काठमाडौं—राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी बिच्छाले पछिल्लो समय नेपाली समुदायमा मानसिक समस्या विकराल बन्दै गएकोे बताएका छन् । मानसिक स्वास्थ्य सम्बन्धी काम गर्दै आएको बहुसाँस्कृतिक मजोसामाजिक नेपाल (टिपिओ नेपाल)को २० औ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कर्यक्रममा बोल्दै प्रा.डा. बिच्छाले १६ औं पञ्चवर्षीय योजनामा मानसिक स्वास्थ्य प्राथमिकतामा परेको बताए ।
उनले सरकारको इयरमार्क कार्यक्रमभित्र मनोसामाजिक स्वास्थ्य कार्यक्रम पनि परेको हुँदा नियमित बजेट पनि विनियोजन भएको उनको भनाइ थियो । पछिल्लो समयको सामाजिक संरचना चाँडो परिवर्तन भएर अगाडि जाँदा मानसिक समस्याका विषय पनि थपिदैँ गएको बताए । ‘युवा जनशक्ति विदेशिएको छ,’ उनले भने, ‘त्यसले पारिवारिक विछोड ल्याएर मानसिक समस्याको एउटा प्रमुख कारण बनेको छ ।’
उनले मनोसामाजिक क्षेत्रमा २० वर्ष काम गरेको टिपिओ नेपाललाई हिजोको अवस्था र आजको अवस्थामा काम गर्दा बीचमा रहेको खाडलका विषयमा गहिरो अध्ययन गरेर सरकारलाई सुझाव दिन समेत अनुरोध गरे । ‘काम भइरहेका छन् तर पनि कही न कही ग्याप रहेको छ,’ उनले भने, ‘त्यो ग्याप कहाँ छ भन्ने कुरा तपाईंहरुले अध्ययन गरेर भन्नुहोस् ।’ उनले अध्ययनसहितको सुझाव आए भोलिको दिनमा पोलिसी बनाउन र बजेटिङ गर्न सहज हुने बताए ।
कार्यक्रममा योजना आयोगका सचिव मुरारीप्रसाद खरेलले हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मानसिक समस्या सम्बन्धी एउटा डेक्स राख्न पनि कठिन भएको सम्झना गरे । तर, अहिले सरकारको प्राथमिकताको कार्यक्रम परेको भन्दै नीति र बजेटले मात्र केही नहुने भएकाले त्यसको कार्यन्वयनमा जोड दिनुपर्ने बताए । त्यसैगरी, आयोगकै सहसचिव राजन पौडेलले पछिल्लो समय वैदेशिक रोजगारी र त्यससँग जोडिएका समस्याले समाजमा बढी मनोसामाजिक समस्या बढ्दैं गएको बताए ।
त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभागका प्रा.डा. सरोज ओझाले अहिले पनि मानसिक स्वास्थ्य र मानसिक समस्यालाई एउटै तरिकाले हेर्ने चलन रहेको बताए । उनले मानसिक समस्या भएका मानिसले खाने औषधीकै विषयमा पनि हेराइ फरक भएको भन्दै अरु औषधी खानु र मानसिक समस्या सम्बन्धी औषधी सेवन गर्नु एउटै रहेको उनको भनाइ थियो ।
संस्थाकी अध्यक्ष डा. मिता राणाले मानसिक स्वास्थ्यका विषयमा अझै धेरै बहस गुर्नपर्ने भन्दै संस्था २० वर्ष पुग्नका लागि सरकार र अन्य सरोकारवालाहरुको सहयोगलाई धन्यवाद दिइन् ।