विराटनगर -कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य क्षेत्रमा ७ करोड रुपैयाँ बजेट घटाएर ल्याएको छ ।
आगमी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा स्वास्थ्यमा ३ अर्ब ५८ करोड रहेको थियो । कोशी स्वास्थ्य क्षेत्रमा ७ करोड रुपैयाँ बजेट घटाएर ल्याएको छ ।
बजेट अनुसार, विराटनगरस्थित शैलजा ह्दयरोग केन्द्रलाई विशेषज्ञ अस्पतालका रूपमा स्तरोन्नति गरिनेछ । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नामक स्वास्थ्य सचेतना अभियान सञ्चालन गरिनेछ । प्रदेशका सबै अस्पतालहरूमा मानसिक स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । त्यस्तै, औषधि खरिदका लागि ३ करोड ६१ लाख रुपैयाँ छुट्याइएको छ ।
स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गर्दै स्वास्थ्य मन्त्री भुपेन्द्र राईको गृह जिल्ला खोटाङमा जडीबुटी प्रसोधन केन्द्र स्थापना गर्न ३ करोड रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्यमा मन्त्रीले राईले आफ्नो गृह जिल्लामा निजी क्षेत्रसँगको समझदारीमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना तथा संचालन गर्नको लागि सो रकम बजेट बिनायोजन गरिएको हो । १० वर्षभन्दा कम उमेरका बालबालिकालाई सरकारी अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ ।
विद्यालय नर्सिङ स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने भएको छ भने प्रदेश ल्याब सुदृढीकरणका लागि ३ करोड १० लाख रुपैयाँ छुट्याइएको छ ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रूपैयाँको बजेट ल्याएको छ । कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार सो अनुमान प्रस्तुत गरेका हुन् ।
कुल विनियोजन बजेटमध्ये चालु तर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत र पुँजीगत तर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७ दशमलप ७ प्रतिशत विनियोजन भएको छ । वित्तीय व्यवस्थापन तर्फ रु १० करोड अर्थात् ०.३ प्रतिशत रहेको छ ।
आगामी वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा १.१७ प्रतिशत बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट बनाएको थियो ।