२०८२ जेठ १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएसपीएमईआर प्रा.लि.*ले लियो ३५ वर्षका लागि महेन्द्रनारायण निधि अस्पतालको व्यवस्थापन

एसपीएमईआर प्रा.लि.*ले लियो ३५ वर्षका लागि महेन्द्रनारायण निधि अस्पतालको व्यवस्थापन

अब अस्पतालबाट नियमित सेवा दिन्छौं : ज्ञवाली


काठमाडौं—बसुन्धरास्थित १०० शैय्याको महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको व्यवस्थापन हेराल्ड इन्टरनेशनल कलेजका केही सञ्चालकहरू आवद्ध रहेको ‘स्कुल अफ प्लानिङ मोनिटरिङ इभालुएसन एण्ड रिसर्च (एसपीएमईआर) प्रा.लि.’*ले लिएको छ । एसपीएमईआरले केही महिनाअघि मात्रै ३५ वर्षका लागि अस्पतालको स्वामित्व लिएको हेराल्ड इन्टरनेशनल कलेजका अध्यक्ष कपिल ज्ञवालीले जानकारी दिए ।

‘हामीले केही समयअघिदेखि अस्पताल र नर्सिङ कलेजको व्यवस्थापन लियौं,’ उनले भने, ‘अब पहिलेजस्तो कहिले बन्द हुने, कहिले खुल्ने अवस्था आउँदैंन् । नियमित सेवाहरु दिन्छौं ।’ एसपीएमईआरले अस्पतालसँगै महेन्द्रनारायण निधि मेमोरियल हेल्थ इन्स्टिच्युटको व्यवस्थापनसमेत लिएको हो । उक्त कलेजले नर्सिङमा ४० सिट अध्यापन गराइरहेको छ ।

महेन्द्रनाराण निधि अस्पतालका अध्यक्ष कृष्ण वस्तीले अस्पतालको व्यवस्थापन एसपीएमईआरलाई दिएको पुष्टि गरे । ‘अस्पतालको व्यवस्थापन ३५ वर्षका लागि उहाँ (कपिल ज्ञवालीको समूह)हरुले लिनुभएको हो,’ उनले भने । तर, वस्तीले आर्थिक रुपमा के सहमति भएको हो भन्ने विषयमा भने खुलाउन चाहेनन् ।

महेन्द्रनारायण अस्पताल व्यवस्थापनले आर्थिक संकटमा परेपछि गत मंसिरदेखि नै नयाँ व्यवस्थापन खोजिरहेको थियो । त्यसका लागि उसले चरणवद्ध रुपमा विभिन्न समूहसँग छलफल चलाइरहेको समाचार यसअघि नै हेल्थआवाजले प्रकाशन गरेको थियो ।

नेपाली कांग्रेसका नेता स्व. महेन्द्रनारायण निधिको स्मृतिमा खोलिएको यो सामुदायिक अस्पताल हो । तर, पछिल्ला केही वर्षदेखि अस्पतालले आर्थिक अभावका कारण सञ्चालनमा समस्या भोगिरहेको थियो । आर्थिक रुपमा सबल नहुँदा अस्पताल खुल्ने र बन्द हुने अवस्था सिर्जना भएको थियो ।

महेन्द्रनारायण निधि सहकारीअन्तर्गत संचालित यो अस्पताल तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । अस्पतालको ६ तलाको भवन रहेको छ । यो अस्पताल नेपाली कांग्रेसका नेता स्व. महेन्द्रनारायण निधिको सम्झनामा उनका छोरा विमलेन्द्र निधिलगायतले स्थापना गरेका हुन् ।

सरकारी अनुदान रोक्का र अस्पताल राम्रोसँग चल्न नसकेपछि अस्पताल व्यवस्थापन दबाबमा परेको थियो । जसका कारण पछिल्लो समय कर्मचारीहरुलाई तलबभत्ता समेत दिन सकेको थिएन । सबै आर्थिक र व्यवस्थापकीय समस्या देखिएपछि अस्पतालको व्यवस्थापन एसपीएमईआर समूहलाई ३५ वर्षका लागि दिइएको हो ।

*यसअघि अस्पतालको व्यवस्थापन हेराल्ड कलेज समूहले लिएको हुन गएमाका सच्चाईको छ । सम्पादक)

यो पनि पढ्नुहोस्

व्यवस्थापन समूह खोज्दैं महेन्द्रनारायण निधि मेमोरियल हस्पिटल


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ