काठमाडौं—एक वर्षमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित ६०३ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको पाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरिएको अख्तियारको ३५ औं प्रतिवेदनमा आर्थिक वर्ष २०८१/०८२ मा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित ६०३ उजुरी दर्ता भएको उल्लेख छ ।
अख्तियारमा बढी उजुरी परेका मन्त्रालयको सूचीमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका टप फाइभमा परेको छ । स्वास्थ्यले उजुरी संख्यामा अर्थ मन्त्रालय उछिन्दैं ४ औं नम्बरमा परेको छ । अर्थ ५७९ उजुरीसहित बढी उजुरी परेका मन्त्रालयको सूचीमा पाँचौ नम्बरमा छ ।
अख्तियारमा बढी उजुरी परेका संघीय मन्त्रालयको सूचीमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पहिलो स्थानमा छ । उक्त मन्त्रालय सम्बन्धित १५७१ उजुरी गत वर्ष अख्तियारमा दर्ता भएका थिए ।
यसैगरी, बढी उजुरी पर्ने संघीय मन्त्रालयको सूचीको दोस्रो नम्बरमा गृह मन्त्रालय छ । गृह मन्त्रालय सम्बन्धित १२०३ उजुरी गत आर्थिक वर्षमा अख्तियारमा परेका थिए । तेस्रो स्थानमा रहेको शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय सम्बन्धित १०६१ उजुरी गत वर्ष अख्तियारमा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०८०÷८१ बाट स्वास्थ्य मन्त्रालय सम्बन्धित १४४ उजुरीको जिम्मेवारी सरेको अख्तियारले जनाएको छ । यससँगै हाल अख्तियारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित ७४७ उजुरी छन् ।
