२०८२ असार १३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यविदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा

विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा

एक वर्षमा एआईभी/एड्सबाट ६१४ नयाँ संक्रमित, ५६९ को मृत्यु


काठमाडौं—दातृ निकायको सहयोगमा आएको निरन्तर कटौतीको बहस भइरहेका बेला राष्ट्रिय एचआईभी तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान नभएको बताएका छन् । शुक्रबार स्वास्थ्य पैरवी समाज नेपालले काठमाडौं आयोजना गरेको ‘नेपालमा एचआईभी कार्यक्रमको वर्तमान अवस्थाबारे पत्रकारसँग अन्तक्रिया कार्यक्रम’मा डा. शर्माले सो कुरा बताएका हुन् ।

‘विदेशी सहयोगमै भर पर्नु दीर्घकालीन समाधान होइन्,’ उनले भने, ‘हामी आफैँले सेवा सञ्चालन गर्न सक्ने संरचना बनाउन आवश्यक छ।’ उनले दातृ संस्थाको भरमा पूर्ण लक्ष्य निर्धारण गर्न नहुनेमा पनि जोड दिए ।

निर्देशक डा. शर्माकाअनुसार हाल नेपालमा एक वर्षमा ६१४ जना नयाँ व्यक्ति एचआईभीबाट संक्रमित हुने गरेका छन् भने ५६९ जनाको मृत्यु हुने अनुमान छ। ‘सस्तो तथा पृथक सेवा वितरण जस्तैः कन्डम र लुब्रिकेन्टको पहुँच घट्दा जोखिममा रहेका समूहमा संक्रमण दर फेरि बढ्न सक्छ,’ उनले भने, ‘देशभर रहेका ९२ वटा एआरटी केन्द्रहरूबाट परीक्षण, औषधि वितरण, भाइरल लोड जाँचजस्ता सेवा दिइँदै आएको छ। तर, दातृ सहायता घट्दै जाँदा स्थायीत्वमा चुनौती आउन थालेको छ।’ उनले दातृ निकायको सहायता कटौतीको प्रभाव तीन महिनामै भने नदेखिएको बताए ।

शर्माका अनुसार, हाल देशभर ३० हजारभन्दा बढी एचआईभी संक्रमित रहेका छन्। तीमध्ये ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला छन्। बालबालिका (१४ वर्षमुनिका)मा संक्रमितको संख्या १ हजार ५८ रहेको छ भने मातृ–शिशु सरेर संक्रमण भएकाको संख्या २२७ छ।

केन्द्रकी जनस्वास्थ्य प्रशासक अस्मिता ओझाले कारागारमा रहेका व्यक्ति, सुई प्रयोग गर्ने लागुऔषध प्रयोगकर्ता, यौन व्यवसायमा संलग्न, ट्रान्सजेन्डर, र पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषहरू एचआईभीको उच्च जोखिममा रहेको बताइन् । ‘हामीले यी समूहका मानिसहरुलाई सेवा पहुँचभित्र ल्याएका छौं । तर, स्थायीत्वका लागि सरकारको दीर्घकालीन नीति अपरिहार्य भइसकेको छ,’ उनले भनिन् ।

‘हाम्रो समान पहुँच’ संस्थाकी प्रोजेक्ट फोकल पर्सन ज्योति थापाले अनुदान कटौती समस्या सिर्जना भएको बताइन् । ‘संक्रमित व्यक्तिले प्रेभ खान नपाएपछि स्वस्थ पार्टनर संक्रमित हुन पुग्छ। कन्डम पनि छैन, प्रेभ पनि खान पाइएको छैन भने अवश्य संक्रमण बढ्छ,’ उनले भनिन् ।

उनले कन्डमजस्ता निःशुल्क सामग्रीले संक्रमण दर घटाउन भूमिका खेलेको तर दातृ संस्थाको बजेट कटौतीपछि यस्तो सेवा रोकिँदा पुनः जोखिम बढ्ने खतरा औंल्याइन्।

‘नीति बनाउनेले यस्तो सूक्ष्म क्षेत्रमा ध्यान नदिँदा नयाँ संक्रमित थपिने डर छ,’ उनले भनिन्। उनले एचआईभी संक्रमण नियन्त्रणका लागि आवश्यक साधन, जस्तै कन्डम र प्री–एक्सपोजर प्रोफिल्याक्सिसको अभाव भएकाले नयाँ संक्रमितको जोखिम झनै बढेर गएको बताइन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ