काठमाडौं—संयुक्त एम्बुलेन्स चालक संघले राष्ट्रिय एम्बुलेन्स निर्देशिका चालकहरुको हकहित विपरित रहेको भन्दै विरोध जनाएको छ । संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाउँदैं जोखिममा रहेर काम गरिरहेका सवारी चालकलाई मारमा पर्ने गरी निर्देशिका आएको र सोका प्रावाधानहरु तत्काल सच्याउन माग गरेको छ ।
संघका अध्यक्ष नवराज लामिछानेको हस्ताक्षरमा बुझाइएको ज्ञापनपत्रमा ११ बुँदामा माग राखिएको छ । एम्बुलेन्स चालकहरुले स्वास्थ्य सेवा ऐन परिमार्जनदेखि प्रत्येक वर्ष राज्यले कम्तिमा ५ जना एम्बुलेन्स चालकलाई सम्मान गर्नुपर्नेसम्मका माग राखेका छन् ।
उनीहरुले अस्पतालले मात्र एम्बुलेन्स सेवा दर्ता गर्न पाउने नियम खारेजी हुनुपर्ने, एम्बुलेन्स चालकलाई तालिम दिनुपर्ने, भइरहेका सबै वर्गका एम्बुलेन्सलाई नवीकरण गर्नुपर्ने र नयाँ नियम, नयाँ दर्तामा मात्र लागु हुनुपर्ने, सबै अस्पतालमा एम्बुलेन्सलाई पार्किङको व्यवस्था हुनुपर्ने, एम्बुलेन्स चालकको छुट्टै ड्रेस, परिचयपत्र र जोखिम भत्ता हुनुपर्ने, एम्बुलेन्समा राखिनुपर्ने न्युनतम औषधि निःशुल्क उपलब्ध हुनुपर्नेलगायतका माग रहेका छन् ।
संघका मागहरु
१. स्वास्थ्य ऐन, २०७५ संशोधन गरियोस् ।
२. अस्पतालहरुले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने निर्णय खारेज गरियोस् ।
३. हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई नविकरण गर्न दिईयो । नयाँ दर्ता गर्दा मात्रै यस्तो नियम लागू गरियोस् ।
४ एम्बुलेन्स चालकलाई स्वास्थ्य तालिमको व्यवस्था गरियोस् ।
५. कुनै पनि अस्पतालमा स्वतन्त्र तरिकाले पार्किङ गर्न पाउने व्यवस्था गरियोस् ।
६. राज्यकोतर्फबाट चालकलाई स्वास्थ्य सामग्री, न्यूनतम एम्बुलेन्समा राख्नु पर्ने औषधीहरू स्वास्थ्य कार्यालयबाट निःशुल्क व्यवस्था गरियोस् । साथै प्राणघातक रोगबाट बच्नकोलागि सुरक्षाका सामग्री उपलब्ध गराईयोस् ।
७एम्बुलेन्स चालकको पहिचान खुल्ने गरी छुट्टै चालक ड्रेस, परिचयपत्र र जोखिम भत्ताको व्यवस्था गरियोस् ।
८ एम्बुलेन्स चालकलाई राष्ट्रिय सेवक घोषणा गरियोस् । चालकको बालबच्चालाई अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गरियोस् ।
९. एम्बुलेन्स चालकलाई स्वास्थ्य बिमाको व्यवस्था गरियोस् ।
१०. एम्बुलेन्ससँग सम्बन्धित राज्यको तर्फबाट हुने निर्णयहरुमा संघको सहभागिता सुनिश्चित गरियोस् ।
११. देशभरका एम्बुलेन्स चालकहरुमध्येबाट प्रत्येक वर्ष कम्तीमा पाँच जनालाई राष्ट्रिय सम्मान प्रदान गरियोस् ।