काठमाडौं—नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको छाता संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको आगामी नेतृत्वको लागि पार्टीका नेताहरुले प्रस्ताव गरेका अध्यक्ष तथा पदाधिकारीका नामलाई हलले अस्वीकृत गरेको छ ।
पार्टी जनसंगठन समन्वय संयन्त्र प्रमुख तथा पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल र स्वास्थ्य विभाग इन्चार्ज कृष्ण गोपाल श्रेष्ठले हलमा सर्बसम्मतिका लागि प्रस्ताव गरेको अध्यक्षसहित पदाधिकारीको नामावली हलले अस्वीकृत गरेको हो ।
उनीहरुले महासंघको अध्यक्षमा डा. सन्तोष पौडेलसहितका ९ जना पदाधिकारीको टिम प्रस्ताव गरेका थिए । जसमा उपाध्यक्षमा रामहरि ढकाल, अमृता बराल, महासचिवमा भिमराज सिंह, उपमहासचिवमा खगराज पोखरेलको नाम प्रस्ताव गरिएको थियो ।
त्यसैगरी, चार सचिवमा चन्द्र सुनार, धर्मराज यादव, अनुप केसी र रुपा केसीको नाम हलमा प्रस्ताव गरिएको थियो । सो प्रस्तावलाई हलले अस्वीकार गरेको एक प्रतिनिधीले जानकारी दिए ।
हलले नेताहरुबाट आएको नाम अस्वीकृत गरेसँगै प्रतिनिधीहरुमाझ अन्योल सिर्जना भएको छ । तथापि मनोनयन दर्ता गरेका उम्मेदवारहरु भने प्रतिनिधीहरुसँग भोट मागिरहेका छन् । निर्वाचन आयोगले पनि आफ्नो काममा निरन्तरता दिइरहेको छ ।
नेतृत्वमा सहमति नबन्दा १७ जेठमा सुरु भएको महासंघको पाँचौ महाधिवेशन एक दिन लम्बिइसकेको छ ।