२०८२ असार २३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथाहा नगरपालिकाको अक्सिजन प्लान्ट खरिदमा भ्रष्टाचार गरेको आरोपमा ५ जना विरुद्ध मुद्धा दायर

थाहा नगरपालिकाको अक्सिजन प्लान्ट खरिदमा भ्रष्टाचार गरेको आरोपमा ५ जना विरुद्ध मुद्धा दायर


काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थाहा नगरपालिकाको अक्सिजन प्लान्ट खरिदमा भ्रष्टाचार गरेको आरोपमा पाँच जना विरुद्ध मुद्धा दायर गरेको छ । आइतबार अख्तियारले अक्सिजन जेनेरेशन प्लान्ट खरिदमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरीलाल पुरीसहित पाँच जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

प्रदेश सरकारको ५५ लाख रुपैयाँ र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ करोड बजेटमा उक्त प्लान्ट खरिद गरिएको थियो । प्लान्ट खरिदका लागि पुरीको संयोजकत्वमा खरिद मुल्यांकन समिति बनाइएको थियो । जसले प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीबाट स्पेशिफिकेशन तयार पार्न लगाइएको थियो ।

खरिदका लागि सूचना प्रकाशित भएपछि ८ वटा फर्मले बिडिङमा भाग लिएका थिए । तीमध्ये बोलपत्र स्वीकृत गर्दा बदनियत राखेर फर्मलाई उत्तीर्ण गराएको, माग भएको भन्दा फरक रुप, रंग आकार, तोकिएको शर्त तथा मापदण्ड विपरित झुटा कागजात पेश गरेर कम गुणस्तर र कम मुल्यको फरक प्रविधीको रेफ्रीग्रेटेड एयर ड्रायर टेक्नोलोजी प्रस्ताव गर्ने फर्म शुभारम्भ सर्विस ट्रेडर्स प्रा.लि.लाई प्राविधिक रुपमा उत्तीर्ण गराएको, आपसी मिलेमतो तथा योजनामा बदनियत राखेको अख्तियारको दावी छ ।

शुभारम्भ सर्विस ट्रेडर्स प्रा.लि.को १ करोड १० लाख १ हजार १९९ रुपैयाँ ७५ पैसाको बोलपत्र प्राविधिक मुल्यांकनमा उत्तीर्ण गराएर सम्झौता गरी सामाग्रीसमेत नगरपालिकाका दाखिला गरिसकिएको थियो । उक्त सामानको पेश्की स्वरुप १२ लाख रुपैयाँ दिइएको अख्तियारको दावी छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरी, थाहा नगरपालिकाका तत्कालीन लेखा अधिकृत हरिबहादुर खपांगीमगर, थाहा नगरपालिकाका तत्कालीन इन्जिनियर सन्तोष बोहरा र सहायक पाँचौ सुदर्शन पहेली, बायोमेडिकल इन्जिनियर कमली, सुभारम्भ सर्विस ट्रेडर्स प्रा.लि.का सोवित प्रसाईमाथि कैद र बिगो सजाय माग गर्दै मुद्धा दायर गरिएको छ । उनीहरु सबैबाट १२÷१२ लाख रुपैयाँ बिगो समेत माग गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ