वीरेन्द्रनगर—रुकुमपश्चिममा स्वास्थ्य बीमा गर्नेको संख्या वृद्धि भएको छ । जिल्लाभरमा कुल स्वास्थ्य बीमा गर्नेको संख्या ९१ हजार २२० पुगेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभरबाट ९ हजार ३४० जना स्वास्थ्य बिमित थपिएका हुन् । जिल्लाका छ वटै पालिकाबाट बीमा गर्नेको संख्या थपिएको स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय रुकुमपश्चिमका प्रमुख कमल डाँगीले जानकारी दिए । उनका अनुसार योसँगै जिल्लामा कुल बिमित संख्या ९१ हजार २२० पुगेको छ ।
जिल्लामा सबैभन्दा बढी बीमा गर्नेमा चौरजहारी नगरपालिकामा छन् । चौरजहारीमा स्वास्थ्य बिमितको संख्या ३२ हजार ४०४ रहेको छ ।
चौरजहारीमा अन्य स्थानीय तहहरूको तुलनामा बिमित संख्या दोब्बर बढी रहेको प्रमुख डाँगीले बताए । उनका अनुसार आठबिसकोट नगरपालिकामा बिमित संख्या १६ हजार ८८ र मुसिकोट नगरपालिकामा १५ हजार ९४३ रहेको छ ।
सानीभेरी गाउँपालिकामा १५ हजार २८६ जना बिमित रहँदा बाँफिकोट गाउँपालिकामा ५ हजार ९०७ र त्रिवेणी गाउँपालिकामा ५ हजार ६०१ जना बिमित रहेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
जिल्लामा छ वटा स्वास्थ्य बिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरू रहेका छन् ।