काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका सरकारी अस्पतालहरुमा झण्डै आधा अर्ब बराबरका चिकित्सा उपकरणहरु प्रयोगबिहीन रहेको पाइएको छ । महालेखा परीक्षकको ६२ औं सारांश प्रतिवेदनकाअनुसार देशका प्रमुख अस्पतालहरुमा ४३ करोड ३८ लाख रुपैयाँ बढीका उपकरणहरु प्रयोगबिहीन रहेका छन् ।
संघीय अस्पतालहरु र विपी प्रतिष्ठानमा ती उपकरण थन्काइएको छ । जसअनुसार पूर्व क्षेत्रकै प्रमुख अस्पताल कोशीमा विगतमा खरिद गरिएका २ करोड ८ लाख ६५ हजार रुपैयाँ बराबरका भेन्टिलेटरलगायतका पाँच प्रकारका उपकरण प्रयोगबिहीन अवस्थामा छन् । यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आफै खरिद गरेका र स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेका ४ करोड २९ लाख ६५ हजार रुपैयाँ बराबरका भेन्टिलेटर, पेसेन्ट मोनिटरलगायतका ७ प्रकारका उपकरण प्रयोगमा छैनन् ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा विभागले हस्तान्तरण ५ करोड ५९ लाख ४९ हजार रुपैयाँ बराबरका पोर्टेबल युएसजी मेसिन र ११ थान भेन्टिलेटर प्रयोगबिहीन छन् । विपीमै कोभिड—१९ समयमा स्थापना गरिएको १०० शैय्याको कोभिड—१९ अस्पताल, जुन पछि डेंगीका बिरामीको उपचारमा पनि प्रयोग भएको थियो त्यसमा रहेका २० शैय्याको भेन्टिलेटरसहितको आईसीयु र सो अस्पतालमा रहेका अन्य उपकरण गरी २४ करोड ५१ लाख ५२ हजार रुपैयाँ बराबरका उपकरण अहिले प्रयोगमा छैनन् ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका २ करोड २५ लाख रुपैयाँ बराबरको प्लाज्मा स्ट्रेलाइजर मेसिन उपयोगमा छैन । ट्रमा सेन्टर अस्पतालमा ५०५००/-अमेरिकी डलर (आजको विनिमय दरअनुसार नेपालीः ६८,९४,९४१/-रुपैयाँ)मा खरिद मुटु रोगका लागि खरिद क्याथ ल्याब, २ करोड ५१ लाख ३२ हजार रुपैयाँ बराबरका १४ थान भेन्टिलेटर, ८६ लाख ११ हजार बराबरका ५ थान सी आर्म मेसिन र ९९ लाख ६६ हजार रुपैयाँका ब्याकमान काउल्टर मेसिन बिग्रिएर थन्किएको प्रतिवेदनमा छ ।
कहाँ कति मूल्यका उपकरण थन्किएका छन् ?
१. कोशी अस्पताल भेन्टिलेटरसहितका उपकरण— २,०८,६५,०००/-
२. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आफैले खरिद गरेका र स्वास्थ्य सेवा विभागले दिएका भेन्टिलेटर, पेसेन्ट मोनिटरलगात—४,२९,६५,०००/-
३. विपीलाई स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेका पोर्टेबल युएसजी र भेन्टिलेटर—५,५९,४९,०००/-
४. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र प्लाज्मा स्ट्रेलाइजर—२,२५,००,०००/-
५. विपीमा भेन्टिलेटरसहितका आईसीयुमा प्रयोग भएका सामाग्री—२४,५१,५२,०००/-
६. ट्रमा सेन्टर अस्पतालमा मुटु रोगका लागि खरिद क्याथल्याब ५०५००/-अमेरिकी डलर (हालको विनिमयअनुसार नेपालीः ६८,९४,९४१/-रुपैयाँ)
७. ट्रमा सेन्टर अस्पतालमा १४ थान भेन्टिलेटर—२,५१,३२,०००/-
८. सी आर्म मेसिन—८६,११,०००/-
९. ब्याकमान काउल्टर—९९,६६,०००/-
