२०८२ असोज २५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया

रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया


विराटनगर—विराटनगर–१५ रानी आँखा अस्पतालमा पहिलो पटक चार महिनाकी नवजात शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ । बुधबार भारतको पश्चिम बंगाल घर भएका दिनेश सरकारकी कान्छी छोरीको सफल शल्यक्रिया सम्पन्न भएको हो ।

अस्पतालका वरिष्ठ नेत्र रोग तथा कोर्निया विशेषज्ञ डा. अभिषेक सुवालको नेतृत्वमा रहेको चिकित्सक टोलीले आधुनिक फेको प्रविधि प्रयोग गरी शिशुको दुवै आँखामा शल्यक्रिया सम्पन्न गरेको हो । डा. सुवालका अनुसार नवजात शिशुको आँखामा जन्मजात क्याटयाक रहेको थियो, जसका कारण आँखाको दृष्टि विकासमा समस्या देखिएको थियो ।

दिनेश सरकारकी छोरी जन्मिएर करिब १५ दिन अगाडि उनका आमाबुबाले आँखाको सेतो भाग देखेपछि नजिकको अस्पतालमा लगेका थिए । त्यहाँ मोतियाबिन्दु भएको पत्ता लागेपछि उनीहरू विराटनगरस्थित रानी आँखा अस्पताल आएका थिए । चिकित्सकको परामर्शअनुसार बुधबार शल्यक्रिया गरिएको र बिहीबार शिशुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

डा. सुवालले भने, ‘चार महिनाको शिशुमा मोतियाबिन्दुको समस्या निकै दुर्लभ हुन्छ । समयमै उपचार नगरेमा दृष्टि नसामा क्षति पुग्ने, आँखा काम नगर्ने र स्थायी दृष्टिविहीनता आउने सम्भावना रहन्छ । त्यसैले हामीले तुरुन्तै शल्यक्रिया गर्ने निर्णय गरेका थियौं । अहिले शिशुको अवस्था सामान्य छ र दृष्टि विकासक्रम राम्रो भइरहेको छ ।’

शल्यक्रियापछि बालिकाको स्वास्थ्य सुधार राम्रो भएको र दुवै आँखाले प्रतिक्रिया दिन थालेको चिकित्सक टोलीले जनाएको छ । सफल उपचारपछि पिता दिनेश सरकार खुसी भएका छन् । उनले भने, ‘हाम्रो परिवारको सबैभन्दा सानो सदस्यको आँखाको समस्या देख्दा धेरै डर लागेको थियो । तर, डा. सुवाल र उनको टिमले जुन प्रकारले उपचार गरे, त्यसका लागि हामी अत्यन्त आभारी छौं । रानी आँखा अस्पतालले हाम्रो छोरीलाई नयाँ दृष्टि दिएको छ ।’

रानी आँखा अस्पतालको यो सफलताको उदाहरणले नवजात तथा बालबालिकामा देखिने आँखाका गम्भीर समस्या पनि नेपालमै उपचार सम्भव रहेको सन्देश दिएको छ । अस्पतालले २०८१ सालमा स्थापना भएदेखि नै आधुनिक प्रविधिद्वारा गुणस्तरीय नेत्र उपचार सेवा प्रदान गर्दै आएको छ । हाल वार्षिक करिब ६ हजारभन्दा बढी शल्यक्रिया यहाँ गरिन्छ भने दैनिक २ सयभन्दा बढी बिरामी ओपीडी सेवामा आउँछन् ।

बिरामीका बुवाआमा छोरीका साथ

अस्पतालमा नेपालका साथै भारतका विभिन्न राज्यबाट पनि बिरामी आउने गरेका छन् । अत्याधुनिक उपकरण र अनुभवी चिकित्सक टोलीका कारण रानी आँखा अस्पताल कोशी प्रदेशमा विश्वासिलो नेत्र उपचार केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।

यो पहिलो पटक नवजात शिशुमा गरिएको मोतियाबिन्दु शल्यक्रियाले अस्पतालको प्राविधिक क्षमता र सेवाको विश्वसनीयता अझ बढाएको छ । सफल उपचारले अस्पताललाई मात्र होइन, सम्पूर्ण कोशी प्रदेश स्वास्थ्य क्षेत्रमा नयाँ आशा र सम्भावनाको सन्देश दिएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ