२०८२ असोज २७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ?

डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ?


काठमाडौं—नेपाल सरकारले महिलाको स्तन क्यान्सरको पहिचानका लागि वर्षेनी ठूलो रकम विनियोजन गर्दै आएको छ । सोहीअन्तर्गत सरकारले २०८०/०८१ मा स्तन क्यान्सर पत्ता लगाउने अत्याधुनिक पाँच वटा थ्रिडी मेमोग्राफी मेसिन खरिद गरेको थियो ।

नेपाल सरकारको प्रति गोटा दुई कराेड ५१ लाख रुपैयाँका दरले पाँच वटा मेसिन १२ करोड ५५ लाख रुपैयाँमा खरिद गरिएका ती मेसिन पछिल्लो समय चर्चामा छन् । उक्त मेसिन स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता मिश्राको पालामा खरिद भएका थिए । सोही मेसिन खरिद विवाद बेला—बेलामा चर्चामा आउने. गरेको छ ।

केही समयअघि डा. मिश्रालाई अन्तरिम सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउन प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति समक्ष नाम सिफारिस गरेकी थिइन् । तर, सोही मेमोग्राफी मेसिन खरिदबारे अख्तियारमा परेको उजुरी संचारमाध्यमका समाचारहरु व्यापक आएपछि अन्तिम समयमा उनको नाम मन्त्रीको सूचीबाट काटिएको थियो ।

मन्त्री पद नै रोकिने अवस्था सिर्जना गर्ने गरी खरिद भएका मेमोग्राफी कहाँ छ र कुन अवस्थामा छन् भनेर हेल्थआवाजले खोजी गर्दा विभागले २०८१ असार अन्तिम साता पाँच वटा अस्पतालसँग सम्झौता गरी पठाएको पाइएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवण थापाले चार वटा केन्द्रीय अस्पताल र एक प्रदेश अस्पतालमा सम्झौता गरी दिइएको बताए ।

‘हामीले मेमो आउन साथ सिभिल अस्पताल, विपी क्यान्सर अस्पताल भरतपुर, नारायणी अस्पताल वीरगञ्ज, लुम्बिनी प्रादेशिक अस्पताल बुटबल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई उपलब्ध गराएका हौं,’ उनले भने, ‘२०८१ असारमा विभागले धेरै बिरामी आउने अस्पतालहरुलाई सम्झौता गरी दिइएको हो ।’

उक्त मेमोग्राफी मेसिन खरिदका क्रममा सामाग्री नलिई बक्समात्रै बुझेको र बढी मूल्यमा खरिद् गरेर भ्रष्टाचार गरेको भन्दैं अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि अख्तियारले छानविन गरिरहेको छ ।

कहाँ कुन अवस्थामा छन् ती मेमोग्राफी मेसिन ?

स्वास्थ्य सेवा विभागले एकैपटक खरिद गरेर वितरण गर्नु सरकारी अस्पतालमध्ये वीर अस्पतालसँग मात्र सो मेसिन रहेको थियो । विभागले खरिद गरेर अस्पतालहरुलाई पठाएपछि सबैभन्दा बढी भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा गत आर्थिक वर्षमा मात्र ९ सय ५१ जनाले मेमोग्राफी सेवा लिएको अस्पतालका निर्देशक डा. शिवजी पौडेलले जानकारी दिए । उनका अनुसार दैनिक ८ जनासम्मको मेमोग्राफी हुने गरेको छ ।

विभागले नै एक वर्षअघि उपलब्ध गराएको मेसिनबाट नै महिलाको क्यान्सर परीक्षण गरिरहेको सिभिल सर्भिस अस्पतालका निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मी बताउँछन् । ‘हाम्रोमा एक वर्षदेखि विभागले दिएको मेसिनबाट नै स्तन क्यान्सरको पहिचान भइरहेको छ,’ उनी भन्छन्, ‘दैनिक सरदर पाँच जनाको हुने गरेको छ ।’ यता नारायणी अस्पताल वीरगञ्जमा भने जनशक्तिको अभावको कारण हप्तामा एक दिन मात्र मेमोग्राफी सेवा प्रदान हुने गरेको छ । अस्पतालका निर्देशक डा. चुमनलाल दासका अनुसार हप्ताभर बिरामीहरुको नाम संकलन गर्ने र एक दिन सबैको परीक्षण गर्ने गरिएको छ । ‘हामीसँग रेडियोलोजीमा टेक्नीसियन कम हुनुहुन्छ,’ उनले भने, ‘त्यही भएर हप्ताभर बिरामीको नाम कलेक्सन गरेर एकैपटक गर्ने गरेका छौं । अब विकास समितिबाट भएपनि जनशक्ति थपेर दैनिक चलाउने प्रयास भइरहेको छ ।’

मेमोग्राफी सेवा दिने देशको एकमात्र प्रूादेशिक अस्पताल बुटबलमा पनि सो सेवा लामो समयदेखि संचालनमा रहेको अस्पतालका रेडियोलोजिष्ट डा. प्रशान्त आचार्य बताउँछन् । उनका अनुसार विदाको दिनबाहेक सम्पुर्ण दिन नै उक्त सेवा संचालनमा रहेको छ । हप्ता दिन नै सेवा दिँदा महिनामा दुई सयदेखि २५० जनाले सेवा लिने गरेको डा. आचार्य बताउँछन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेडियोलोजी टेक्नीकल इन्चार्ज मुकेशकुमार झाका अनुसार प्रतिष्ठानले दैनिक ८ देखि १० जनालाई सो सेवा दिइरहेको छ । ‘हामी दैनिक औसतमा ८ देखि १० जनालाई सेवा दिइरहेका छौं,’ उनले भने, ‘यो मेसिनमा काम गर्न चाँडो हुने भएको हुँदा भरिसके आएका बिरामीलाई त्यही दिन नै सेवा दिन्छौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ