२०८२ जेठ २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १जीवन विकास अस्पतालमा ११६ चिकित्सकसहित ५१६ जनाले रोजगारी पाउने

जीवन विकास अस्पतालमा ११६ चिकित्सकसहित ५१६ जनाले रोजगारी पाउने

केही नभएको ठाउँमा दुई सय शैय्याको अस्पताल खोल्नु ठूलो उपलब्धि हो : प्रधानमन्त्री


विराटनगर—मोरङको कटहरी गाउँपालिका–२ हल्दीवारीमा दुई अर्बको लागतमा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेसन संचालनमा आएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालनमा आएको उक्त अस्पतालमा पूर्ण रुपमा सञ्चालनमा आउँदा ११६ जना चिकित्सकसहित ५१६ जनाले रोजगारी पाउने आँकलन गरिएको छ ।

२० बिगाहा क्षेत्रफल फैलिएको उक्त अस्पतालको संरचना भविष्यमा मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्यका साथ बनाइएको छ । ५०० शैय्याको अस्पताल निर्माण गरेर एमबीबीएसलगायतका पाठ्यक्रम सञ्चालन गर्ने योजना फाउण्डेसनको छ ।

हाल २०० शैय्या सञ्चालनमा आएको उक्त अस्पतालमा दुई दर्जन बढी विशेषज्ञ चिकित्सकसहित २०० जनाको स्वास्थ्यकर्मी टिम कार्यरत छ । भविष्यमा ३ सय शैय्यामा विस्तार हुँदा ४४ जना विशेषज्ञ चिकित्सक, ७२ जना मेडिकल अधिकृत, १२० जना नर्स, ३६ जना पारामेडिकल, ६ जना फार्मेसी अधिकृतलगायत गरी करिब ५१६ जनासम्म जनशक्ति आवश्यक पर्ने अस्पतालको वातावरणी प्रभाव मुल्यांकन प्रतिवेदन (ईआईए)मा आँकलन गरिएको छ ।

शनिबार अस्पताल उद्घाटन समारोहमा बोल्दैं प्रधानमन्त्री ओलीले समाज परिवर्तनका लागि ठूला सपना देख्नुपर्ने र ती सपना व्यवहारमा उतार्न सकिने बताए । ‘केही नभएको ठाउँमा दुई सय शैय्याको अस्पताल खोल्नु ठूलो उपलब्धि हो। सम्मानपूर्वक ढंगले गरिबले उपचार पाउने छन् तसर्थ म अत्यन्त खुसी छु,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीले तीन सय शैय्यामा विस्तार गरी अस्पताललाई भविष्यमा मेडिकल कलेजमा रूपान्तरण गर्ने योजना रहेको उल्लेख गर्दै थपे, ‘तीन सय बेड पुर्‍याएपछि मेडिकल कलेज पनि पुर्‍याउन सकिन्छ । सरकारले तपाईंहरूलाई प्रोत्साहन र आत्मविश्वास बढाउन जे आवश्यक सहयोग हो, गर्न तत्पर छ ।’

उनले प्रतिनिधिसभा सदस्य तथा अस्पतालका अध्यक्ष योगेन्द्र मण्डलको प्रशंसा गर्दै भने, ‘आज धेरैलाई सम्मान गर्नुपर्ने थियो । तर, छुट भयो। म स्पष्ट भन्न चाहन्छु आज सम्मान योगेन्द्र मण्डललाई दिनुपर्ने हो । त्यो सम्मान अर्को दिन दिनुपर्छ ।’
उनले उद्यमशीलता केवल कुरा गरेर नभई काम गरेर देखाउन सकिने धारणा व्यक्त गरे । ‘उद्यमशीलताको कुरा गरेर हुँदैन, कामले हुन्छ,’ उनले भने । प्रधानमन्त्रीले अस्पतालमार्फत समाजमा परिवर्तन ल्याउने अभियानको खुलेर प्रशंसा गरे ।

ग्रामीण तथा मध्यम वर्गीय जनतालाई लक्षित गर्दै सेवा सुरु गर्न लागिएको उक्त अस्पतालको मुख्य उद्देश्य सबै नागरिकको स्वास्थ्य सेवामा सहज र समान पहुँच सुनिश्चित गर्नु रहेको फाउण्डेसनका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिए । उनका अनुसार अस्पतालमा अत्याधुनिक उपकरण, अनुभवी चिकित्सक र दक्ष स्वास्थ्यकर्मीमार्फत गुणस्तरीय सेवा प्रदान गरिनेछ ।

अस्पतालमा आकस्मिक सेवा, विशेषज्ञ ओपीडी, गाइनो, बालरोग उपचार, डायलासिस, जनरल तथा लेप्रोस्कोपिक सर्जरीलगायतका सेवा उपलब्ध हुनेछन् । साथै, हृदय रोग तथा न्यूरो सर्जरी सेवा पनि सुरु गर्ने तयारी गरिएको छ । ‘हामीले क्याथ ल्याब, सिटी स्क्यान, एमआरआईजस्ता उपकरण ल्याउने तयारी गरिरहेका छौं,’ उनले भने, ‘हृदय तथा मस्तिष्क सम्बन्धी जटिल शल्यक्रियाका लागि आवश्यक पूर्वाधार पनि तयार पारिएका छन् ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ