२०८२ असार ९, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा

सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा


जुम्ला—सिंजा गाउँपालिका पोषणमैत्री पालिका घोषणा गरिएको छ । पालिकाका सम्पूर्ण स्वास्थ्य संस्थालाई पोषण मैत्री घोषणा गरिएको हो ।
पालिकाभित्र रहेका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रलगायत सबै स्वास्थ्य संस्थाहरुलाई जुम्लाकै पहिलो पालिकाका रुपमा पोषण मैत्री घोषणा गरिएको हो । सिंजाका गाउँपालिकामा रहेका ३ वटा स्वास्थ्य चौकी र ३ वटा आधारभूत स्वास्थ्य केन्द्र र पालिकाको स्वास्थ्य शाखालाई १६ वटा सूचक पूरा गरी पूर्ण पोषणमैत्री घोषणा गरिएको हो ।

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म नेपालमा सबै प्रकारका कुपोषण अन्त्य गरी पोषणमैत्री मुलुक घोषणा गर्ने संकल्प गरिएको छ । सोही बमोजिम सिंजा गाउँपालिका कर्णालीका ७९ वटा पालिकामध्ये पोषणमैत्री घोषणा हुने पहिलो पालिका बनेको हो । सोमबार प्रतिनिधि सभा सदस्य विनिता कठायतले एक औपचारिक कार्यक्रमका बीच सिंजाका स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गरेकी हुन् ।

घोषणा कार्यक्रमपछि बोल्दै प्रतिनिधि सभा सदस्य कठायतले पहिलो पोषणमैत्री पालिका घोषणा गरेर सिंजाले कर्णालीमै नमुना उदाहरण पेश गरेको बताइन् । ‘अब विद्यालयमा पूर्ण रुपमा पोषणयुक्त खाजा खुवाउने व्यवस्थापन गर्नुपर्छ । जुम्लाका आठै पालिकामध्ये पहिलो पालिकाका रुपमा पोषण मैत्री घोषणा हुनु सुखद पक्ष हो । घोेषणा कार्यान्वयन र उत्पादन वृद्विमा जोड दिन जरुरी छ,’ उनले भनिन् ।

शारीरिक, मानसिक रुपमा आमा तथा बच्चालाई स्वास्थ राख्नका लागि पोषणमा ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो । उनले स्थानीय सरकारले नीति तथा कार्यक्रममै पोषणका सवाललाई प्रथामिकता दिन सुझाव दिइन् । कठायतले बालबालिका भविष्यका कर्णदार भएकाले उनिहरुको पोषण अबस्था सुधारसँगै शिक्षा स्वास्थ्यमा पनि ध्यान दिनु पर्ने उल्लेख गरिन् ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजाले हालसम्म गरेका महत्वपूर्ण काम मध्य पोषणमैत्री स्वास्थ्य संस्था घोषणा एक ऐतिहासिक काम भएको बताए । उनले पालिकाले सुरुदेखिनै शिक्षा, स्वास्थ्य, पोषण सुधारमा काम गर्दै आएको प्रतिफल देखिएको उल्लेख गरेका छन् । सिंजाको विकास तथा समृद्विका लागि प्लान इन्टरनेश्नल नेपाल र पेस नेपालले गरेको योगदान तथा सहयोग समन्वय प्रसंशायोग्य रहेको उनको भनाइ छ ।

पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले सिंजा गाउँपालिकाले तोकिएका सबै सूचक पूरा गरेर जुम्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य घोषणा गर्न सफल भएको छ । घोषणा गर्नु मात्रै महत्वपूर्ण नभई व्यवहारमा कार्यान्वयन गरी पोषणमा सुधार ल्याउन जरुरी रहेकाले उत्पादन बढाउन तथा खानपानमा ध्यान दिन उनले आग्रह गरे ।

सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले तोकिएका १६ वटा सूचकहरुलाइ पूरा गरेर जुम्लाकै पहिलो स्वास्थ्य संस्था पोषण मैत्री घोषणा गर्न सफल भएको बताए । उनकाअनुसार पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सम्म विभिन्न तवरबाट सहयोग तथा योगदान दिने सरोकारवालाई समेत सम्मान पत्र हस्तान्तरण गरिएको छ । ‘यसअघि सिंजा पोषण प्रर्दशनी मेला आयोजना गरेका थियौँ । आज पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न सफल भयौं,’ उनले भने, ‘रैथाने वालीको उपभोग बढाएर मातृशिशुमा हुने कूपोषणलाई शुन्यमा झार्ने र आम नागरिकलाई असल खानपानका विषयमा सिंजाले उल्लेखनीय काम गरेको छ ।’

सिंजा गाउँपालिका, पेस नेपाल र प्लान इन्टरनेश्नल नेपालको समन्वय सहकार्यमा सिंजाका स्वास्थ्य संस्थाहरु पोषणमैत्री घोषणा भएका हुन् । सिंजा गाउँपालिका घरमा हुने सुत्केरी दरलाई शुन्यमा झार्ने र पूर्ण सरसफाईयुक्त वडा तथा पालिका घोषणाको तयारीमा छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ