काठमाडौं—सुदर्शन देवकोटा स्मृति राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार—२०८२ गोरखापत्र दैनिकमा कार्यरत सरोज ढुङ्गेललाई प्रदान गरिएको छ । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी, सुदर्शन देवकोटा फाउण्डेशनकी अध्यक्ष डा. सुधा देवकोटाले संयुक्त रुपमा ढुङ्गेललाई ३३ हजार ३३३ राशीको पुरस्कार प्रदान गरेका हुन् ।
स्वर्गीय पत्रकार सुदर्शन देवकोटाको १८औँ पुण्यतिथीको अवसरमा आयोजित समारोहमा पुरस्कार हस्तान्तरण गरिएको हो । शारदा सुदर्शन देवकोटा फाउण्डेशनले पाँच वर्षदेखि स्वास्थ्य पत्रकार मञ्चको सहकार्यमा उक्त पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
पुरस्कार वितरण कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री गिरीले स्वास्थ्य पत्रकारिताको भेग रहेको भन्दै स्वास्थ्य पत्रकारहरुले आफ्नो विषयमा पोख्त भएर कलम चलाउनुपर्ने बताए ।
स्वर्गीय पत्रकार देवकोटाकी छोरी तथा फाउण्डेशनकी अध्यक्ष डा. देवकोटाले आफ्ना बुबाले पत्रकारितामा व्यतीत गरेको समय स्मरण गर्दै पत्रकारितालाई थप जिम्मेवार र प्रभावकारी बनाउन यस पुरस्कार स्थापना गरेको बताइन्।
कार्यक्रममा कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले स्व. देवकोटाको योगदानको स्मरण गर्दै पत्रकारहरूले दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीको अवस्था उजागर गर्नु जरुरी रहेको बताए ।