काठमाडौं । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालको सिर्जनामा रहेको ‘मेरो मृत्युपछि’ बोलको गीत सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक समारोहकाबिच भोला रिजाल अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।
गीतमा गायक प्रबिन बेडवालको स्वर सुन्न सकिन्छ भने संगीतकार न्हुँ बज्राचार्यको संगीत रहेको छ । डोरेमी स्डुडियोमा रेकर्डिङ गरिएको गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका छन् ।
गीतको भिडियोमा डा. रिजालसहित, डा. रिता गुरुङ, डा. भगवान कोइराला, डा. पुकारचन्द्र श्रेष्ठ, डा. ज्योतिन्द्र शर्मालगायतको अभिनय रहेको छ । भिडियोलाई बिरेन्द्र भाट विपिनले निर्देशन तथा छायाँकन गरेका हुन् । साथै, लोकेश भाटले भिएफएक्सको काम गरेका छन् । गीतको भिडियोलाई सरला रिजालले उत्पादन गरेकी हुन् ।
मृत्यु पश्चात आफ्नो शरीर मानव हितका लागि अर्पण गरेकाहरुप्रति गीत समर्पित गरिएको छ । समारोहमा बोल्ने क्रममा डा. रिजालले मरणोपरान्त आफूले शरीर दान गर्ने घोषणा गरिसकेको बताए । ‘यो पुण्य काम हो,’ उनले भने, ‘यो अभियानमा सबैले साथ दिन जरुरी छ ।’