विराटनगर-विराट मेडिकल कलेज टिचिङ हस्पिटलले कोशी प्रदेशमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको औपचारिक सुरुवात गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त सेवा सुरु गरेको हो ।
कार्यक्रममा सीएमसीका न्यूक्लियर मेडिसिन विभाग प्रमुख डा. जीवन पौडेलले पूर्वी नेपालमा यस्तो अत्याधुनिक प्रविधियुक्त विभाग सुरु हुनु स्वास्थ्य क्षेत्रमा एक ठूलो फड्को भएको बताए । उनले विराट मेडिकल कलेज टिचिङ हस्पिटलले ल्याएको यो कदमले क्यान्सर जस्ता जटिल रोगहरूको निदान र उपचारमा नयाँयुगको सुरुवात गरेको स्पष्ट पारे ।
रक्त तथा क्यान्सर रोग विशेषज्ञ डा. सुलभ सापकोटा र डा. अस्मिता रायमाझीले विभागको सुरुवातसँगै क्यान्सर उपचार अझ सहज, भरपर्दो र सर्वसुलभ हुने विश्वास व्यक्त गरे । उनीहरुले अब पूर्वी नेपालका सर्वसाधारणले पनि विश्वस्तरीय सेवा सहजै प्राप्त गर्न सक्ने वातावरण निर्माण भएको बताए ।
अस्पतालका संस्थापक अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले विराट मेडिकल कलेज टिचिङ हस्पिटल स्थापना गर्दा हामीले सेवा, शिक्षा र सामाजिक परिवर्तनको केन्द्र बनाउने लक्ष्य राखेको बताए । न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको सुरुवातले त्यो परिकल्पना आज थप मजबुत बनेको उनले बताए ।
‘स्वास्थ्य सेवा नाफा मुखी होइन, सेवामुखी हुनुपर्छ भन्ने मान्यतामा हामी अडिग छौं । गुणस्तरीय सेवा, दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिको संयोजन मार्फत हामी अस्पताललाई अझ सहज रूपमा आम नागरिकको पहुँचमा पु¥याउन चाहन्छौं,’ अध्यक्ष डा. कार्कीले भने, ‘हामी चाहन्छौं कि बिरामीहरू उपचारका लागि काठमाडौं वाविदेश जाननपरोस्, सबै सेवा यही विराटनगरमै सहज रूपमा उपलब्ध होस् ।’
अस्पतालका सीईओ डा. निकिता कार्कीले पनि स्वास्थ्य सेवा जनउत्तरदायी र सर्वसुलभ हुनुपर्छ भन्ने मान्यताका साथ अस्पताल सञ्चालन भइरहेको बताए । उनले अस्पताललाई अझ सुविधा सम्पन्न, प्रविधिमैत्री र अनुसन्धान मुखी बनाउने लक्ष्यसहित आगामी दिनहरूमा थप सेवा विस्तार गरिने जानकारी दिए ।