काठमाडौं—राष्ट्रिय ट्रमा सेन्टरमा जेन जी प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा भएको झडपका क्रममा घाइते भएका ६ जना प्रदर्शनकारीको मृत्यु भएको छ । सोमबार दिउँसो झडप भएपछि घाइते भएर ट्रमामा उपचारका लागि लगिएका ६ जना प्रदर्शनकारीको मृत्यु भएको हो ।
मृतकहरुको छातीमा, तिघ्रामा र टाउकोमा गोली लागेको ट्रमा स्रोतले जनाएको छ । ४० जनाको उपचार भइरहेको ट्रमामा १५ जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।
निजामती कर्मचारी अस्पतालमा दुई जना प्रदर्शनकारीको मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए । अस्पतालमा १०० जनाको उपचार भइरहेको छ भने गम्भीर अवस्थामा १४ जनाको बिरामीलाई रेफर गरिएको उनले बताए ।
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी)मा एक जनाको मृत्यु भएको छ । त्यहाँ अन्य २० जना उपचार भइरहेको अस्पतालले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइतेको उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसियारले जानकारी दिए ।