२०८२ भदौ ३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलनिःसन्तानपनको उपचारमा रमाइरहेकी डा. निकिता

निःसन्तानपनको उपचारमा रमाइरहेकी डा. निकिता


स्त्री तथा प्रसूति रोग एवं प्रजनन विशेषज्ञ डा. निकिता ढकाल सहुलियत दरमा आईभीएफ सेवा प्रदान गर्ने योजनामा काम गरिरहेकी छन् । तीन वर्षअघि सिनामंगलमा उनले सञ्चालनमा ल्याएको स्लाभिका आईभीएफ सेन्टर चलाइरहेकी छिन् । जसमातर्फत कम आय भएका र पहुँच नभएकाहरुलाई सहुलियत दरमा निःसन्तापनको उपचार सेवा उपलब्ध गराउने प्रयास गरिरहेकी छन् ।

सहज र सुलभ रुपमा सेवा दिने योजनाका साथ काम गरिरहेकी उनी क्लिनिकलाई अत्याधुनिकरण गर्ने योजनामा समेत छिन् । पिजीटी प्रयोगशाला सेटअप गर्ने योजनाका काम गरिरहेकी छन् उनी समायानुकूल अन्य प्रविधीहरु पनि ल्याउने योजनामा छिन् । ‘इख’ले स्त्री तथा प्रसूति रोग विशेषज्ञ बनेकी उनी थुप्रै महिलाहरुमा हुने निःसन्तानपनको समस्या देखेर यो क्षेत्रमा आएकी हुन् ।

डा. निकिताको जन्म सन् १९८२ मा विराटनगरमा भएको हो । बुवा स्व. डा. गुरुप्रसाद ढकाल र आमा सुनिता ढकालका दुई सन्तानमध्ये उनी कान्छी हुन् । उनका बुवा कहलिएका ग्यास्ट्रोइन्टेरोलोजिष्ट थिए, जसले वीरगन्ज, राजविराज, वीर अस्पताल र ओम अस्पतालमा लामो समय बिरामी सेवामा बिताए ।

डा. निकिताको पुख्र्यौली घर झापा हो । तर, उनको जन्म भने मामाघर रहेको विराटनगरमा भएको थियो । सानो छँदा उनका बुवा वीरगन्जमा सेवारत थिए । त्यही कारण डा. निकिताको प्रारम्भिक बाल्यकाल वीरगन्जमा बित्यो । उनले सुरुवाती समयमा वीरगन्जको गौतम स्कुलमा पढिन् । त्यसपछि डाक्टर पिताले छोरीलाई बेष्ट एजुकेशन दिने उद्देश्यका साथ दार्जिलिङको कर्स्याङमा बोर्डस गरिदिए ।

कर्स्याङको सेन्ट एलेन्स स्कुलमा उनको शिक्षादीक्षा अगाडि बढ्यो । सधैं ओभरकोट लगाउनुपर्ने कस्र्याङको चिसो वातावरणले उनलाई लोभ्याएको थियो । ‘नोभेम्बरको अन्तिमदेखि त्यहाँ वीन्टर भ्याकेसन सुरु भइहाल्थ्यो,’ उनी कर्स्याङको बसाइँ सम्झिन्छिन्, ‘तीन महिनासम्म चिसो हुन्थ्यो ।’ स्कुलमा एकदमै कडा अनुशासन थियो, त्यही कारण विद्यार्थीहरुमा भय अधिक रहन्थ्यो ।

स्कुलका पूराना काठका भवनहरुले अर्कै वातावरणको झल्को दिन्थ्यो । डा. निकिता कक्षा पाँचमा पढ्दा नै उनको स्कुलले १०० औं वार्षिकोत्सव मनाएको थियो । यसबाट पनि अंग्रेजहरुले खोलेको स्कुल कति पुरानो थियो भन्ने स्पष्ट हुन्छ । स्कुलमा डा. निकिताका नातेदार पर्नेहरु पनि धेरै थिए, कोइराला, रिजाल र ढकालहरु । स्कुल जीवनमा उनलाई अंग्रेजी सबैभन्दा बढी मन पथ्र्यो । पढाइबाहेक कथा, वादविवाद, नाटक, दौडलगायतका खेलकूदमा उनको विशेष रुचि थियो ।

सन् १९९७ मा उनले कक्षा १० उत्तीर्ण गरिन् । त्यसपछि सन् १९९८ मा उनी देहरादूनस्थित क्याब्रियन हलमा उच्च शिक्षा पढ्नका लागि गइन् । क्याब्रियन हलबाट उनले विज्ञानमा प्लस टु उत्तीर्ण गरेर नेपाल फर्किइन् । नेपाल फर्केपछि उनले सन् २००१ मा एमबीबीएसका लागि इन्ट्रान्स दिइन् । ‘म बुवाको चाहनाका कारण एमबीबीएस पढेकी हुँ,’ डा. निकिता भन्छिन् । उनकी दिदीले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी थिइन् । बुवाको इच्छा ‘एक जना छोरी त डाक्टर बनिदिए हुन्थ्यो’ भन्ने थियो । त्यही कारण डा. निकिताले एक पटक बुवाको इच्छाका लागि ट्राइ गर्छु भनेर लागिन् ।

पहिलो प्रयासमै इन्ट्रान्समा नाम निस्किएपछि उनी एमबीबीएस पढ्नका लागि नेपाल मेडिकल कलेज गइन् । सन् २००१ मा एमबीबीएस ज्वाइन गरेकी उनी नेपाल मेडिकल कलेजको एमबीबीएसको पाँचौ ब्याचकी विद्यार्थी हुन् । सुरुका दुई वर्ष एमबीबीएसको पढाइका क्रममा उनले थुप्रै साथीहरु बनाइन् । ‘जब हामी माइनर र मेजर क्लिनिकलमा गएपछि बल्ल रुचिकर हुने रहेछ,’ उनले भनिन्, ‘नत्र पहिलो दुई वर्ष त बेसिक साइन्सको घोकन्ते कुराहरु मात्रै हुने रहेछ ।’ उनलाई एमबीबीएसमा प्याथोलोजी र बायोकेमेष्ट्री सबैभन्दा गाह्रो लाग्ने विषयहरु थिए ।

अब्स/गाइनोकोलोजीका उनका म्यामहरु एकदमै कडा थिए । ‘यसले त के पढ्छ होला भनेर मलाई भनिरहनुहुन्थ्यो,’ उनी सुनाउँछिन्, ‘त्यसपछि म इखले गाइनोकोलोजी मै राम्रो गर्छु भनेर लागे ।’ जसका कारण उनले एमबीबीएसमा सबैभन्दा राम्रो रिजल्ट पनि गाइनेमै ल्याइन् । एमबीबीएसको पढाइ र इन्टर्नसमेत सक्दा सन् २००६—२००७ भइसकेको थियो । एमबीबीएसको अध्ययन सकेपछि डा. निकिताले नेपाल मेडिकल कलेजको गाइनो विभागमै एक वर्ष मेडिकल अधिकृत रुपमा काम गरिन् । त्यो अवधिमा उनको गुरुहरुसँग पनि एकदम राम्रो सम्बन्ध बन्यो ।

त्यसपछि उनले झण्डै ७—८ महिना ओम अस्पतालका काम गरिन् । ओम अस्पतालमा काम गर्दागर्दै डा. निकिताले पोष्ट ग्राजुयसनका लागि नाम निकालिन् । नेपाल मेडिकल कलेजमै उनले अब्स/गाइनोमा एमडीको पढाइ अगाडि बढाइन् । म्यामहरुले भन्थे, ‘यसले के पढ्ला’ त्यही कुराको इख भएर आफूले गाइनो पढेको उनी बताउँछिन् । एमडी गर्दागर्दै उनले देहरादूनमा कलेज पढ्दा भेटिएका उत्तराखण्डका युवक सिद्धार्थ रावतसँग अकुंराएको प्रेमलाई विवाहमा परिणत गरिन् ।

सन् २०१३ मा उनले नेपाल मेडिकल कलेजबाट अब्स/गाइनोकोलोजीमा विशेषज्ञता हासिल गरिन् । विशेषज्ञ चिकित्सक बनेपछि उनी ओम अस्पतालमा काम गर्न थालिन् । ओम उनका पिता, डा. भोला रिजाललगायतका चिकित्सकहरु मिलेर स्थापना गरेकाले पनि डा. निकिता ओममै गइन् । ओममा दुई तीन वर्ष डा. रिजालसँग काम गरेपछि उनले केही समय कामबाट ब्रेक लिइन् । ‘एक वर्ष ब्रेक लिएर म भारत गए,’ उनले भनिन्, ‘भारत गएर फर्किदा मेरो बुवा बिरामी हुनुहुन्थ्यो ।’ बुवालाई क्यान्सर भएको थियो । उनको उपचार ओममा चलिरहेका बेला डा. निकिताले पुनः ओममै काम सुरु गरिन् । केही सन्चो भएपनि पछि उनका बुवाको निधन भयो ।

उमेर पनि भइसकेकाले उनले फ्यामिली प्यानिङको योजना बनाइन् । ‘१५ महिनाजति ब्रेक नै लिएँ,’ डा. निकिता भन्छिन् । केही समय बच्चालाई दिइन् । स्त्री तथा प्रसूति रोगमा काम गर्दा निःसन्तान दम्पत्ति पीडा देखेकी उनले निःसन्तान उपचार काम गर्न फेलोसीप गर्ने योजना बनाइन् । सन् २०१९ मा नयाँदिल्लीको इन्टरनेशनल फर्टिलिटी सेन्टरमा उनले एक वर्षे फेलोसीप ज्वाइन् गरिन् । ‘त्यहाँ एक्स्पोजर पनि राम्रो भयो,’ डा. निकिताले फेलोसीप अनुभव साटिन्, ‘सबै काम आफैले गर्नुपर्ने भएकाले मैले राम्रो सिक्ने अवसर पाएँ ।’

सन् २०२० मा नेपाल फर्केर उनले थोरै समय अल्का अस्पतालमा काम गरिन् । त्यहाँ उनले डा. नूतन शर्मासँग ल्याप्रोस्कोपीलगायतमा काम गरिन् । त्यसपछि उनले नेपाल नेशनल अस्पतालमा नेशनल अस्पताल आईभीएफ सेन्टर सञ्चालनमा ल्याइन् । त्यहीबीच उनी गर्भवती भएपछि उनी विराटनगर गइन् । विराटनगरमा सुरक्षा अस्पतालमा काम गरिन् । डा. रम्भा देवको अस्पतालमा निःसन्तान उपचार सेवा पनि सुरु गरिन् । केही समय विराटनगरमा बिताएपछि उनी काठमाडौं फर्किइन् ।

काठमाडौंमा फर्केपछि उनको भेट डा. अजय कुँवर र डा. निलम ठाकुरसँग भयो । डा. अजयले डा. निकितालाई मिलेर आईभीएफ सेन्टर खोलौ भनेर आग्रह गरे । डा. निकिताले पनि टार्न सकिनन् । त्यही कारण सन् २०२३ मा सिनामंगलमा जन्मियो— स्लाभिका आईभीएफ । जेनेटिक्ससँग मिलेर खोल्दा राम्रो हुने भएकाले पनि आफूहरुले स्लाभिका आईभीएफ सेन्टर सञ्चालनमा ल्याएको उनको भनाइ छ । साल्भिकाले आईभीएफ गर्दा जेनेटिक्सहरु टेष्ट गरेर राम्रो भ्रुणमात्रै राख्ने गरेको डा. निकिताको बताउँछिन् ।

‘त्यतिकै एम्ब्रीओहरु राख्दा कहिलेकाही दुई तीन महिनापछि समस्या देखिन सक्छ र फाल्नुपर्ने हुन सक्छ,’ उनी भन्छिन्, ‘तर, पारिवारिक रुपमा वंशाणुगत समस्या भएकाहरुमा हामी परीक्षण गरेर मात्रै भ्रुण राख्छौं ।’ तीन वर्षयता डा. निकिताको सबैजसो समय साल्भिकामै बितिइरहेको छ ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ