोल्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा नेपाल मेडिकल कलेजका विगत १५ वर्षदेखि कार्यरत २९ जना नर्सहरुलाई सम्मान समेत गरिएको थियो । आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्म १२ मे १८२०मा भएको थियो । उनलाई आधुनिक नर्सिङ आन्दोलनको जन्मदाता मानिन्छ । दया र सेवाकी प्रतिमूर्ति नाइटिङ्गेललाई ‘द लेडी विद द ल्याम्प’ भनेर विश्वभर सम्मान गरिन्छ । अन्तर्राष्ट्रिय नर्स परिषद्ले यो वर्ष ‘हाम्रा नर्सहरू, हाम्रा भविष्य, नर्सहरूको हेरचाहले अर्थतन्त्रलाई सुदृढ बनाउँछ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउँदैछ ।