विराटनगर—मोरङको कटहरी गाउँपालिका–२ हल्दीवारीमा दुई अर्बको लागतमा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेसन सञ्चालनमा आउन लागेको छ । अत्याधुनिक स्वास्थ्य सेवासहित सञ्चालनमा आउन लागेको २०० शैय्याको सामुदायिक अस्पतालले २४ जेठदेखि सेवा प्रवाह गर्ने तयारी छ ।
अस्पतालको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने कार्यक्रम तय भएको छ । ग्रामीण तथा मध्यम वर्गीय जनतालाई लक्षित गर्दै सेवा सुरु गर्न लागिएको यो अस्पतालको मुख्य उद्देश्य सबै नागरिकको स्वास्थ्य सेवामा सहज र समान पहुँच सुनिश्चित गर्नु रहेको फाउण्डेसनका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिए । उनका अनुसार अस्पतालमा अत्याधुनिक उपकरण, अनुभवी चिकित्सक र दक्ष स्वास्थ्यकर्मीमार्फत गुणस्तरीय सेवा प्रदान गरिनेछ ।
‘हामीले लाभ नकमाउने तर गुणस्तरीय सेवा दिने लक्ष्य लिएका छौं,’ अध्यक्ष मण्डलले सोमबार अस्पताल परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत भने, ‘ग्रामीण क्षेत्रमा बसेका मानिसलाई सुलभ दरमा अत्याधुनिक स्वास्थ्य सेवा पु¥याउने हाम्रो प्राथमिकता हो ।’ अस्पतालमा आकस्मिक सेवा, विशेषज्ञ ओपीडी, गाइनो, बालरोग उपचार, डायलासिस, जनरल तथा लेप्रोस्कोपीक सर्जरीलगायतका सेवा उपलब्ध हुनेछन् ।

कार्डियोलोजी (हृदय रोग) तथा न्यूरो सर्जरी (मस्तिष्क तथा नशा रोग) सेवा पनि सुरु गर्ने तयारी अस्पतालको छ । ‘हामीले क्याथ ल्याब, सिटी स्क्यान, एमआरआईजस्ता उपकरण ल्याउने तयारी गरिरहेका छौं,’ मण्डलले भने, ‘हृदय तथा मस्तिष्क सम्बन्धी जटिल शल्यक्रियाका लागि आवश्यक पूर्वाधार पनि तयार पारिएका छन् ।’
मेडिकल कलेजसम्म विस्तारको दीर्घकालीन योजना
२० बिघा क्षेत्रफल रहेको अस्पतालको संरचना भविष्यमा मेडिकल कलेज सञ्चालन गर्न मिल्ने खालको बनाइएको छ । ५०० शैय्याको अस्पताल निर्माण गरेर एमबीबीएसलगायतका पाठ्यक्रम सञ्चालन गर्ने योजना फाउण्डेसनको छ ।
हाल अस्पतालमा दुई दर्जन बढी विशेषज्ञ चिकित्सकसहित २०० जनाको स्वास्थ्यकर्मी टिम कार्यरत छन् । भविष्यमा ३०० शैय्यामा विस्तार हुँदा ४४ जना विशेषज्ञ चिकित्सक, ७२ जना मेडिकल अधिकृत, १२० जना नर्स, ३६ जना पारामेडिकल, ६ जना फार्मेसी अधिकृतलगायत गरी करिब ३७० जनासम्म जनशक्ति आवश्यक पर्नेछ ।
के–के सेवा ?
आठ तले आधुनिक भवनमा अस्पताल सञ्चालन हुनेछ । भवनलाई तीन ब्लकमा विभाजन गरिएको छ । भुइँतलामा आकस्मिक सेवा (२० शैय्या), पहिलो तलामा ओपीडी, रेडियोलोजी र प्याथोलोजी, दोस्रो तलामा एनआईसियू, पीआईसीयु, पेडियाट्रिक र गाइनोकोलोजी वार्ड, तेस्रो जनरल वार्ड, चौथो तलामा आईसीयू २५ शैय्या, सीसीयु १० शैय्या र एचडियु, पाँचौं तलामा ओटी र पोस्ट–अप सेवा, छैटौं तलामा प्रशासनिक कार्यालय रहनेछ । बाँकी दुई तलाको निर्माण कार्य जारी छ ।
अस्पतालसँगै टेक्निकल एजुकेशन फाउण्डेसनअन्तर्गत नर्सिङ, फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोलोजी, फिजियोथेरापी, तथा अन्य स्वास्थ्य विज्ञानका विषयमा स्नातक र स्नातकोत्तर तहका कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ । ‘हामी शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादन गर्ने छौं,’ अध्यक्ष मण्डलले भने, ‘स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्न यस्ता तालिम केन्द्रको आवश्यकता छ ।’

२ पुस २०७६ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेसनले मुनाफारहित सामाजिक उद्यमको अवधारणामा काम गर्दै आएको छ । यसअघि जीवन विकास समाजले मोरङकै अमाहीबरियातिमा २४ घण्टे क्लिनिक सञ्चालन गर्दै आएको थियो । सोही अनुभवको आधारमा क्रमसः पब्लिक हेल्थ सेन्टर र अब सामुदायिक अस्पताल स्थापना गरिएको हो ।
जीवन विकास समाज २०५४ सालमा स्थापना भएको हो । ग्रामीण भेगमा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारका क्षेत्रमा काम गर्दै आएको यस संस्थाले विशेष गरी विपन्न र पछाडि परेका वर्गलाई प्राथमिकता दिएको दाबी मण्डलले गरेका छन् ।
नेपालकै पहिलो सामुदायिक अस्पतालको दाबी

अस्पतालको सम्पूर्ण संरचना अपांगमैत्री, महिला र बालमैत्री हुनेगरी बनाइएको छ । ह्वीलचेयर चलाउने सहज पहुँच, छुट्टै महिला–बाल वार्ड र दृष्टिविहीन तथा अशक्त व्यक्तिका लागि विशेष व्यवस्था समेत गरिएको छ ।
अध्यक्ष मण्डलकाअनुसार जीवन विकास दुई अर्बको लागतमा एकै पटक २०० शैय्याको सेवा सुरु गर्ने नेपालकै पहिलो सामुदायिक अस्पताल हो । मुनाफा वितरण नगर्ने तर गुणस्तरीय सेवा दिने सामुदायिक अवधारणामा आधारित अस्पताल नेपालमै पहिलो पटक यस्तो व्यापक संरचनामा निर्माण गरिएको उनले बताए ।
भविष्यमा मेडिकल कलेज सञ्चालन हुने तयारीको साथ सञ्चालनमा ल्याउने योजना रहेको अस्पतालले मोरङसहित आसपासका जिल्ला र भारतका बिरामीहरुलाई समेत लक्षित गरेर स्थापना गरिएको हो ।
