२०८२ साउन २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीले विपन्नलाई अस्पताल जाने-आउने यातायात खर्च उपलब्ध गराउने

कर्णालीले विपन्नलाई अस्पताल जाने-आउने यातायात खर्च उपलब्ध गराउने

संघीय सरकारले उपचार सहायता उपलब्ध गराइरहेका दीर्घ रोगका बिरामीलाई कर्णालीले थप एक लाख रुपैयाँ सहायता दिने


वीरेन्द्रनगर—कर्णाली प्रदेश सरकारले विपन्न र असहाय नागरिकका लागि यातायात बापतको भाडा उपलब्ध गराउने भएको छ । कर्णालीको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ का लागि यो शीर्षकमा २५ लाख रुपैंयाँ बजेटको व्यवस्थापनसमेत गरेको छ ।

भूगोलअनुसार पाँच हजारदेखि बीस हजार रुपैयाँसम्म उपचार खर्च वा भाडा उपलब्ध गराइने भएको हो । बेवारिसे, असहाय, विपन्न, यातायात खर्चको अभावमा अस्पताल पुग्न वा अस्पतालबाट घर जान नसकेका बिरामीहरुलाई उपचार तथा यातायात खर्च सहयोगका लागि यो कार्यक्रम राखिएको मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।

‘बेवारिसे, असहाय, विपन्न, यातायात खर्चको अभावमा अस्पताल पुग्न वा अस्पतालबाट घर जान नसकेका बिरामीहरुलाई स्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि गर्नु प्रमूख् उद्देश्य हो,’ मन्त्री भण्डारीले भने, ‘कर्णालीका अधिकांश नागरिकले आर्थिक अभाव भएकै कारण उपचार गर्न नपाएको जनगुनासो आइरहेको समयमा हामीले यो कार्यक्रम ल्याएका हौं ।’

उनकाअनुसार यो सुविधा लिनका लागि वडाको सिफारिस वा उपचार गरिएको अस्पतालले बेवारिसे, असहाय, विपन्न, यातायात खर्चको अभावमा अस्पताल पुग्न वा अस्पतालबाट घर जान नसक्ने बिरामी सिफारिस भई मन्त्रालयमा निवेदन गरे बमोजिम पाँच हजारदेखि २० हजार रुपैयाँसम्म भौगोलिक दूरीका आधारमा यातायात खर्च मन्त्रालयले उपलब्ध गराउने भएको छ ।

यस्तै, उपचारका क्रममा मृत्यु भएर आर्थिक अभावमा धार्मिक संस्कार गर्न नसक्ने नागरिकका लागि शव वाहन वापतको रकम पनि भुक्तानी दिने व्यवस्था गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।

भुक्तानीका लागि मन्त्रालयका सचिवको नेतृत्वमा एक समिति गठन गरिएको छ । उक्त समितिका सदस्यमा स्वास्थ्य महाशाखा प्रमुख, आर्थिक प्रशासन शाखा प्रमुख र चिकित्सा शाखा प्रमुख रहेका छन् ।

सेवाग्राहीले यो सुविधा लिनका लागि निवेदन दिनुपर्नेछ । ‘निवेदन वडा वा अस्पतालको बिरामी पुर्जा, बिरामी वा बिरामीका नजिकका आफन्तको बैक खाता विवरण दिनुपर्नेछ,’ मन्त्री भण्डारीले भने, ‘मृतकको हकमा मृत्यु दर्ता प्रमाणपत्र र हकवालाको बैंक खाता विवरण उपलब्ध गराउनु पर्नेछ ।’

उनका अनुसार संघीय सरकारले यसअघि दिदैं आएको दीर्घ रोगका बिरामीहरुलाई उपचार खर्च वापतको रकममा थप एक लाख रूपैयाँ बराबरको उपचार खर्च प्रदेश सरकारले दिने बताए । यस्तै, प्रदेश अस्पतालमा मिर्गौलाको डायलाइसिस गराउनेको हकमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको मन्त्री भण्डारीको भनाइ थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ