जुम्ला—सुष्मा कोइराला स्मृति अस्पताल, इन्टरप्लास्ट–नेपाल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । जलन र त्यसपछिका जटिलताका भएका बिरामीको गुणस्तरीय उपचार तथा स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारीअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिफारिस गरेका बिरामीलाई सुष्मा कोइराला स्मृति अस्पतालमा निःशुल्क उपचार प्रदान गरिनेछ । प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीलाई सैद्धान्तिक तथा व्यवहारिक तालिम दिइनेछ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति डा. डबलबहादुर धामीले टेलिमेडिसिन, सर्जन आदान—प्रदान र घुम्ती तालिमजस्ता कार्यक्रमले कर्णालीका दुर्गम क्षेत्रका बासिन्दालाई जलन उपचारमा सहज पहुँच पुग्ने बताए ।
इन्टरप्लास्ट–नेपालले प्राविधिक र आर्थिक सहयोगमार्फत यो साझेदारीलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ । विशेषगरी सीमान्तकृत र विपन्न समुदायलाई लक्षित सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।
समझदारीले जलन व्यवस्थापन सम्बन्धी तथ्यांक साझेदारी र अनुसन्धान परियोजनालाई समेत प्राथमिकता दिँदै अनुसन्धान र विकासमा संयुक्त सहकार्यको बाटो खोलेको छ ।
हस्ताक्षर गर्नेमा सुष्मा कोइराला स्मृति अस्पतालका मेडिकल निर्देशक डा. सन्तोषविक्रम भण्डारी, सिईओ दीपेन्द्रसिंह साउद, प्रतिष्ठानका निमित्त उपकुलपति डा. धामी, निर्देशक डा. पुजनकुमार रोकाया, इन्टरप्लास्ट–नेपालका उपाध्यक्ष डा. खकिन्द्रबहादुर भण्डारी र शल्यचिकित्सा विभाग प्रमुख डा. निर्मल थापा छन् ।