वीरेन्द्रनगर—जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष स्वास्थ्य सेवा सुरु भएको छ । अस्पतालमा इन्डोस्कोपी, कोलोनोस्कोपी र इकोकार्डियोग्राफी सेवाको औपचारिक रूपमा सुरुवात गरिएको हो ।
यस्ता विशिष्ट स्वास्थ्य सेवाका लागि यसअघि अन्यन्तै जानुपर्ने बाध्यता रहेकोमा जिल्लाबाटै सुविधा उपलब्ध गराउने उद्देश्यसहित अस्पतालले नयाँ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
स्वास्थ्य प्रणालीको सुदृढीकरणका लागि यस्ता सेवा विस्तार गर्न आवश्यक रहेको जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल बताए ।
मुटु र पेटको परीक्षण सेवा प्रारम्भ भएको जानकारी गराउँदै नियमित रूपमा गुणस्तरीय सेवा प्रवाह गर्ने स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डा. अर्जुन बुढाले बताए ।
अस्पतालका अनुसार पेट र अन्ननलीको भित्री भागको भिडियो परीक्षण, अपच, ग्यास्ट्रिक, अल्सर, रक्तस्राव आदि समस्याको निदानका लागि इन्डोस्कोपी सेवा सुरु गरिएको छ ।
यस्तै, ठूलो आन्द्राको भित्री भागको परीक्षण लगायत रोगको पहिचानका लागि कोलोनोस्कोपी सेवा र मुटु रोग पहिचानका लागि इकोकार्डियोग्राफी सेवाअस्पतालले दिनेछ ।