२०८२ भदौ ५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीद्वारा ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम शुभारम्भ

स्वास्थ्यमन्त्रीद्वारा ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम शुभारम्भ

बालबालिकाको प्रतिरक्षा क्षमता बढाउन ‘स्वर्णप्राशन’: मन्त्री पौडेल


धनगढी—स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन्। बिहीबार सुदूरपश्चिम प्रदेशको धनगढीबाट अभियानको शुभारम्भ गर्दै मन्त्री पौडेलले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै उनीहरूको बौद्धिक र शारीरिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो राष्ट्रिय अभियान सुरु गरिएको बताए।

प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा आयोजित विशेष समारोहमा मन्त्री पौडेलले बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाएर कार्यक्रमको शुभारम्भ गरिएको थियो। कार्यक्रमलाई नेपालको प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिको पुनर्जागरण गर्दै यसलाई विज्ञानिक रुपमा विकास गरी आधुनिक जनस्वास्थ्य प्रणालीसँग जोड्न सकिने मन्त्री पौडेलले जिकिर गरे।

‘स्वर्ण बिन्दु प्राशन’ हाम्रो हजारौं वर्ष पुरानो आयुर्वेद विज्ञानमा रहेको ज्ञान हो। यसलाई आधुनिक विज्ञान र जनस्वास्थ्यसँग जोड्न सक्यौँ भने स्वस्थ र मेधावी पुस्ता निर्माण गर्ने हाम्रो अभियानमा यसले सहयोग पुर्‍याउने छ,’ उनले भने, ‘अर्कोतर्फ, रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने स्वास्थ्य प्रणाली विकास गर्नु सरकारको आजको प्राथमिकता हो। त्यसैले हाम्रा बालबालिकालाई शारीरिक र बौद्धिक रूपमा अब्बल बनाउन स्वास्थ्य मन्त्रालयले निरन्तर कार्य गर्नेछ।’

‘आगामी पुस्ता, निरोगी पुस्ता’ तयार पार्ने लक्ष्यअनुरुप प्रवर्द्धनात्मक र निरोधात्मक स्वास्थ्य प्रणालीको विकासका लागि आयुर्वेद क्षेत्रसँग जोडिएका यस्ता कार्यक्रमलाई देशैभरका प्रभावकारी रूपमा सञ्चालन गरिने मन्त्री पौडेलले जानकारी दिए ।

यसअघि पनि मन्त्री प्रदीप पौडेलले आयुर्वेद क्षेत्रको विकास, आधुनिकीकरण र राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकरणका लागि महत्वपूर्ण कदमहरू अघि बढाउँदैं आएका छन्।

के हो स्वर्ण बिन्दु प्राशन ?

आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार ‘स्वर्ण बिन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि हो। यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार हुन्छन्। यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ।

त्यसैगरी, मस्तिष्कको क्षमता बढाउने जडिबुटीयुक्त ब्राह्मी घृतले स्नायु कोषहरूको रक्षा गर्ने र स्मरण शक्ति बढाउन भूमिका खेल्छ। शुद्ध मह आफैंमा एक प्राकृतिक जीवाणुरोधी तत्व हो जसले संक्रमणबाट बचाउँछ। यी तत्वहरूको सही संयोजनले बालबालिकाको समग्र विकासमा प्रभाव पार्दछ। ‘यो कुनै अन्धविश्वासमा आधारित परम्परा होइन, यो हजारौं वर्षको अनुभव र अनुसन्धानमा आधारित विज्ञान हो। स्वर्ण भष्मको ‘इम्युनोमोडुलेटर’ गुण, ब्राह्मीको ‘न्युरो-प्रोटेक्टिभ’ क्षमता र महको प्राकृतिक ‘एन्टी-माइक्रोबियल’ गुणबारे आधुनिक अनुसन्धानले पनि पुष्टि गर्दै लगेका छन्। विभागले यसको सुरक्षित र सही कार्यान्वयनका लागि देशभरका आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई तालिम दिई एकरूपता कायम गर्नेछ,’ उनले भने

यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्राल, आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखा प्रमुख डा. पुष्पराज पौडेलले ‘स्वर्ण बिन्दु प्राशन’ को वैज्ञानिक पक्षहरु रहेको बताउँछन्। ‘आधुनिक वैज्ञानिक दृष्टिकोणबाट हेर्दा ‘स्वर्ण बिन्दु प्राशन’ एक अत्यन्तै परिष्कृत ‘नानो-मेडिसिन’ र ‘न्युरो-इम्युनोमोडुलेटर’ फर्मुलेसन हो। यसमा प्रयोग हुने ‘स्वर्ण भस्म’ सामान्य सुन होइनस यो विशेष प्रशोधन विधिबाट तयार पारिएको सुनको नानो कण हो जसले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई सन्तुलित गर्ने क्षमता राख्दछ,’ उनले भने, ‘ब्राह्मी र शंखपुष्पी जस्ता ‘मेध्य रसायन’ जडीबुटीहरूमा पाइने ‘नूट्रोपिक्स, एड्याप्टोजेन्स ’ जस्ता सक्रिय तत्त्वहरूले स्नायु कोषहरूको रक्षा गर्ने र मस्तिष्कको सिक्ने क्षमतालाई बढावा दिन्छ। तसर्थ, यो केवल परम्परा मात्र होइनस यो बालबालिकाको प्रतिरक्षा प्रणाली र स्नायु प्रणालीलाई सबल बनाउने एक वैज्ञानिक रूपले अर्थपूर्ण सिनर्जिस्टिक संयोजन हो।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ