काठमाडौं—जापान सरकारले धुलिखेल अस्पतालले नयाँ बनाउन लागेको ‘धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’का लागि थप ५७ करोड ३० लाख येन आर्थिक सहायता दिने भएको छ । हालै अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत माएडा तोरुले सेन्टरलाई थप ५७ करोड ३० लाख जापनिज येन अनुदान दिने सहमतिमा हस्ताक्षर गरेका हुन् ।
यसअघि ६ भदौं २०८० मा बसेको मन्त्रिपरिषद्को बैठकले ३ अर्ब २९ करोड ६० लाख येन अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको थियो । जापानले केन्द्रका लागि मुल्यवृद्धि र अन्य आर्थिक कारणले उक्त रकम अपुग हुने देखिएपछि ५७ करोड ३० लाख येन अनुदान थप गरेको हो ।
जाइकामार्फत प्राप्त उक्त अनुदानमार्फत धुलिखेल नगरपालिका—६ काभ्रेमा १०० शैय्याको ‘धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ बन्दैंछ ।
सेन्टरको वातावरणीय प्रभाव मुल्यांकन (इआईए) प्रतिवेदन सन् २०२२ मै वन तथा वातावरण मन्त्रालयबाट पास भइसकेको छ । अहिले उक्त परियोजनाको डिजाइनको कामसमेत सकेर अगाडि बढिसकेको छ । जाइकाले कन्सल्ट्यान्टहरु हायर गरेर जापानमै डिजाइन तयार गरेको हो ।
९४२३.४८ वर्गकिलोमिटर क्षेत्रफलमा उक्त अस्पताल बन्नेछ । धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर संचालनका लागि तीन तला बेसमेन्टसहित पाँच तलाको भवन निर्माण हुने आयोजनाको ईआई प्रतिवेदनमा छ ।
उक्त भवन भूकम्प प्रतिरोधात्मक रहनुका साथै आपत्तकालीन संरचना जडित हुनेछ । १०० शैय्याको यो अस्पताल सञ्चालनमा आउँदा २०८ प्राविधिक तथा अप्राविधिक जनशक्तिले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ ।
ट्रमा सेन्टरबाट ट्रमा एण्ड इमर्जेन्सी मेडिकल सेवा, ट्रमा इमर्जेन्सी बहिरंग र अन्तरंग सेवा, ट्रमा इमर्जेन्सी शल्यक्रिया सेवा, आईसीयु र एचडियु सेवा, रेडियोलोजी सेवा, प्रयोगशाला सेवा, रक्त परीक्षण सेवा, फिजियोथेरापी सेवा र फार्मेसी सेवालगायत रहनेछन् ।