२०८३ जेठ २२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित

६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित


काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ६ वटा काउन्सिलसहित ९ स्वास्थ्यका निकायहरुको पदाधिकारीका नियुक्ति प्रक्रिया अचानक स्थगित गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले विभिन्न ६ काउन्सिल, दुई अस्पताल र स्वास्थ्य बीमा बोर्डसहित ९ स्वास्थ्य संस्थाका पदाधिकारीका नियुक्तिको प्रक्रिया स्थगन गरेको हो ।

‘विभिन्न परिषद्हरु, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गंगालाल राष्टिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका पदाधिकारी र सदस्यका लागि आवेदन माग गरिएको सूचना विशेष कारणबश अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयले भनेको छ । उसले अर्को सूचना केही दिनमै प्रकाशित गर्ने समेत जनाएको छ ।

यसअघि २० जेठमा मन्त्रालयले ६ वटा काउन्सिलहरु नेपाल मेडिकल काउन्सिल, नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल फार्मेसी परिषद्को अध्यक्ष, सदस्य र रजिष्ट्रारका लागि र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, सदस्य र सदस्य सचिव, नेपाल नर्सिङ परिषद्को अध्यक्ष, उपाध्यक्ष, सदस्य र रजिष्ट्रार तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष र रजिष्ट्रारका लागि आवेदन माग गरेको थियो ।

यसैगरी, स्वास्थ्य बीमा बोर्डको अध्यक्ष, सदस्य र कार्यकारी निर्देशकका लागि आवेदन माग गरिएको थियो भने देशको प्रमुख मुटु रोगको उपचार गर्ने अस्पताल शहीद गंगालाल राष्टिय हदय केन्द्रको कार्यकारी निर्देशक र सदस्य पदका लागि आवेदन माग गरेको थियो । यस्तै, भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सदस्य पदका लागि आवेदन माग गरिएको थियो ।

सूचना निकालेको २ दिन बितिसक्दा पनि मन्त्रालयले आवेदन दिन प्रक्रिया, मापदण्डलगायत आवश्यक कुराहरुको तयारी गर्न सकेको थियो । जसका कारण आवेदकहरु रनभुल्लमा परेका थिए । तयारीबिनै सूचना निकालेको स्वास्थ्य मन्त्रालयले सोही तयारी पूरा गर्नका लागि स्थगनको सूचना निकालेको मन्त्रालय स्रोतको दावी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ